
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाइलाई तीव्रता दिएको छ।
आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाइ कार्यलाई तीव्रता दिएको हो।
जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाइ भइरहेको आयोगले जनाएको छ। उक्त फोटोसहितको नामावलीको प्रति निर्वाचन सामग्रीसँगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ।
आगामी निर्वाचनका लागि प्रतिनिधिसभा अन्तर्गत २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिला गरि २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फ ३१७९ पुरुष, २ सय ९७ महिला र अन्य १ गरि ३ हजार ४ सय ७७ जनाको उम्मेदवारी परेकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रत्यक्षतर्फ संविधानको भावना र व्यवस्थाअनुसार बढीभन्दा बढी समावेशी हुनेगरी उम्मेदवार मनोनयन गराउन आग्रह मात्र गरिएको उनले बताए।
आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएकाे छ। त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ।
योसँगै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारको अन्तिम संख्या टुङ्गो लाग्ने छ।