
काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनबाट कांग्रेसका राजन केसी र एमालेका हिमेश केसी प्रतिस्पर्धामा छन्। यसअघि दुई पटक त्यसै क्षेत्रबाट चुनाव जितेर मन्त्रीसमेत भइसकेका राजन तेस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन्।
२०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका केसी २०७४ मा कांग्रेसले देशभरबाट प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्दा पनि त्यसभित्र पर्न सफल भए। २०७४ मा युवा तथा खेलकुद मन्त्री भएका केसी संसदीय राजनीतिका अनुभवी सांसद हुन्।
पछिल्लो समय सार्वजनिक लेखा समितिको सदस्य रहेका उनी व्यापारिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व हुन्। जनतामाझ लोकप्रिय देखिएका केसीविरुद्ध सत्ता गठबन्धनमा भएको सहमतिविपरीत माओवादी केन्द्रकी अञ्जना विशुंखेले पनि काठमाडौँ – १० मा उम्मेदवारी दिएकी छन्।
तथापि उनी मुख्य प्रतिस्पर्धा नभएको गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतले देखाउँछ।
कीर्तिपुरमा २०१५ सालमा जन्मिएका केसी नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०३० सालबाट राजनीतिमा लागेको उनी बताउँछन्। सरस्वती क्याम्पसमा नेविसंघको राजनीति गरेका केसी २०४६ सालबाट पार्टीगत राजनीतिमा लागे। उनी २०५१ र ०५६ मा कांग्रेस क्षेत्रीय सभापति भए भने चार पटकसम्म कांग्रेसको महासमिति सदस्य भए।
राजनविरुद्ध एमालेले चुनावी मैदानमा उतारेका ३९ वर्षे हिमेश युवा संघको राजनीतिबाट उठेका काठमाडौँ जिल्ला सदस्य हुन्। काठमाडौँ १० मा एमालेले ‘हेभिवेट’ नेतालाई अघि सार्ने प्रयास गरे पनि तयार नभएपछि युवा उमेरमै उनले संघीय संसदको सदस्यका लागि टिकट पाए।
एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई काठमाडौँ १० मा गएर चुनाव लड्न पार्टीले आग्रह गरे पनि उनी पन्छिए। २०५८ सालबाट एमालेको राष्ट्रिय युवा संघ नेपालको कीर्तिपुर नगर वडा सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका उनी काठमाडौँ जिल्ला कमिटी सदस्य छन्।
पार्टीले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ आफ्नो चुनावी एजेण्डा भएको बताउने हिमेश स्थानीय विकास निर्माणका योजना पनि आफ्नो प्राथकितामा रहेको बताउँछन्।
उनी भन्छन्, ‘एमालेले अगाडि बढाएको सुखी नेपाली समृद्ध नेपाल नारासहित राजनीतिक स्थायित्व, राष्ट्रियता र समृद्धि नै मुख्य एजेन्डा हुन्। त्योसँगै निर्वाचन क्षेत्रभित्रका थुप्रै एजेण्डालाई अगाडि बढाउने छु।’
प्रतिस्पर्धी राजनलाई दुई पटक सांसद र मन्त्री हुँदासमेत जनताका माग पूरा नगरेकाले यसपटक आफूले जनताको मत पाउने उनको दाबी छ।
‘दुई/दुई पटक नेपाली कांग्रेसका उमेदवारलाई विजय गराउँदासमेत उहाँले यहाँका जनताले महसुस गर्ने गरी काम गर्नु भएन। जसका कारण १० वर्ष त्यसै खेर गयो भन्ने जनतालाई परेको छ,’ उनी अगाडि भन्छन्, ‘जनताले परिर्वतन खोजेका छन्। त्यो परिर्वतनलाई म पूरा गर्न सक्छु। फेरि म आफै युवा भएकाले यहाँका युवाहरुको रोजाइ खोजाइमा म छु।’
स्थानीय तहको चुनावमा दलहरुका वडा अध्यक्षहरुले पाएको मतअनुसार काठमाडौँ १० मा कांग्रेस पहिलो शक्ति हो। कांग्रेसले २४ हजार ६७५, एमालेले १८ हजार ८३८, माओवादीले ४९४२ मत पाएका छन्। त्यस्तै राप्रपा २४९६ र एकीकृत समाजवादीले १३४२ मत ल्याएका छन्।