
काठमाडौँ – सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँट सोमबार पनि टुंग्याउन सकेन।
प्रधानमन्त्री निवास बालुवाटारमा पाँच घण्टा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक यसअघि झैं आ–आफ्नै अडान व्यक्त गरेर सकिएको हो।
चुनावमा मिलेर जाने औपचारिक निर्णय गरे पनि सिट बाँडफाँट दलहरुका लागि पेचिलो बनेको छ।
सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले एउटै क्षेत्रमा दलहरुको दोहोरो/तेहेरो दाबी परेपछि निष्कर्षमा पुग्न नसकेको बताए। तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ।
कार्कीले भने, ‘बैठकको अवस्था सकारात्मक छ, द्विपक्षीय, त्रिपक्षीय र सामूहिक रुपले छलफल जारी छ। निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढिरहेको छ। अहिलेको आवश्यकता सबैले लचिलो हुनुको विकल्प छैन। तथापि पनि दलहरुको आफ्नो आफ्नो अडान छ। ती अडानमा हामीले अलिकति सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढेको अवस्था छ। एकै सिटमा दुई, तीन पक्षले दाबी गरेको अवस्था छ। त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनु पर्नेछ।’