
काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्दै छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको सहभागी हुँदैछन् ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका तथा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध विभिन्न जिल्लामा बागी उम्मेदवारी दिएका नेताहरूको विषयमा छलफल गर्न तथा चुनावी घोषणापत्रका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका एक नेताले बताए ।
यसैबीच, कांग्रेसले विद्रोही उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय गर्नका लागि असोज ३१ गतेसम्म समयसीमा दिएको छ ।