
विषयप्रवेश
वेदको अर्थ बुझ्न वेदका छओटा अङ्गमध्ये व्याकरण अत्यावश्यक हुन्छ । तथापि केवल व्याकरणका आधारमा मात्रैचाहिँ वेदको अर्थ राम्ररी बुझ्न सकिँदैन । अन्य वेदाङ्गहरूको र मीमांसाशास्त्रको समेत सहायता उत्तिकै चाहिन्छ । तसर्थ वेदको अर्थ बुझ्न वेदाङ्ग, मीमांसा र वेदका प्राचीन व्याख्याहरूको आधार लिनुपर्ने देखिन्छ । वेदाङ्गहरूको उपादेयताका विषयमा तलको उक्ति प्रसिद्ध छ–
छन्दः पादौ वेदस्य हस्तौ कल्पोऽथ पठ्यते ।
ज्योतिषामयनं चक्षुर् निरुक्तं श्रोत्रमुच्यते ।।
शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम् ।
तस्मात् साङ्गमधीत्यैव ब्रह्मलोके महीयते ।।
अर्थात्– वेदपुरुषका दुई पाउ छन्दःशास्त्र भनिन्छ, दुई हात कल्पशास्त्र भनिन्छ, दुई आँखा ज्योतिषशास्त्र र दुई कान निरुक्तशास्त्र भनिन्छन् । वेदपुरुषको नाक शिक्षाशास्त्र भनिन्छ र मुख व्याकरणशास्त्र मानिन्छ । त्यसैले ६ ओटै अङ्गहरूले सहित वेद पढेर नै वेद पढ्ने व्यक्ति ब्रह्मलोकमा अथवा ब्राह्मणसमाजमा पूज्य हुन्छ । उक्त दुई श्लोक पाणिनीयशिक्षामा (४१–४२) र अन्यत्र पनि उल्लिखित छन् । २०७९।१०।८ मितिमा यसै देशसञ्चार अनलाइन पत्रिकामा प्रकाशित पाणिनीय व्याकरण र कौण्डिन्न्यायनशिक्क्षा भन्ने लेखमा “कौण्डिन्न्यायनशिक्क्षामा वैदिक सन्धिका विषयमा पाणिनिका सूत्रका कतिपय स्थलमा रहेका अस्पष्टता र कात्यायन तथा पतञ्जलिका व्याख्यानमा रहेका न्यूनताहरूको निर्देश गरी तिनको विवेचना र स्पष्टीकरण गरिएको छ” भन्ने उल्लेख गरिएको थियो । यस लेखमा त्यही विषयको उदाहरणसहित सङ्क्षिप्त विवेचना गरिन्छ ।
पाणिनीय व्याकरण
पाणिनीय व्याकरणले वेदका भाषालाई वा प्रयोगलाई समेत समेट्ने हुनाले यो व्याकरण वेदाङ्गका रूपमा सर्वमान्य छ । पाणिनिका अष्टाध्यायीमा जम्मा ४००० भन्दा केही कम सूत्रहरू छन् । कात्यायनको वार्त्तिकद्वारा र पतञ्जलिको (महा)भाष्यद्वारा अष्टाध्यायीको समालोचनात्मक व्याख्या भएको छ ।
पश्चिममा भाषाविज्ञानको विकास हुनमा पनि पश्चिमाहरूले गरेको पाणिनीय व्याकरणको अध्ययन कारण बनेको बताइन्छ । कतिपय गणितका सूत्रहरू पनि पाणिनिका अष्टाध्यायीका आधारमा पश्चिमाहरूले बनाएका छन् ।
कौण्डिन्न्यायनशिक्क्षाकारबाट चाहिँ केही स्थलमा पाणिनिको प्रतिपादन ठिक र पतञ्जलिको प्रतिपादन त्रुटिपूर्ण भनेर स्पष्ट गरिएको छ । केही स्थलमा पाणिनिका नियम अपूर्ण छन् भने कतै कात्यायनका वार्त्तिकमा र पतञ्जलिका भाष्यमा गरिएका स्पष्टीकरण तथा व्याख्या अपूर्ण छन् भन्ने कुरा पनि कौण्डिन्न्यायनशिक्क्षामा प्रतिपादन गरिएको छ ।
