
काठमाडौँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभाकाे निर्वाचनमा आफू सहभागी नहुने निर्णय लिएका पूर्वसभामुख कृष्णबहादुर महराले अब आफू समाजसेवामा लाग्ने बताएका छन् ।
अघिल्लाे निर्वाचनमा दाङ क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष चुनावमार्फत निर्वाचित भएका उनले यसपालीकाे निर्वाचनमा आफू सहभागी नभएपनि आफ्नाे पार्टी माओवादी केन्द्रकाे कामसँगै समाजसेवा गर्ने बताएका हुन् ।
यसपालीकाे निर्वाचनमा उनकाे निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्माकाे उम्मेदवारी छ । पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहेकी शर्मालाई जिताउन आह्वान गर्दै उनले आज एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् ।
विज्ञप्तिमा लेखिएको छ,‘दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि मैले राजकीय भूमिकामा रहँदा वा बाहिर रहँदा पनि सदैव नजिक रहेक काम गरेको छु, संसदीय भूमिका नरहँदा पनि त्यसमा कुनै कमी हुन दिने छैन । समाजसेवा र पार्टीको काममा मेरो सक्रियता झनै बढ्ने छ । संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ ऊर्जाशील कमरेडहरु अगाडि आउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै २०७४ सालमा म निर्वाचित भएको प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजजयी गराउनु हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछु ।’
दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन् ।
यसअघि दाङ- २ बाट महरा प्रत्यक्षतर्फ सिफारिस भए पनि माओवादीले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर महराले आफू समानुपातिक उम्मेदवार पनि नबन्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।