
विराटनगर- मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र नेकपा एमालेका नेता घनश्याम खतिवडाबीच तेस्रोपटक प्रतिस्पर्धा हुँदै छ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पहिलोपटक केन्द्रीय निर्वाचनमा प्रतिस्पर्धा गरेको दुवै उम्मेदवार यतिबेला जनतालाई रिझाउन घरदैलोमा व्यस्त छन्।
विगत ४० वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय लिम्बू २०६८ सालको पहिलो संविधानसभा निवार्चनमा लेटाङ नगरपालिका ६ गुहावारीका उम्मेदवार थिए।
सो समय नगेन्द्र धिमाल विजयी हुँदा माओवादीका नेता वर्षमान पुन, कांग्रेस नेता लिम्बू पराजित हुन पुगे। पराजित भएपछि लिम्बू स्थानीय जनतामाझ भिज्दै गए।
२०७० सालको दोस्रो निर्वाचनमा लिम्बूलाई उनले गरेको कामको प्रतिफलस्वरूप जनताले विजयी गराए। उनले एमालेका नेता घनश्याम खतिवडालाई पराजित गरेका थिए।
केन्द्रीय निर्वाचन अन्तर्गत दोस्रोपटक प्रतिस्पर्धामा उभिएका लिम्बू कांग्रेसको मोरङ जिल्ला सभापतिसमेत रहेका छन्।
कम्युनिष्टको गढ भनेर चिनिएको क्षेत्र नम्बर १ मा जित हासिल गरेका लिम्बूले शिक्षा र स्वास्थ्यक्षेत्रमा काम गरेको जिकिर गर्दै आएका छन्।
दोस्रो संविधानसभा निर्वाचनमा जित हात पारेका लिम्बूलाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका ६० वर्षीय खतिवडाले पराजित गरे। कम्युनिष्टको गढ भनेर चिनिएको क्षेत्रमा खतिवडाको जितले स्थानीयमा धेरै अपेक्षा रहेको थियो। सोही अनुरूप खतिवडाले जनतालाई महसुस हुने गरी कार्य गरेको दाबी गर्छन्।
यसैक्रममा उनले चुरेफेदीसम्म जोडिने मोटरेबल सडक र विभिन्न स्थानमा १७ वटा पुलपुलेसा निर्माण कार्य अघि बढाएको बताए।
विगत पाँच वर्षमा काम गरेको फेरिहस्त लिएर जनताको घरदैलोमा जोडिएका खतिवडा आगामी निर्वाचनमा पूरा गर्न बाँकी रहेका कामलाई पूर्णता दिनका लागि आह्वान गरिरहेका छन्।
लेटाङ नगरपालिका २ फडानीका बासिन्दा खतिवडा २०३४ सालबाट पार्टीमा सक्रिय छन्। खतिवडा हाल एमालेको प्रदेश १ प्रचारप्रसार विभाग प्रमुख रहेका छन्।
विगतमा दुई पटक जितेका खतिवडा आफ्नो जितमा विश्वासी देखिएका छन् भने यता लिम्बू पनि स्थानीयमा लोकप्रिय र साझा उम्मेदवार बन्ने गरी घरदैलोमा व्यस्त हुँदै आएका छन्।
त्यसैगरी, एमाले र कांग्रेसले जित हात पार्दै आएको क्षेत्र नम्बर १ मा राप्रपाले पनि आफ्नो उम्मेदवारी दिएको छ।
एमालेको विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै २०६६ सालबाट राप्रपामा प्रवेश गरेका होमनाथ गौतम राप्रपाका उम्मेदवार रहेका छन्।
ताप्लेजुङको आठराई त्रिवेणी ५ मा जन्मिएका गौतम यसपटकको निर्वाचनमा जनताले तेस्रो विकल्पका रूपमा राप्रपालाई मत दिने बताउँछन्।
विगतका राजनीतिक दलले विगत ३२ वर्षदेखि सो क्षेत्रमा जितेर पनि काम गर्न नसकेको आरोप उनकाे छ।
४४ वर्षीय गौतमले राजनीतिक दलमा काम गराइले जनतामा निराशापन छाएको बताउँछन्।
पछिल्लोसमय राजनीतिक दलहरू भन्दा राप्रपामा आकर्षण बढेको दाबी गर्दै उनले हिन्दु राष्ट्रको स्थापना, जनताद्वारा प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचन र सेरोमोनियल राजतन्त्रको पक्ष जनताले रुचाउनेमा प्रस्ट भएको बताए।
२०४७ सालमा ताप्लेजुंगमा अनेरास्ववियुको जिल्ला सदस्यदेखि गौतमको राजनीतिक यात्रा सुरु भएको हो। तर, उनले २०६६ सालमा मोरङको उर्लाबारीमा पार्टी परित्याग गरी राप्रपाको सदस्यता लिएका थिए।
त्यसपछि गौतम २०७० सालको निर्वाचनमा समेत तत्कालीन राप्रपा नेपालतर्फबाट उम्मेदवार रहेका थिए।
मोरङको क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा ६ जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन्। कुल १ लाख २३ हजार ६ सय १५ मत रहेको क्षेत्रमा ५ जना महिला र १० पुरुषबीच प्रतिस्पर्धा हुनेछ।
यस क्षेत्रको प्रदेशसभा १ मा ६४ हजार ४ सय ८२ मत र प्रदेशसभा २ मा ५९ हजार १ सय ३३ मत रहेको छ। यस क्षेत्रमा ६० वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र छन्।