
धनगढी – सुदूरपश्चिममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका चार जना नेता २०४८ सालदेखि अहिलेसम्म चुनावी मैदानमा सहभागी छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनमा २०४८ सालका ती चार जना उम्मेदवारहरू यस पटकको निर्वाचनमा संघीय सांसदका लागि प्रत्यक्ष प्रणाली निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
ती चार नेता हुन्, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री लेखराज भट्ट, कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामजनम चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडु ।
यी चारै नेता पहिलो पटककाे चुनावमा प्रतिस्पर्धा गरेको ३१ वर्षपछि पनि अझै प्रतिस्पर्धामा देखिन्छन् । ०४८ सालको निर्वाचनमा देउवा, बडु र चौधरी विजयी भएका थिए भने भट्ट पराजित भएका थिए ।
देउवा डडेल्धुराबाट यसपल्ट पनि चुनाव जितेमा सात पटक सांसद बन्नेछन् । ०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवालाई मंसिर ४ को निर्वाचनमा केही समय अघि सम्मका उनकै विश्वास पात्र मल्लले गर्दैछन् । उनी कांग्रेसले कारबाही गरेपछि यस निर्वाचनमा कांग्रेस विपिकातर्फबाट उम्मेदवार बनि देउवासँग प्रतिस्पर्धा गर्दैछन् ।
सात वटा पालिका रहेको डडेल्धुरामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाहरूमा अध्यक्षका उम्मेदवारहरूले पाएको कुल मत हेर्दा कांग्रेस अन्य दलभन्दा अगाडि छ ।
त्यहाँ कांग्रेसले २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, नेकपा एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बीपीले ३ हजार ६०३ मत पाएको छ ।
त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले २ हजार ५४८ मत पाएका छन् । डडेल्धुरामा कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार देउवा रहेका छन् । उनीसँग एकीकृत समाजवादीको समर्थन पाएका कर्ण मल्ल र एमालेका विक्रम शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
देउवा पछि सुदूरपश्चिममा कांग्रेसका पाका नेताका रूपमा रहेका कांग्रेसका केन्द्रीय सदस्य एवम् वर्तमान सरकारका मन्त्री दिलेन्द्रप्रसाद बडु फेरि दार्चुलाबाट प्रत्यक्षमा उम्मेदवार छन् । उनी २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रमा उमेदवार बनेका छन् । ०५६ सालको आम निर्वाचनमा बडु प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
यसअघि ०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका बडु यस पटक पुन:प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । ०७० र ०७४ सालको चुनावमा लगातार जित हात पारेका नेकपा एमालेका गणेश सिंह ठगुन्ना बडुसँग प्रतिस्पर्धामा छन् । ०७० र ०७४ मा चुनाव जितेर संसद् बनेका गणेश ठगुन्नासँग बडुको चुनावी प्रतिष्पर्धा रहेको छ । यसपटकको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार बडु रहेकाले उनलाई सजिलो बनेको छ ।
यसैगरी, कैलाली- १ बाट ०४८ सालमा संयुक्त जनमोर्चाबाट उम्मेदवार बनेका थिए, हाल नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्ट । उनी कांग्रेसका उम्मेदवार पूर्वसांसद गंगाबहादुर कुँवरसँग पराजित भएका थिए ।
०५१ र ०५४ सालको निर्वाचन एमालेले पार्टीले चुनाव बहिष्कार गरेको थियो भने २०५६ सालमा भएको निर्वाचनमा भट्ट जनयुद्धमा होमिइसकेका थिए ।
शान्ती प्रकृयासँगै भएको ०६४ सालको निर्वाचनमा तत्कालीन कैलाली- ५ (हालको निर्वाचन क्षेत्र नम्बर ४) मा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका भट्ट ०७० सालमा कांग्रेसका उम्मेदवार दीर्घराज भाटसँग पराजित भएका थिए । ०७४ सालमा कैलाली- ४ बाट निर्वाचनमा कांग्रेसका सुनिल भण्डारीलाई हराउँदै बाम गठबन्धबाट प्रतिनिधि सभामा भट्ट विजयी भएका थिए ।
भट्ट अहिले प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरसँग चुनावी मैदानमा प्रतिष्पर्धामा रहेका छन् ।
हाल भट्ट निर्वाचन लडिरहेको कैलाली- ४ मा स्थानीय तह निर्वाचनमा कांग्रेसले १५ वडा जितेको छ । माओवादी केन्द्रले ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ । गठबन्धन भएकाले स्थानीय तह निर्वाचनको मत अनुसार बलायर बलिया देखिएपनि त्यसै क्षेत्रबाट ०७४ को निर्वाचनमा कााग्रेसबाट निर्वाचन लडेका सुनिल भण्डारी असन्तुष्ट रहेकाले लेखराजलाई सजिलो भएको छ ।
यसैगरी, कैलाली -२ बाट ०४८ सालमा सांसद् बनेका कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रामजनम चौधरी छैटौँ पटक पनि सांसद् बन्ने दाउमा छन् ।
चौधरी ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मात्र पराजित भएका थिए । ०७४ को चुनावमा कैलाली ३ मा वाम गठबन्धनसँग हारेका पूर्वमन्त्री रामजनम चौधरीलाई कांग्रेसले यसपटक कैलाली १ मा उम्मेदवार बनाएको छ । ०७४ को निर्वाचनमा उनी कैलाली- ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका थिए । अहिले गौरीशंकर माओवादी त्यागेर एमालेमा छन् ।
रामजनम ०४८ सालदेखि ०७० सालसम्म अपराजित नेता हुन् । उनले ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे । ०६४ सालमा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट सभासद् चुनिएका थिए ।
०७० सालमा दोस्रो संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जिते । कैलाली ३ मा रामजनम वामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग चार हजार तीन सय ८५ मतान्तरले पराजित भए । त्यसबेला गौरीशंकरले २४ हजार आठ सय ७९ मत ल्याउँदा रामजनमले २० हजार चार सय ९४ मत ल्याएका थिए । उनीसँग अहिले नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा एमालेबाट उम्मेदवार बनेका टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र रावल चुनावी प्रतिष्पर्धामा छन् । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा रेशम चौधरी अतयाधिक मतान्तरले विजयी भएका थिए ।
कैलाली क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कुल २३ वडा पर्दछन् ।
यी पालिकामध्ये गत वैशाखको स्थानीय चुनावमा टीकापुरको उपमेयर बाहेक अन्यको प्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।