
काठमाडाैँ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट रुपन्देही- २ का उम्मेदवार राजु गुरुङको मुद्दाकाे रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेकाे छ।
आज बुधबारका लागि सुनुवाइ ताेकिएकाे उनकाे मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उनकाे पेशी ३० नम्बरमा परेकाेले आज सुनुवाइ हुने सम्भावना कम देखिएकाे हाे।
बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो।
तर, गत बिहीबार सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।
इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन्।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए।