
काठमाडौँ – सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने प्रतिबद्धता जनाएकी छिन्।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा घर्तीले यस क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताएकी हुन्।
उनले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताइन्।
घर्तीले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्। नेता घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताइन्।
त्यसैगरी मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उनको प्रतिवद्धता छ।
उनले भनिन्, ‘जोरपाटी–साँखु सडकको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाई भएको छ, म घोषणा गर्न चाहन्छु आगामी दुई वर्षहरुमा यदि त्यो कार्य मैले सम्पन्न गर्न सकेन भने म राजीनामा गर्छु। नोट गर्नुस् । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व राख्ने शहर साखुँ बजार तथा शालीनदी यसको पर्यटकीय विकास तथा जर्सिङ पौवालाई जीवित संग्रहालयको रुपमा विकसित गर्नेछु । दक्षिणढोका, मुलपानी लगायत विभिन्न क्षेत्रमा हुने डुबानको समस्या छ यसमा म योजना बनाएर काम गर्नेछु।’
उनले विमानस्थल निर्माणका क्रममा प्रभावितहरुको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गरिन्। कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उनको भनाइ छ।