
धनगढी – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा प्रदेशसभा सदस्यको निर्वाचन लड्दै छन् ।
उनले सत्ता गठबन्धनकातर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर- ५ ‘ख’ बाट उनले उम्मेदवारी दिएका हुन् ।
हाल सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी बजार क्षेत्रबाट उम्मेदवारी दिएका प्रकाश देउवा पहिलो पटक निर्वाचन लड्दै छन् ।
३९ वर्षीय प्रकाश युवाको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएका हुन् । उनी यस क्षेत्रका युवा माँझ लोकप्रिय छन् ।
गत वर्ष सम्पन्न कांग्रेस कैलालीको जिल्ला अधिवेशनमा लोकप्रिय मत पाएर महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भएका देउवा धनगढीलाई सुन्दर सहरसँगै सुदूरपश्चिम प्रदेश सभामा युवाको अर्थपूर्ण उपस्थितिका लागि निर्वाचन लडेको बताउँछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा।
उनले भने,‘म केही कमाउन भनेर राजनितिमा होमिएको होइनँ, समाजमा केही परिवर्तन आवश्यक छ, त्यसका लागि जनप्रतिनिधि भएर काम गर्न सकुँ भनेर निर्वाचन लडदैछु ।’ छिमेकी जिल्ला कञ्चनपुरको गुलरियामा जन्मे हुर्केका देउवाले उच्च शिक्षा अध्ययनका क्रममा कैलालीको धनगढीमा पनि लामो समयदेखि परिचित नै हुन् ।
प्रधानमन्त्री पत्नी एवम् कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाका स्वकीय सचिवसमेत रहेका प्रकाश पछिल्लो ५ वर्ष यता लगातार धनगढीमै रहेर काम गरिरहेका छन् ।
२०७४ सालको निर्वाचनमा डा.आरजु राणा देउवा कैलालीको निर्वाचन क्षेत्र नम्बर- ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेदेखि प्रकाश देउवा पनि यहाँका नेता तथा कार्यकर्तासँग निकट हुँदै यहाँको विकासको लागि लागिरहेका छन् ।
यस पटकको निर्वाचनमा पनि आरजु लड्ने चर्चा भएपनि उनी अन्तीममा ब्याक भएर समानुपातिकमा बसेपछि हाल यस क्षेत्रमा संघिय सांसदमा यसअघि यसै प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका डिल्लीराज पन्त संघीय सांसद्का लागि उम्मेदवार बनेका हुन् ।
प्रकाश देउवासँगै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेकातर्फबाट धनगढीको मेयरमा पराजित दुर्गा जोशी प्रदेशसभा सदस्यको उम्मेदवार रहेका छन् ।
यस क्षेत्रको प्रदेशसभा ‘ख’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखी ६, ११ र १३ नम्बर वडा रहेका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ११ एमाले, वडा नम्बर ६ माओवादीले जितेका वडा हुन् भने बाँकी ६ वटा वडामा प्यानलसहित कांग्रेसले जितेकाे हाे ।