
धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यमा राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन्।
यस प्रदेशमा रहेका प्रमुख दलबाट एक जना महिलामात्र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी छन्।
संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। तर, सुदूरपश्चिमका प्रमुख राजनीतिक दलहरूमा महिला उम्मेदवार प्रदेशसभामा प्रत्यक्षतर्फ शून्यजस्तै रहेको छ।
उम्मेदवार चयनको प्रक्रिया सुरु नहुँदै महिला नेताले सडकदेखि सदनसम्म प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने सवाल उठाउँदै आएका थिए।
प्रदेशसभामा महिलाको हिस्सा एक तिहाइ पुर्याउन दलहरूले फेरि पनि समानुपातिक उम्मेदवारबाटै बढी प्रतिनिधित्व गराउनुपर्ने भएको छ।
३२ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा आइतबार प्रदेशसभामा दुई सय २३ जनाको प्रत्यक्षतर्फ उम्मेदवारी परेको छ। त्यसमध्ये महिला उम्मेदवारको संख्या १३ जनामात्र रहेकाे छ।
निर्वाचन कार्यालय सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले प्रत्यक्ष निर्वाचनमा महिला सहभागिताबारे बाध्यकारी कानुन नहुँदा दलहरूले महिलालाई टिकट दिन कन्जुस्याइँ गरेको बताए।
‘आयोगले दलहरूलाई एकतिहाइ सिटमा महिला उम्मेदवार बनाउन निर्देशन गरेको थियो। तर, त्यो दलहरूले मान्नैपर्छ भन्ने कानुन छैन, दलहरूले मानेनन्’, उनले भने, ‘कानुनले बाध्य नबनाएसम्म दलहरू स्वतःस्फूर्त रूपमा तयार हुने अवस्था देखिँदैन।’
प्रदेशसभामा सत्ता गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट महिलाले प्रत्यक्षतर्फ सहभागिता हुनबाट वञ्चित भएका छन्। एमालेबाट एक जना महिलाको मात्र प्रदेशसभामा प्रत्यक्षतर्फ उम्मेदवारी परेको छ।
भर्खरै दर्ता भई निर्वाचन प्रतिष्पर्धामा रहेको नागरिक उन्मुक्ति पार्टी तथा अन्य स-साना दलहरूबाट महिलाहरूले प्रत्यक्षतर्फ निर्वाचनमा सहभागी हुने भएका छन्।
निर्वाचन कार्यालयको तथ्यांकअनुसार आइतबार प्रदेशसभाका लागि प्रदेशमा एक स्वतन्त्र, नेकपा एमालेबाट एक, विपी कांग्रेसबाट एक, नागरिक उन्मुक्ति पार्टीबाट दुई महिला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल मजदुर किसान पार्टीलगायत गरी १३ महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेश सभा १ बाट एमालेकी कमला कुमारी ओलीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा २ मा स्वतन्त्र रूपमा भगवती ओझाले उम्मेदवारी दर्ता गराएकी छन्। नेपाली कांग्रेसकी नेतृ समेत रहेकी ओझाले प्रत्यक्षतर्फ पार्टीबाट उम्मेदवार हुन नपाएपछि स्वतन्त्र रूपमा आइतबार उम्मेदवारी दर्ता गराएकी हुन्।
कैलाली क्षेत्र नम्बर २ प्रदेशसभा २ मा नेपाल किसान मजदुर पार्टीबाट दीपा विष्ट, कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेशसभा १ मा नेपाल मजदुर किसान पार्टीकी भागरथी देवी रावल, कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरी, बैतडी क्षेत्र नम्बर १ प्रदेशसभा २ मा नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा र दार्चुला क्षेत्र नम्बर १ प्रदेशसभा १ बाट नन्दी कामी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, बझाङ प्रदेशसभा २ मा विपी कांग्रेसबाट निर्मला कुमारी विक, कैलाली क्षेत्र नम्बर २ प्रदेशसभा १ बाट नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी पुन मगर, कैलाली क्षेत्र नम्बर ३ प्रदेश सभा १ बाट नेपाल मजदुर किसान पार्टीबाट रञ्जना कुमारी शाही, कैलाली क्षेत्र नम्बर ४ प्रदेशसभा १ मा मौलिक जरो किलो पार्टीबाट सावित्री गिरी, बैतडी १ प्रदेश सभा १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णा पन्त, कञ्चनपुर १ प्रदेशसभा २ बाट नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी र कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेशसभा २ लोकतान्त्रिक समाजवादी पार्टी लक्ष्मीदेवी डंगौरा थारु उम्मेदवार बनेका छन्।
२०७४ सालमा भएको पहिलो प्रदेशसभा निर्वाचनमा बझाङ ‘ख’ बाट देवकी मल्ल एकमात्र महिला निर्वाचित भएकी थिइन्।