
काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
प्रतिबद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क वाइफाइ जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन्।
‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निःशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निःशुल्क वाइफाइ जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाइओभर वा अन्डरपास बनाउने।’
युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन्। उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् ।
‘सरकारबाट प्राप्त हुने निःशुल्क औषधि प्राप्त हुने स्थानबारे आमजनतालाई सुसूचित गर्ने र त्यस्ता औषधि निःशुल्क उपलब्ध गराउने,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने।’
प्रतिबद्धतापत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने, मेलम्चीको पुरक स्रोत खोजी गर्ने, २१औं शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती करिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन्।
उनले फेरि पनि किन प्रकाशमान ? भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन्।
यस्तो छ उनको चुनावी प्रतिबद्धता पत्रको एउटा अंशः
किन फेरि प्रकाशमान ?
मैले एमालेको लालकिल्लालाइ कांग्रेसको किल्ला बनाएको हो । ०६४ पछि ह्याट्रिक गरिसकेको छु। मैले जनताको म्यान्डेटलाई इमानदारपूर्वक गरेको छु। विकासका काममा पनि मैले सक्जनेजति गिररहेकै छु। यसैले यहाँका जनताले मलाई विश्वास गरिरहेका छन्। जसले यस क्षेत्रमा मेरो सामिप्यता बढ्दै गएको विगतको निर्वाचनले देखाएको छ। संविधान बनाउने देखि बनाउने र कार्यान्वयनमा जनताले मलाई म्यान्डेट दिएका छन्। संविधान कार्यान्वयन गर्ने मिसनका लागि फ्रेस म्यान्डेटसहित कांग्रेस नेतृत्वको सरकार गठबन्धनकै तर्फबाट मेरो उम्मेदवारी हो । संविधानको भावना र मर्मअनुसार कतिपय कानुन निर्माण गरेर प्रदेश तहलाई अधिकार दिएर सिंहदरबारको काम वडा वडासम्म पुर्याउने नारालाई सार्थकता दिनेछौँ।
काठमाडौ १ मा हामी निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा सँगसँगै प्रविधिबारे तालिम दिएर उच्च शिक्षा सँगसँगै रोजगार बन्ने अबस्था बनाउनेछन्। हामी काठमाडौका सामुदायिक विधालयको गुणस्तर निजी विधालय बराबर बनाउने प्रयत्न गर्नेछौ। स्वास्थमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याव र डाक्टर सहितको क्लिनिक राख्नेछौँ तर, त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्यो।
बेरोजगारलाई रोजगार बनाउन धेरै आयाम हेर्नुपर्छ, यसका लागि आवश्यक अर्थसँग सम्बन्धित कानुन संसोधन गर्न पहल गर्नेछौ। छाता ऐनहरु बनाउन र खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प आवश्यक छ। त्यसका लागि गोकर्णेश्वर ड्याम तयार भएको छ।यसबाहेक नागमति ड्याम बनाउने योजना अघि बढेको छ, यसलाई पूरा गर्नेछौ। यश क्षेत्रमा राष्ट्रिय राजनीति विचारले चल्ने हो ।केन्द्रको प्रभाव र क्षेत्रमा विकासको नारासाथ हामी मैदानमा छौँ हामीलाई म्यान्डेट दिनुहोस् ।