
काठमाडौँ– प्रायः सबै राजनीतिक दलका शीर्ष नेताको हैसियत ठूलो देखिए पनि चुनावी मैदानमा प्रतिस्पर्धीहरुलाई कम आँक्न उनीहरुलाई धौ–धौ परेको देखिन्छ।
प्रायः सबै प्रतिस्पर्धीले अन्तिम दिनसम्म निर्वाचन जित्ने आशा व्यक्त गर्ने गरेता पनि शीर्ष नेताहरु यसपल्ट त्यस मानेमा बढी संयमित देखिएका छन्।
आफ्नो जित सुनिश्चित रहेको घोषणा उनीहरुले गरिसकेका छैनन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसम्मलाई प्रतिस्पर्धीको कडा टक्कर छ।
हेभिवेट नेताको भिडन्त हुने निश्चित भएपछि चुनाव थप गर्माएको छ। कांग्रेस, माओवादी, एमाले, एकीकृत समाजवादीदेखि अन्य साना दलका शीर्ष नेताहरुको भिडन्तले रोचकता बढाएको हो।
२०४८ यता लगातार संसदीय चुनाव जित्दै आएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराबाट चुनाव लड्दै गर्दा उनलाई कांग्रेसकै चुनौती छ, त्योबाहेक स्वतन्त्र उम्मेदवार पनि उठेका छन्।
बीपी कांग्रेसका कर्ण मल्ल तथा स्वतन्त्र उम्मेदवार सागर ढकालले देउवालाई टक्कर दिएका छन्। २०४८, ०५१ र ०५६, ०६४, ०७० र ०७४ को निर्वाचनमा चुनिँदै देउवाले ०४८ यताका सबै निर्वाचन जित्ने नेताका रुपमा रेकर्ड कायम राख्न सफल भएका छन्।
कांग्रेसबाट निकालिएपछि नेपाली कांग्रेस (बी.पी.) तिर लागेका नेता मल्लले यो पटक शेरबहादुर देउवालाई पराजित गर्नुपर्ने मिसन चलाइरहेका छन्। देउवाका लागि गुल्मीका सागर ढकाल पनि चुनौतीका पात्र देखिएका छन्।
पाँच वर्षअघि देउवाले प्रधानमन्त्री रहेकै बोला बीबीसीको साझा सवाल कार्यक्रममा ढकाललाई झपारेका थिए। प्रधानमन्त्री देउवाविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका ढकाल देउवा हराउने अभियानमा छन्।
यता एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनपछि बहुमतसहित सिंहदरबार प्रवेशको योजना बनाइरहेका छन्। झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका ओलीले २०६४ सालको पहिलो संविधानसभाबाहेक सबै चुनाव जितेका छन्।
यो पटक ओलीसँग सत्ता गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र अधिकारी प्रतिस्पर्धामा छन्। ओलीलाई राप्रपा र जसपाको साथ छ भने अधिकारीलाई माओवादी र एकीकृत समाजवादीले साथ दिएका छन्।
ओलीले लगातार सातौं पटक संसदीय चुनाव लड्न लागेका हुन्। २०४८ सालयता लगातार चुनाव लड्दै आएका ओलीले मंसिर ४ को आगामी चुनावमा भारी मतका साथ जित हासिल गर्ने दाबी गरेका छन्।
ओलीले ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. ६ बाट चुनाव लडेका थिए । उक्त तीन वटै निर्वाचनमा ओली निर्वाचित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली पराजित भए । त्यसबेला उक्त क्षेत्र झापा ७ थियो । उक्त निर्वाचनमा माओवादी केन्द्रका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा ओली निर्वाचित भए । निर्वाचन क्षेत्र हेरफेरपछि झापामा ७ बाट ५ वटा क्षेत्र निर्धारण गरिएको थियो। ०७४ को निर्वाचनमा झापा–५ बाट चुनाव लडेका ओलीले सर्वाधिक मत प्राप्त गर्दै जित हासिल गरेका थिए।
उक्त चुनावमा वाम गठबन्धनको उम्मेदवार बनेका ओलीलाई राप्रपाको समेत सहयोग थियो । त्यसबेला ओलीले कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरेका थिए।
