काठमाडौँ – कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगले बेवास्ता गरेको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।
महतले निर्वाचन आचारसंहिताको खिलाफमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको बताए।
प्रवक्ता महतले भने, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु कि जुन आचारसंहिता बनाउनुभएको छ। त्यसको हामीले अक्षरशः पालना गरेका छौं। तर, जहाँ खुलेआम कुनै पनि बेला गर्न नमिल्ने संस्थाहरूको प्रयोग गरेर दुरुपयोग एमालेले गरेको जगजाहेर छ। निर्वाचन आचारसंहिताको खिलाफमा प्रलोभन दिने, विभिन्न संस्थालाई दुरुपयोग गर्ने जुन प्रवृत्ति छ। त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्। र, कारबाही गरोस् भनेर निर्वाचन आयोगसँग माग गर्न चाहन्छु।’

भर्खरै
लोकप्रिय






































































































































































































