
काठमाडौँ – सत्ता गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार काठमाडौँ ६ (१) कांग्रेस र ६ (२) माओवादी केन्द्रको मागमा परेको छ। तर प्रदेशका दुवै क्षेत्रमा केन्द्रमा भएको सहमति विपरीत कांग्रेस र माओवादी दुवैले आआफ्ना उम्मेदवार खडा गरेका छन्।
माओवादी केन्द्रले कांग्रेस ६ (१)मा मात्रै उम्मेदवारी दिनुपर्ने भए पनि (२) समेत उम्मेदवारी दिएर सहमति उल्लंघन गरेको आरोप लगाएको छ।
माओवादीका नेता हिमाल शर्माले आफूहरु गठबन्धनप्रति इमानदार बने पनि कांग्रेस बन्न नसकेको बताउँदै प्रदेशका दुवै सिटमा आफ्नै उम्मेदवारलाई चुनावी मैदान जानुको विकल्प नभएको उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘आफूले संघीय क्षेत्रमा उमेदवारी दिन पाइएन गठबन्धनमा इमान्दारी हुनु पर्ने भन्दै पार्टीले टिकट दिएन। तर कांग्रेसका साथिहरुले प्रदेसमा पनि उमेदवारी कायम गरे पछि खै त ईमान्दारी?’
माओवादीले ६ (१) मा रविन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले हरिप्रभा खड्कीलाई चुनावी मैदानमा उतारेको छ। एमालेले त्यहाँ निरेशलाल सिंह महर्जनलाई उम्मेदवार बनाएको छ।
त्यस्तै ६ (२) मा कांग्रेसले विष्णुभक्त तिमिल्सिना, माओवादीले प्रकाश फुयाल र एमालेले अमन कुमार मास्केलाई उम्मेदवार बनाएको छ।