पोखरा– कक्षा ७ मा पढ्ने बेला नै राजनीतिमा होमिएकी थिइन् विद्या भट्टराई। अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट खारिएकी भट्टराई अनेमसंघको नेत्री भइन्। २०५५ सालमा रवीन्द्र अधिकारीसँग दाम्पत्य जीवनमा बाँधिएपछि भने उनी राजनीतिको फ्रन्टलाइनबाट अलग्गिइन्। श्रीमान् रवीन्द्रको राजनीतिलाई उभार ल्याउन खम्बा बनेकी भट्टराई गुमनाम भएर घरगृहस्थी सम्हाल्न थालिन्। राजनीतिलाई बिर्सेर विद्या प्राध्यापनमा रमाइरहेकी थिइन्।
अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट खारिएका रवीन्द्र पनि नेपाली राजनीतिमा स्थापित भइसकेका थिए। उनले २०६४, २०७० र २०७४ सालमा भएको निर्वाचनमा कास्की २ बाट निर्वाचित भएर ह्याट्रिकको रेकर्ड बनाए। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भएको बखत २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर अधिकारी सदाका लागि अस्ताए।
अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुने भयो। २०७६ मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा सुरुमा तत्कालीन नेकपा नेता वामदेव गौतम उम्मेदवार बन्ने चर्चा चल्यो। उपनिर्वाचनमा लड्न चाहने आकांक्षीको सूची लामै थियो। रवीन्द्रका सहपाठीदेखि नेकपा कास्कीका नेताहरु कास्की–२ बाट लड्न चाहन्थे। अन्ततः रवीन्द्र पत्नी विद्या भट्टराईलाई पार्टीले उपनिर्वाचनमा उठायो।
सहधर्मीलाई गुमाएको पीडामा रहेकी विद्याले प्राध्यापनबाट राजीनामा दिएर निर्वाचन लडिन्। निर्वाचनको परिणाम पनि उनको पक्षमा आयो। नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तर पराजित गर्दै उनको संसदमा डेब्यु भयो। सक्रिय राजनीतिबाट अलग्गिएको दुई दशकपछि उपनिर्वाचनमा होमिएकी विद्याको जितलाई धेरैले अर्थ्याए, ‘रवीन्द्रको विरासतमा विद्या निर्वाचित भइन्।’ रवीन्द्रको सहानुभूति मतले विद्या निर्वाचित भएको चर्चा नभएको पनि होइन।
तीन वर्षपछि गत मंसिर ४ गते भएको आम निर्वाचनमा कास्की–२ बाट विद्या भट्टराई फेरि निर्वाचित भएकी छन्। घटनाक्रमले संसद छिरेकी विद्या यसपालि एमफिल गर्न चाहन्थिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले कर गरेर टिकट थमाएपछि चुनाव लडेकी भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तर पराजित गरिन्। भट्टराईले १६ हजार ९९८ मत ल्याउँदा कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल भए। पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एकीकृत समाजवादी पार्टीका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए।
उपनिर्वाचनमा जस्तै अहिले पनि ‘रवीन्द्रको विरासतमा जितेकी विद्या’, ‘रवीन्द्रको विरासत जोगाएकी विद्या’ भनेर उनको चर्चा गरिन्छ। दोस्रो पटक संसदीय निर्वाचनमा जनमत बटुल्दै निर्वाचित भएकी विद्याको राजनीतिक पहिचानमा अझै स्वर्गीय पति रवीन्द्रको विरासत जोडिन्छ। विद्या भने रवीन्द्रसँग जोडेर दिइने उनको पहिचानलाई थाती राखेर आफ्नै पहिचान होस् चाहन्छिन्। विरासतको राजनीति नभएर आफ्नो क्षमता र क्रियाशिलताले पहिचान बदल्नुपर्ने उनको तर्क छ।
‘मेरो परिचयको सुरु नै कहाँबाट हुन्छ भन्दा रविन्द्र अधिकारीको धर्मपत्नी। त्यो एउटा परिचय हो, म अस्विकार गर्दिनँ। आज जनताले मलाई म्यान्डेड दिइसकेका छन्। विद्या भट्टराई एउटा जनप्रतिनिधि भएर जनताको म्यान्डेड पाइसकेको छु’, उनले भनिन्, ‘मेरो पारिवारिक विरासतका लागि त्यो परिचय आज पनि म गर्व गरेर स्वीकार गर्छु। तर, राजनीतिक हिसाबले मेरो परिचय त्यति मात्रै होइन भन्ने लाग्छ।’
बुधबार नेकपा एमालेले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आफू एउटा घटनाले संसदमा आएको तर राजनीतिमा घटनाले नआएको उनले सुनाइन्। रवीन्द्र अधिकारीको विरासतबाट लाभ नलिएको भट्टराइको दाबी छ। ‘जिवनसाथी सहधर्मीलाई गुमाउँदाको पीडासँगै संसदीय राजनीतिमा आउने कुरा एउटा पक्ष रहन्छ। अबको मेरो परिचय त्यो पहिलो बन्दैन। त्यो मेरो दोस्रो परिचय हो’, उनले भनिन्।