
काठमाडौँ– सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच २०६२ साल मंसिरमा १२ बुँदे संयुक्त जनआन्दोलनमार्फत राजाको निरंकुश शासन अन्त्य गर्ने सहमति भयो। जनआन्दोलन सफल भएपछि २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भयो।
उक्त सम्झौताले नेपालमा दश वर्षसम्म चलेको माओवादीको शसस्त्र आन्दोलनको अन्त्य गर्दै देशलाई नयाँ राजनीतिक कोर्षमा अघि बढायो। राजा ज्ञानेन्द्रको पेलानमा परेका कांग्रेस, एमालेसहितका सात राजनीतिक दलले विद्रोही माओवादीसँग मिलेर अघि बढ्ने सम्झौतामा पुग्न दुवै पक्षका नेताहरु भूमिगत रुपमा सक्रिय थिए।
विद्रोही माओवादीका नेता प्रचण्ड र राजतन्त्रको पक्षमा अडिग कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई एउटै ठाउँमा ल्याउन एमालेका तत्कालीन महासचिव माधव नेपाल (हाल एकीकृत समाजवादीका अध्यक्ष) समन्वयनकारी भूमिका खेले।
भारतको सिलगुढीदेखि नेपालकै विभिन्न ठाउँमा भूमिगत रुपमा पुगेर उनले वार्ता संवादमार्फत १२ बुँदे र विस्तृत शान्ति सम्झौताको आधार तयार पारे।
विस्तृत शान्ति सम्झौतामा सत्तापक्षबाट कांग्रेस सभापति समेत रहेका कोइराला र विद्रोहीका तर्फबाट प्रचण्डले हस्तक्षर भने माधव नेपाल किनाराका अनौपचारिक साक्षी मात्रै भए।
त्यसपछिका दिनहरुमा प्रचण्ड नेपालको तुलनामा बढी राजनीतिमा हावी भए। उनले विस्तृत शान्ति सम्झौता आफू र गिरिजाप्रसाद कोइरालाले गरेको दाबी गर्दै अरु दल र नेताहरुको भूमिकालाई कहिल्यै ठाउँ दिन चाहेनन्।
१६ वर्षको अवधिमा दाहालले गरेका सयौँ सार्वजनिक भाषण र संसदको रोष्ट्रमबाट समेत उनले विस्तृत शान्ति सम्झौता, संविधानसभा, नयाँ संविधानको निर्माणमा आफू र गिरिजाबाबुको चाहनाले मात्रै भएको जिकिर गरिरहे।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्तक्षर गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (बायाँ) र प्रचण्ड (दायाँ)। तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल (दायाँ बसेको) र तत्कालीन कांग्रेस लोकतान्त्रिकका सभापति शेरबहादुर देउवा (बायाँ बसेका)
तर, उनले कहिल्यै माधव नेपालको नाम लिएनन्। कोइरालाको निधनपछि दाहालले धेरैपटक संसदमा ‘आफूलाई गिरिजा बाबुले मर्ने बेलामा पनि देश बनाउने जिम्मा तपाईंकै हो’ भनेर बोलेको दाबी गर्दै आएका छन्।
तीन दिनअघि निर्वाचन क्षेत्र गोरखा पुगेका बेला पनि दाहालले शान्ति सम्झौतामार्फत सुरु भएको राजनीतिक कोर्षको अगुवा आफू र गिरिजा नै भएको दाबी गर्दै कांग्रेसका मतदातासँग नजिक हुने कोसिस गरे।
गोरखामा दाहालले भनेका थिए, ‘अहिले जुन राजनीतिक परिवर्तनको कुरा गरेका छौँ। जुन संविधान र लोकतन्त्रको रक्षाको कुरा गरेका छौँ। त्यसको जग १२ बुँदे समझदारी हो। त्यसलाई अझ ठोस रुपमा भन्ने हो भने विस्तृत शान्ति सम्झौता नै हो। जसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेका छौँ। त्यहीँबाट राजनीतिक परिवर्तनको सुरुवात भएको हो। अरुको सहयोग नभएको भए मैले र गिरिजा बाबुले मात्रै गरेर हुने कुरा त थिएन। त्यसको पछाडि पार्टी आन्दोलन जनता, सबैको भावना र चाहना मिलेकै हुनाले विस्तृत शान्ति सम्झौता भएको हो।’
