
काठमाडौँ – निर्वाचन आयोगले बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि असोज २३ गते भएको मनोयननमा आयोगले बुधबार निर्वाचन चिन्ह प्रदान गरेको हो।
दलबाट उम्मेदवार बनेकाहरुलाई औपचारिक रुपमा दलकै चिन्ह र स्वतन्त्रहरुलाई दिइएको सूचीबाट छान्न लगाएको थियो।
निर्वाचन अधिकृतको कार्यालय तनहुँले क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका गोविन्दराज जोशीलाई कैंची चिह्न दिएको छ। त्यहाँ कांग्रेसका रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन्।
एमाले परित्याग गरेर स्वतन्त्र रुपमा रुपन्देही १ बाट उम्मेदवार बनेका घनश्याम भुसालले त्रिभुज चिन्ह पाएका छन्। उनलाई सत्ता गठबन्धनले सहयोग गरेको छ।
त्यस्तै एमालेको टिकट लगे पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रभु साहले चापाकल (पानी तान्ने कल) चुनाव चिन्ह पाएका छन्। उनले रौटहट ३ का लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको टिकट फ्यालेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।
चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस शेखर गगन प्यानलका दिनेश कोइरालाले ‘माछा’ चिन्ह पाएका छन्। उनलाई एमालेले आफ्नो उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गराएर सहयोग गर्ने घोषणा गरेको छ।
त्यस्तै चितवन ३ बाटै उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ‘सूर्यमुखी फूल’ चिन्ह पाएका छन्।
वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा भरतपुर महानगर पालिकाको प्रमुखमा उम्मेदवारी दिँदा उनले भुईंकटर चिन्ह पाएका थिए। यसपटक उनलाई ‘सूर्यमुखी फूल’ दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काठमाडौँ ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले ‘सेल रोटी’ पाएकी छिन्।
काठमाडौँ २ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश अधिकारीले ‘क्यामरा’ चुनाव चिन्ह रोजेका छन्।
झापा ५ मा केपी ओलीविरुद्ध उम्मेदवारी दिएका युग पाठकले पुतली चिन्ह पाएका छन्।
झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालले क्रस खुकुरी पाएका छन्।
त्यस्तै झापा ४ मा उम्मेदवारी दिएकी खुश्बु ओलीले पनि क्रस खुकुरी नै चिन्ह पाएकी हुन्।