
काठमाडौँ – निर्वाचन आयाेगले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज मंगलबार प्रकाशन गर्दैछ ।
निर्वाचन आयाेगका अनुसार यही असाेज २३ गते उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने छ ।
आयाेगले हिजो साेमबार उम्मेदवारविरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरूमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने आयाेगले जनाएकाे छ ।
उजुरी परेकाहरूकाे उम्मेदवारी के हुन्छ?
निर्वाचन आयाेगका अनुसार उजुरी परेका उम्मेदवारहरूमाथिकाे उजुरी पुष्टि भएमा उम्मेदवारी स्वतः रद्द हुने व्यवस्था छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेल, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारदेखि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी विरुद्धसम्म उजुरी परेको छ ।
आयोगले आज प्रकाशन गर्ने नामावलीहरुमध्ये कुनै उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने मन भए भोलि बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सकिने छ ।
त्यसपछि भोलि दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाका लागि २ हजार ५२६ र प्रदेश सभाका लागि ३ हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको छ ।