शान्ति प्रक्रियामा आफूले खेलेको भूमिकाप्रति प्रचण्ड अनुदार बनेकोप्रति नेपाल असन्तुष्ट छन्। सार्वजनिक रुपमा नभने पनि नेपाल बेलाबखत निकष्टस्थहरुसँग प्रचण्डले शान्ति प्रक्रियाको अगुवामा आफू र गिरिजा बाबुलाई मात्रै चित्रित गरेकोप्रति खिन्नता प्रकट गर्छन्।
लामो समय अध्यक्ष नेपाल सँगसँगै राजनीतिक जीवन बिताएका एमाले नेता रघुजी पन्त शान्ति प्रक्रियाको सवालमा प्रचण्डले जहिले पनि एमालेले खेलेको भूमिकालाई नजरअन्दाज गरेको बताउँछन्।
पन्तले देशसञ्चारसँग भने, ‘म अहिले व्यक्तिका बारेमा जान चाहन्न। कुरा प्रष्टै हो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, वार्ता गर्ने काममा एमालेको महत्वपूर्ण भूमिका थियो। तर प्रचण्डले त्यसको जस कहिल्यै एमालेलाई दिन चाहनु भएन।’
१६ वर्षसम्म १२ बुँदे र शान्ति सम्झौतामा माधव नेपालको भूमिकाबारे चर्चा गर्न नचाहेका प्रचण्ड पछिल्ला तीन दिन यता फेरिएका छन्। आइतबार काठमाडौँ–२ बाट सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै दाहालले शान्ति सम्झौतामा माधव नेपालको भूमिका रहेको सार्वजनिक रुपमा पहिलोपटक स्वीकार गरे। उनले माधव नेपाल एमालेको नेतृत्वमा भएकै कारण १२ बुँदे र शान्ति सम्झौता संभव भएको भन्दै प्रशंसा गरे।
उनले सत्ता गठबन्धनमा रहेको कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी सहकार्यलाई १२ बुँदे र विस्तृत शान्ति सम्झौताकै निरन्तरताका रुपमा प्रस्तुत गरे।
हालका एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष उनले भने, ‘शान्ति सम्झौतामा सात राजनीतिक दलका तर्फबाट कांग्रेसका गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीको तर्फबाट मैंले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो र गिरिजा बाबुले हँसिया हथौडामा छाप लगाए बराबर हो। त्यति बेला एमाले सूर्य चिन्हको नेता माधव नेपाल थिए। अहिले विभिन्न खालका तिकडम गरेर आएका कोही नेता थिएनन्। ती नेता भएको भए १२ बुँदे सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन दिने थिएनन्।’
आइतबार पहिलोपटक १२ बुँदे र शान्ति सम्झौताको जस एमाले र नेपाललाई दिएका दाहालले मंगलबार ललितपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा शान्ति सम्झौतामा तत्कालीन एमाले र अध्यक्ष नेपालले भूमिका निर्वाह गरेको थप प्रष्टसँग बोले।
उनले भने, ‘१२ बुँदे समझदारीमा एमालेबाट हस्ताक्षर गरेको अरुले होइन माधव नेपालले हो, कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइरालाले हो। विद्रोही माओवादीका तर्फबाट मैंले हो। हामीहरुले अहिले पनि सबै एकै ठाउँमा छौँ। गोरुगाढावालहरु गोरुगाढा चढेर प्रतिगमनतिरै, प्रतिक्रान्ति तिरै देशलाई लैजानेमा छन्।’
नेता पन्त प्रचण्ड कुरा फेर्न सिपालु भएको टिप्पणी गर्छन्। उनले भने, ‘उहाँको मलाई सबैभन्दा मन नपर्ने कुरा नै ठाउँ र मान्छे अनुसार कुरा फेर्न माहिर हुनु हो।’
केही समय अगाडि तत्कालीन माओवादीकै नेता डा. बाबुराम भट्टराईले भने १२ बुँदे सम्झौताको ड्राफ्ट आफूले गरेको र त्यसमामा केपी ओलीको पनि भूमिका रहेको बताएका थिए।