
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन्।
रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको उम्मेदवारहरुले बिहीबार असन्तुष्टि जनाएका हुन्।
समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन्।
असन्तुष्ट कार्यकर्ताले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन्। धर्नामा सहभागी एक कार्यकर्ताले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरू चयन हुनुपर्ने बताए।
बन्दसूची मिच्न नपाइने भन्दै ध्यानाकर्षण गराएको असन्तुष्ट कार्यकर्ताहरुको भनाई छ।
कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिचिने हो कि भन्नेमा शंका लागेको बताएका छन्। समानुपातिकको सूचीमा परेकी इन्दिरा राना मगरले नेतृत्वले बन्दसूची मिच्न नहुने बताईन्। उनले देश सञ्चारसँग भनिन्,‘संविधान र कानुनको पालना गर्दै सभापति ज्यू लगायत शीर्ष नेताहरुले समानुपातिकतर्फका सांसद छान्नुहुन्छ भन्ने मलाई विश्वास छ।’