यस पटक पनि झापा–५ मा एमालेबाट ओली र गठबन्धनबाट कांग्रेसका खगेन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनाव पेचिलो देखिएको छ। प्रचण्ड अन्तिम समयमा चितवन–३ छोडेर गोरखा–२ पुगेका छन्, जहाँ नेकपा एमालेका अब्दुस मियाँले प्रचण्डलाई चुनौती दिएका छन्।
चितवनमा चुनाव हार्ने अवस्था देखेपछि प्रचण्ड गोरखा गएका हुन्। गोरखा–२ मा प्रचण्डलाई टक्कर दिनका लागि एमालेले युवा उम्मेदवार मियाँलाई मैदानमा उतारेको छ। केही समयअघि मात्रै एमाले प्रवेश गरेका मियाँले प्रचण्डलाई गोरखामा राम्रै टक्कर दिन सक्ने देखिएको छ।
एमाले उमेदवार मियाँले प्रचण्डलाई भगौडाको संज्ञा दिएका छन्। कुनै पनि ठाउँमा नटिक्ने र चुनाव जित्नकै लागि निर्वाचन क्षेत्र फेर्दै हिँड्ने प्रचण्डलाई यस पटक जसरी पनि गोरखाबाट बिदा गरिने भन्दै उनी प्रचण्डविरुद्ध खनिएका छन्।
हरेकजसो चुनावमा निर्वाचन क्षेत्र फेर्दै हिँडेका प्रचण्डले जनताको मागअनुसार चुनाव लड्न खोजेको भन्दै बचाउ गरेका छन्।
इलाम क्षेत्र नं. १ मा झलनाथ खनालको प्रतिस्पर्धा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुने पक्का भएको छ।
उनी २०४८ देखिका निर्वाचनमध्ये २०५६ मा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग बाहेक सबैमा विजयी भएका छन्।
एमालेको गढका रुपमा रहेको यो क्षेत्रमा चुनावी भिडन्त रोचक हुने देखिन्छ। गत स्थानीय चुनावमा एमालेले २६ हजार २३३, कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जसपा १ हजार ८२९, माओवादीले १ हजार २३५, राप्रपाले १ हजार १६९ मत पाएका छन्।
अर्को रोचक भिडन्त हुने क्षेत्र हो झापा–३, जहाँ एमालेको समर्थनमा उम्मेदवारी दिएका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच दोस्रो पटक भिडन्त हुन लागेको हो।
गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले २५ हजार ९४९, राप्रपाले २१ हजार १५९, एमालेले २१ हजार ८५, माओवादीले ६ हजार ६८८ मत पाएका छन्।
यस्तै झापा–१ मा नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेलबीच पनि रोचक भिडन्त हुने भएको छ।
लगातार दुई वटा संसदीय चुनावमा पराजित शर्मा तेस्रो प्रयासमा जित निकाल्ने दाउमा हुँदा खरेल पनि राप्रपाको साथ र समर्थनमा जित्ने रणनीतिमा छन्।
स्थानीय तह चुनावमा एमालेले ३१ हजारर २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५ मत पाएका छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य बसन्त नेम्वाङ र नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेबीच फेरि प्रतिस्पर्धा हुँदैछ।
एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रदेश–१ का पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शेरधन राई र माओवादी नेता सुदन किराँतीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ। २०६४ मा राईलाई हराएका किराँती २०७० मा राईसँगै पराजित भएका थिए।
अघिल्लो संसदीय चुनावमा करिब १० हजार मतान्तरले पराजित कांग्रेसका पूर्वसहमहामन्त्री सुनिल थापाको फेरि एमालेका राजेन्द्र राईसँग प्रतिस्पर्धा हुँदैछ।
हेविवेट भिडन्तका कारण मोरङ–६पनि चर्चामा छ। अघिल्लो चुनावमा ६ सय ७५ को झिनो मतान्तरले पराजित कांग्रेस नेता शेखर कोइराला यो पटक एमालेका लालबाबु पण्डितसँग बदला लिने रणनीतिमा छन्।
