मोरङ–५ (ख) मा कांग्रेसका अर्याल र जसपाका यादवबीच हुनेछ रोचक प्रतिस्पर्धा

मोरङ–५ (ख) मा कांग्रेसका अर्याल र जसपाका यादवबीच हुनेछ रोचक प्रतिस्पर्धा
+
-

माेरङ- आउँदो निर्वाचनमा प्रदेशसभाततर्फ मोरङ क्षेत्र नम्बर ५ (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अमृत अर्याल र जनता समाजवादी पार्टीका  जयराम यादवबीच रोमान्चक प्रतिस्पर्धा हुने भएको छ।

दुईपटक मोरङ जिल्ला सभापति र केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरेका अर्यालले आफूलाई सो क्षेत्रको बलियो दावेदारीको रूपमा प्रस्तुत गर्दै आएका छन्।

तीनपटक केन्द्रीय निर्वाचनमा होमिसकेका ६३ वर्षीय अर्याल यसपटक पहिलोचोटि प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन्।

यसअघि, २०६४, २०७० र २०७४ को केन्द्रीय निर्वाचनमा अर्यालको उपस्थिति यसै क्षेत्रबाट रहेको थियो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए।

विगतमा सो क्षेत्रमा कांग्रेसकी क्रान्तिकारी नेतृ शैलजा आचार्य विजयी भएकी थिइन्। त्यसपछि कांग्रेसको विरासत अर्यालले थाम्दै आएका छन्। २०६४ मा पराजित भए पनि उनले साे क्षेत्र छाेडेका छैनन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा अर्यालले उपेन्द्र यादवलाई पराजित गरे।

२०७४ सालमा अर्याल सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिस्पर्धी बने। नेकपा एमाले र माओवादीको एकीकरणको समयमा सम्पन्न निर्वाचनमा अर्याल शिवकुमार मण्डलसँग पराजित भएका थिए । सो निर्वाचनमा उनी शिवकुमार मण्डलसँग ३ हजार ८ सय ९२ मतले पराजित भएका थिए। स्थानीय तहमा लोकप्रिय रहेका उनले सो समय १९ हजार १ सय ५३ मत प्राप्त गरेका थिए।

उनी यसपटक जनताले ‘न्याय’ दिने बताउँछन्। अर्याल भन्छन्, ‘जनतामाझ लोकप्रिय रहेको छु। क्षेत्रमा धेरै काम गरेको छु। त्यसैले पनि यसपटक त्यहाँका जनताले मलाई न्याय गर्नेछन्। अघिल्लोपटक एमाले र माओवादीसँगको एकीकरणमा समेत जनतामाझ गएको थिए। मलाई साथ दिने जनताले सही उम्मेदवार बुझेका छन्।’

क्षेत्र एकै भए पनि उनको प्रतिस्पर्धा प्रदेशस्तरमा रहेको छ। त्यसमा पनि सोही क्षेत्रमा विगत दुईवटा निर्वाचनमा लगातार जित हाँसिल गरेका जसपाका ४४ वर्षीय केन्द्रीय नेता जयराम यादवसँगको भिडन्त रोचक हुनेछ।

यादव यसपटक पनि जनताले साथ दिनेमा विश्वस्त छन्। उनी भन्छन्, ‘विगत दुई पटक जनताको मन जितेर सेवाको अवसर पाएको छु। यसपटक पनि जनताले काम गर्ने अवसर दिनेमा विश्वस्त रहेको छु। यो क्षेत्रमा जनताको मन जितेर लगातार दुईपटक जित्नु नै आउँदो निवार्चन आफ्नो पक्षमा आएको महसुस गर्छु।’

२०७४ सालको प्रदेशसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट यसै क्षेत्रमा विजयी भएका यादव प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका छन्।

सदनमा पहिचान र संघीयतालाई बलियो बनाउनका लागि आवाज राख्दै आएका यादव २०७४ सालमा कांग्रेसका युवा नेता राजेश गुप्तालाई १ हजार २ सय ८३ मतान्तरले पराजित गरेका थिए।

यसअघि यादव २०६४ सालको उपनिर्वाचनमा विजयी हुँदै संविधानसभा सदस्य भएका थिए। २०६४ सालमा पार्टी अध्यक्ष उपेन्द्र यादवले मोरङ ५ र सुनसरीको ५ मा निर्वाचन जितेका थिए।

यादवले मोरङलाई छाडेर सुनसरीलाई साथमा लिएपछि सम्पन्न भएको उपनिर्वाचनमा जयराम यादवले कांग्रेसका जगन्नाथ सिंह, माओवादीका शिवकुमार मण्डललाई ६ हजार बढी मतले पराजित गरेका थिए।

यादवको गृहक्षेत्रकाे रूपमा रहेको ५ को २ मा २०७० सालमा भने उनी निर्वाचनको मैदानमा होमिन सकेनन्। पार्टीले उनलाई उम्मेदवार बनाउन खोजे पनि अस्वस्थताका कारण यादव मैदान बाहिर नै रहेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि यादव निर्वाचनका समय भारतको दिल्लीमा उपचाररत रहेका थिए।

कुल ५३ हजार ३९ मत रहेको मोरङ क्षेत्र नम्बर ५ को २ मा विराटनगर महानगरपालिकाको १३, १४, १५, १६, १७, १८ र जहदाँ गाउँपालिकाको १, २, ३, ४, ७ नम्बर वडा रहेको छ।

सो क्षेत्रमा ४४ वटा मतदानस्थल, र १ सय १५ वटा मतदान केन्द्र रहेक‍ा छन्। जहाँ २९ हजार १ सय ५३ महिला र २३ हजार ८ सय ८६ पुरुष मतदाता छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?