
नेपालगञ्ज – बाँकेमा तालमेल गरेका एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो सुरु गरेका छन्।
बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणा र प्रदेश (ख) का उम्मेदवार निरक गुरुङले संयुक्त घरदैलोमा गरेका हुन्। बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री राणा प्रतिनिधि सभामा उम्मेदवार रहेका छन् भने प्रदेशतर्फ एमालेका उम्मेदवार छन्।
नेपालगञ्जमा उम्मेदवारहरु केही कार्यकर्तासहित मत माग्न निस्केका छन्। नेपालगञ्जमा अन्य ठूला दलका उम्मेदवार मत माग्न निस्किसकेका छैनन्। स्वतन्त्र उम्मेदवार दिवाकर खनालले बजार बाहिर प्रचारप्रसार गरिरहेका छन्।
क्षेत्र नं. २ मा जसपाका मो. इस्तियाक राई, कांग्रेसका सुदीप नरसिंह राणालगायत उम्मेदवार छन्। यो क्षेत्रमा एमाले र राप्रपाको मात्रै तालमेल छ। अरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
जिल्लाका अन्य क्षेत्रमा एमाले र राप्रपासँगै कांग्रेस र माओवादीको तालमेल रहेको छ। चुनाव नजिकिँदै जाँदा बजार र गाउँघरमा नेताहरुको चहलपहल बढेको छ।