
नेपालगञ्ज – भदौ २० गते बाँकेमा एकै दिन चार वटा पुलको शिलान्यास भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले दिनभरी दौडादौड गरेर पुलको शिलान्यास गरे।
बजेट सुनिश्चित नहुँदै पुल शिलान्यास भएका छन्। शिलान्यास भएका पुल कहिले बन्छन् टुंगो छैन। यद्यपि, मन्त्री राईले प्रक्रिया अघि बढेकाले बजेटमा कुनै समस्या नरहेको दाबी गरेका छन्।
क्षेत्र नं. २ अन्तर्गत पर्ने डुडुवा गाउँपालिकामा एकै दिन चार वटा पुल शिलान्यास गर्नुलाई मन्त्रीको ‘चुनावी राजनीति’को रुपमा हेरिएको छ। यो मन्त्री राईको निर्वाचन क्षेत्र हो।
यहाँका स्थानीय तहका प्रमुख नरेन्द्र चौधरीसँग मन्त्री राईको ‘सम्बन्ध राम्रो’ छैन। जनताको मन जित्न मन्त्री राईले पुल बनाइदिन खोजेका छन्।
टेपरीमा स्थानीय सरकार र संघीय सरकारको पुल बनाउने प्रतिस्पर्धा नै देखियो। गाउँपालिकाले १ सय २० मिटरको पुल बनाउन डीपीआर नै तयार पारेको छ। ठेक्का हुने प्रक्रियामा थियो। पालिकाले संघ र केन्द्रसँग सहायता मागिरहेको थियो। त्यही ठाउँमा मन्त्री राईले आफ्नै हिसाबले पुलको शिलान्यास गरेका छन्। यसले अझ मन्त्री राई र पालिका प्रमुख चौधरीको सम्बन्ध चिसिने अनुमान छ।
त्यो दिनमन्त्री राईले टेपरी–चौफेरी, नौरीगौडी–कैरातीपूर्वा, राजारामपूर्वा–हल्कारापूर्वा र अमराहवा–लडिहाघाट जोड्ने चार वटा पक्की पुल शिलान्यास गरेका थिए।
डुडुवा गाउँपालिकाका प्रमुख चौधरीले पटक–पटक मन्त्री हुँदा केही नगरेका राईले चुनावको मुखमा आएर हचुवाका भरमा पुलको शिलान्यास गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाए।
‘जनता सचेत भइसकेका छन्। हचुवाका भरमा गरिएका शिलान्यासबाट जनता प्रभावित हुँदैनन्,’ अध्यक्ष चौधरीले भने, ‘अहिलेसम्म कुनै विकास नगरेका राईले अब गर्छन् भनेर जनताले पत्याउँदैनन्।’
मन्त्री राईले राप्ती नदीको सिधनियाँ घाटमा पनि नयाँ पुलको शिलान्यास गरेका छन्। अहिलेको पुल साँघुरो भएको निष्कर्ष निकालेर त्यही ठाउँमा समानान्तर हुने गरी ७ सय मिटर लामो नयाँ पुल बनाउने भनिएको छ। साढे सात मिटर चौडा उक्त पुलको ठेक्का आह्वान गरिएको छ।
सिधनियाँ घाटको नयाँ पुल हुलाकी राजमार्गअन्तर्गत बन्ने बताइएको छ। हुलाकी राजमार्ग कार्यालय नेपालगञ्जका सूचना अधिकृत रामसागर हरिजनले सबै प्रक्रिया पूरा गर्न चार महिना लाग्ने भएकाले चुनावपछि मात्रै निर्माण सुरु हुने जानकारी दिए।
यसअघि भदौ ४ गते मन्त्री राईले नेपालगञ्जमा पाँच वटा आकाशे पुलको शिलान्यास गरेका थिए। आकाशे पुलका लागि बजेटमा शंका नगर्न भनिए पनि पुल कहिले बन्छन् भन्ने निश्चित छैन।
नेपालगञ्ज निवासी मन्त्री राई मात्रै होइन, अरु मन्त्री आएर पनि बाँकेमा हचुवाका भरमा शिलान्यास र उद्घाटन गरेका छन्। भदौ १२ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोहलपुरमा मालपोत र नापी कार्यालयको उद्घाटन गरिन्। त्यो अझै सञ्चालनमा आएको छैन। उद्घाटन त भयो, न बजेट छ न त कर्मचारी र पूर्वाधार नै। चुनावलक्षित उद्घाटन भन्दा फरक पर्दैन।
भदौ २३ गते जानकी गाउँपालिकामा शहरी विकास मन्त्री मेटमणि चौधरीले सिकलसेल रोगको अनुसन्धान तथा उपचार केन्द्रको शिलान्यास गरे। यसको पनि बजेटको सुनिश्चितता छैन।