
पोखरा- बाग्लुङका दुई हेभिवेट नेताले प्रतिनिधि सभाको यात्रा निश्चित गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका सचिव समेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका हुन् । यी दुवै पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् ।
बाग्लुङ १ मा नेकपा एमालेका डा. सूर्य पाठकलाई केसीले २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । केसीले २१ हजार ४५१ मत ल्याएका छन् ।
एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । यो क्षेत्रमा १ मा ५४ हजार ७११ मत खसेको थियो । २०७४ मा विजयी पाठकलाई ८१ वर्षे केसीले ब्रेक लगाइदिएका छन् ।
१५ वर्षपछि चुनावी मैदानमा होमिएका केसीले प्रतिनिधिसभामा जनमोर्चाको विउ जोगाएका छन् ।
यो उनको चौथो संसदीय यात्रा हो ।
२०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसीले २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।
बाग्लुङ २ मा मा माओवादी केन्द्रका पौडेलले नेकपा एमालेको उम्मेदवार मन्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा तय गरेका छन् ।
पौडेलले २४ हजार ७७९ मत ल्याएर विजयी हुँदा एमालेकी शर्माले २० हजार १ सय ८० मत ल्याएकी छिन् ।
यो क्षेत्रमा ५१ हजार १३५ मत खसेको थियो । बाग्लुङको २ प्रतिनिधि सभा र ४ प्रदेशसभामा नेकपा एमाले क्लिनस्विप भएको छ ।
बागलुङ १ ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरेका छन् ।
थापाले १३ हजार ८८४ र केसीले १२ हजार ४०५ मत पाए ।
प्रदेश ‘ख’ मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए ।
सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरे ।
सुवेदीले १३ हजार ३२७ मत ल्याउँदा पौडेलले ७ हजार २५२ मत पाए ।
बाग्लुङ २ ‘क’ मा कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचन विजयी भए ।
शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई ३ हजार १०० मतान्तरले पराजित गरेका हुन् ।
शेरचनले १५ हजार १०८ र घर्तीले १२ हजार ८ मत पाए । बाग्लुङ २ ‘ख’ मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी भए ।
कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले ८ हजार ६७१ मत पाएका छन् ।
२०७४ मा यहाँ वाम गठबन्धन हुँदा नेपाली कांग्रेस क्लिनस्विप भएको थियो । प्रतिनिधि सभामा एमाले र माओवादीले १/१ सिट जितेका थिए । प्रदेश सभामा जनमोर्चाले २, एमाले र माओवादीले १/१ सिट जितेका थिए ।