
काठमाडौँ–राजनीतिक दलले निर्वाचन आयोगसँग चुनाव प्रचार प्रसारको अवधी बढाउन आग्रह गरेका छन्।
आयोगको निमन्त्रणामा आइतबार निर्वाचन आयोगमा पुगेका राजनीतिक दलहरुले आम निर्वाचनको लागि मौन अवधि सुरु हुनु भन्दा १५ दिन अघिको समय मात्रै प्रचार प्रसारको लागि तोकिएकोले उक्त समय बढाइदिन आग्रह गरेका हुन्।
दलहरूले आयोगको ध्यानाकर्षण गराउँदै चुनावी प्रचारप्रसारको समय निकै कम भएकाले समय बढाउन माग गरेका हुन्।
माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रचारप्रसारको समयावधि कम भएको भन्दै ध्यानाकर्षण गराए।
उनले भने–आजको छलफलमा प्रचारप्रसारको समय बढाउन माग गर्यौँ। यस्तै, प्रधानमन्त्री र मन्त्रीले पनि चुनावको प्रचारप्रसार गर्न पाउने पर्ने कुरा राख्यौं।’
आयोगका प्रवक्ता शालीग्राम पौडेलले यस विषयमा आयोगले थप निर्णय गर्ने बताए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिवद्धता जनाउन राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका थिए।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल लगायत निर्वाचन आयोग पुगेका थिए।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दल तथा उम्मेदवारहरूले जम्मा १५ दिनमात्रै प्रचार प्रसार गर्न पाउने भएका छन्।
आयोगले राजपत्रमा सार्वजनिक गरेको निर्वाचन आचारसंहिता २०७९ मा चुनाव प्रचार प्रसारमा कडाइ गरेको हो।
अघिल्ला संसदीय चुनवामा प्रचार प्रसारका लागि उम्मेदवार तथा दलका लागि करिब ४० दिनको समय दिँदै आएको आयोगले यसपटक त्यसलाई आधाभन्दा बढी अवधि कटौती गरेको हो। २०७४ सालमा भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा प्रचार अवधि ३९ दिन रहेको थियो।
यसपटक उम्मेदवारहरूले मनोयन दर्ता गरेलगत्तै प्रचारप्रसारमा जान पाउने छैनन्। आयोगका अनुसार मनोनयन गरे पनि मतदानभन्दा १७ दिनअघिदेखि मात्रै चुनावी अभियान सञ्चालन गर्न पाउने आचार संहितामा उल्लेख छ।
मतदानको ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुनेछ। जतिबेला प्रचारप्रसार गर्न पाइँदैन।