काठमाडौँ – सुर्खेतमा भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–१२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ज्यामिरेमा मतदान केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो।
कुल २ हजार ५ सय ७९ मतदाता रहेको गुर्भाकोटमा निर्वाचन सम्पन्न गर्न ३ वटा मतदान केन्द्र बनाइएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ज्यामिरे केन्द्र (ख) का मतदान अधिकृत राजेन्द्र पौडेलले बताए।
उनले निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, किरियापुत्री, शारीरिक अशक्ततामैत्री बनाएको बताए।
उनले भने, ‘सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, ज्यामिरे केन्द्र (ख) मा छौँ। हामीले भोलिको निर्वाचनको लागि सम्पूर्ण तयारी गरिसकेका छाँै। २,५७९ मतदाता, ३ वटा मतदान केन्द्र, हामीले मतदान स्थल रोगी, वृद्धवृद्धा, गर्भवती, किरियापुत्री, शारीरिक अशक्ततामैत्री बनाएका छौँ।’
निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यता, गृह मन्त्रालयले पनि निर्वाचनको सबै तयारी सकिसकेको र निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष एवं विश्वसनीय बनाउन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