स्थानीय तह निर्वाचनमा कांग्रेस २७ हजार ८६, एमालेले २४ हजार ५ सय ५६, माओवादीले ४ हजार ९ सय ९६, जसपा ३ हजार ९३९, राप्रपा ३ हजार ११५, नेकपा एकीकृत समाजवादीले २ हजार ३५५, लोसपाले ८९५ मत पाएका छन्।
यस्तै मोरङ–२ मा कांग्रेस नेत्री सुजाता कोइराला र एमाले नेता ऋषिकेश पोखरेलबीचको भिडन्त पनि रोचक हुने देखिएको छ।
यस्तै मोरङ–३ मा एमालेका भानुभक्त ढकाल, कांग्रेसका सुनिल शर्मा र राप्रपाकी रेखा थापाबीचको प्रतिस्पर्धा पनि रोचक हुने देखिएको छ।
सिन्धुपाल्चोक–२ मा दुई पूर्वमन्त्रीबीचको भिडन्त पनि रोचक हुने भएको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेका नेता मोहन बस्नेत र पूर्वमन्त्री एवं नेकपा एमालेका नेता शेरबहादुर तामाङबीच प्रतिस्पर्धा हुँदैछ।
नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उद्योगपति विनोद चौधरी र हृदेयश त्रिपाठी चुनावी मैदानमा उत्रिएका छन्। चौधरी सत्ता गठबन्धनको उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् भने त्रिपाठी केही महिनाअघि आफैले दर्ता गरेको नयाँ दल जनता प्रगतिशिल पार्टी (जप्रपा) बाट चुनावी मैदानमा उत्रिएका हुन्।
चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन्।
चौधरी चुनाव लड्न लागेको क्षेत्र पूर्वमन्त्रीसमेत रहेका त्रिपाठीको गृह क्षेत्र हो। २०४८ सालदेखि लगातार भएका ६ वटा निर्वाचनमध्ये त्रिपाठीले ५ वटा निर्वाचन जितेका छन्। २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा मात्र त्रिपाठी नेपाली कांग्रेसका देवकरण जयसवालसँग ६ हजार मतान्तरले पराजित भएका थिए।
त्रिपाठी २०७४ को चुनावमा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
एउटा मात्रै संघीय चुनाव क्षेत्र रहेको लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा हुँदैछ। पाँच दलीय सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई अघि सारेको छ भने एमालेले पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई।
पार्टी र राष्ट्रिय राजनीतिमा पद र शक्तिको स्वाद चाखिसकेका दुई नेतालाई अहिले एकै पदको लागि लडाइ गर्नुपर्ने अवस्थामा ल्याइदिइएको छ।
दुईमध्ये एकको हार निश्चित भएकाले हार्ने हेभिवेट नेताले के गर्लान्? सबैको चासो छ, तर अहिले दुवै नेता हार शब्द सुन्न चाहँदैनन्।
काठमाडौँका १० वटा संघीय निर्वाचन क्षेत्रमध्ये अधिकांशमा हेभिवेट प्रतिस्पर्धा हुँदैछ।
क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रवीन्द्र मिश्रबीच भिडन्त हुँदा २ मा सत्ता गठबन्धनको समर्थनमा माओवादीकी ओनसरी घर्ती उठ्दा एमालेबाट मणिराम फुँयाल चुनाव लड्दैछन्।
क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका राजन भट्टराईबीच भिडन्त हुँदा ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुँदैछ।
नेताहरुले प्रतिस्पर्धी दलका हेभिवेटसँग चुनावी भिडन्तको तयारी गर्दैगर्दा तनहुँ–१ बाट संघीय चुनाव लड्ने पक्का गरेका कांग्रेस नेता रामचन्द्र पौडेललाई भने आफ्नै पार्टीका नेता गोविन्दराज जोशीले टक्कर दिएका छन्।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र नेकपा एमालेका सूर्य थापाबीच प्रतिस्पर्धा हुँदैछ।
अधिकांश हेभिवेट नेताहरुले रहरले भन्दा पनि बाध्यताले शीर्ष नेताको छवि बनाएका प्रतिस्पर्धिसँग लड्नु परेको प्रतिक्रिया दिएका छन्।