
नवलपरासी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्। उनले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहरका कारण वर्षातको समयमा बाढीले दुःख दिने गरेको र यसले पारेको प्रभावका बारेमा प्रभावित क्षेत्रका बासिन्दासँग जानकारी लिएका थिए।
सुस्ता गाउँपालिकाअन्तर्गत रुपौलिया, बरुवा, छिवनी सतपत्ति, फेचुवा क्षेत्रका स्थानीयले प्रतिनिधिसभा सदस्य उम्मेदवार चौधरीलाई बाढीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए।
स्थानीय माया कोहारले विनोद चौधरीले आफहरूको समस्या समाधान हुनेसमेत विश्वास व्यक्त गरिन्। ‘उद्योगपति पनि हुनुहुन्छ, देश विदेशमा चिनजान छ यो समस्या उहाँले मात्रै समाधान गर्न सक्नुहुन्छ,’ कोहारले भनिन्।
नारायणि नदी बस्ती नजिक रहेको र गण्डक नहरले समेत छोएको कारण बाढीको समस्या रहेको अर्का स्थानीय हरि चौधरीले बताए। उनले उद्योगपति एवं कांग्रेस नेता चौधरी प्रभावित क्षेत्रको अवलोन गर्दा आफूहरू हर्षित भएको र समस्याको समाधान हुनेमा विश्वस्त रहेको बताए।
‘पहिलो चुनाव जितेर जाने जोकोहीले पनि बाढी समस्या समाधान गर्छु भन्छन्, तर समाधान हुँदैन। अब उद्योगपति विनोद चौधरी आफै अवलोकन गर्न आएपछि पक्कै समाधान हुन्छ भन्ने आसमा छौं,’ चौधरीले भने।
प्रतिनिधि सभा उम्मेदवार चौधरीले त बाढी र डुबानको समस्या समाधान गर्न विषयमा आफू गम्भीर रहेको बताए। बाढी प्रभावित क्षेत्रमा कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार देवकरण कलवार, सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायलगायत पुगेका थिए।