कात्यायनका वार्त्तिकहरूले पाणिनिका सूत्रमा रहेका कमीलाई पूरा गर्ने, नमिल्दा कुरालाई मिलाउने र नभए पनि हुने सूत्रलाई यो सूत्र त नभए पनि हुन्छ भनेर स्पष्ट पार्ने इत्यादि काम गरेका छन् । पतञ्जलिको भाष्यले विशेष रूपमा विचारणीय सूत्रहरूको र वार्त्तिकहरूको व्याख्या र समीक्षा गरेको छ । पाणिनिले ठिकै भनेका हुनाले कात्यायनको वार्त्तिक यहाँ अनावश्यक हो, सूत्र र वार्त्तिक दुवैबाट पनि यहाँ यो कुरा अझै स्पष्ट हुँदैन इत्यादि भनेर भाष्यले सूत्र र वार्त्तिकको विभिन्न दृष्टिकोणले विवेचना र समालोचना गरेको छ । त्यसैले “यथोत्तरं प्रामाण्यं मुनीनाम्” अर्थात् यी तीन मुनि(त्रि-मुनि)मध्ये पछिल्ला-पछिल्लाका कुरा परिष्कृत हुनाले प्रामाणिक हुन् भन्ने भनाइ व्याकरणका क्षेत्रमा वैयाकरणहरूमा प्रसिद्ध छ । यसको तात्पर्य पाणिनिले भनेकोभन्दा कात्यायनले भनेको प्रामाणिक र ती दुवैले भनेकोभन्दा पतञ्जलिले भनेको प्रामाणिक मानिन्छ भन्ने हो । सूत्रकारको भन्दा भाष्यकारको प्रामाण्य हुन्छ भन्ने यो भनाइ धर्मशास्त्रमा भने लागू हुँदैन ।
पतञ्जलिभन्दा पछिका व्याकरणका विद्वान्हरूले सूत्र, वार्त्तिक र भाष्य यी तीनोटै ग्रन्थको गम्भीर रूपमा अध्ययन गरेर तिनको समीक्षा गरेको र नयाँ तथ्य अगाडि ल्याएको खासै देखिँदैन । त्यसमा पनि वैदिक अध्ययनमा पछिपछिका वैयाकरणहरू कमजोर हुँदै गएकाले वैदिक प्रयोगका विषयमा उनीहरूले समालोचना गर्नै नसक्ने स्थिति पनि आएको उनीहरूका ग्रन्थबाटै बुझिन्छ ।
यस्ता परिस्थितिमा छओटै वेदाङ्गहरूको तथा मीमांसा (पूर्वमीमांसा वा धर्ममीमांसा र उत्तरमीमांसा वा ब्रह्ममीमांसा) उपाङ्गको पनि समूल अध्ययन गरेर तिनको सहायताले वेदको अर्थ, प्रयोग र रहस्य बुझ्नका निम्ति हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायन (१९९७–२०७४) ले आजीवन वैदिक शास्त्रहरूको गम्भीर रूपले अध्ययन गरेर विद्याका विभिन्न विधामा महत्त्वपूर्ण ग्रन्थहरू रच्नुभएको छ, जुन संस्कृत वाङ्मयको इतिहासमा अद्वितीय कार्य देखिन्छ । एउटै व्यक्तिले यति धेरै शास्त्र पढेर शास्त्रका विभिन्न विधामा गहन ग्रन्थहरू रचेको दोस्रो व्यक्ति संस्कृत वाङ्मयका इतिहासमा देखिँदैन । उहाँले शिक्षाशास्त्र, व्याकरण, वेदाङ्गज्योतिष, कोष, वैदिक यज्ञ, स्मार्त कर्मकाण्ड, धर्मशास्त्र, वेदान्त, पुराण, काव्यशास्त्र, समालोचना, भाषाशास्त्र इत्यादि विभिन्न विधामा कलम चलाउनुभएको छ ।
यसै सिलसिलामा पाणिनि, कात्यायन र पतञ्जलिका ग्रन्थमा केही अस्पष्टता र अपूर्णता अझै पनि बाँकी रहेको कुरालाई समेत उहाँले विवेचनात्मक रूपमा अगाडि ल्याउनुभएको छ । साथै अष्टाध्यायीमा आवश्यक वार्त्तिक, इष्टि, गणपाठ रचान्द्र व्याकरण-कातन्त्रव्याकरण इत्यादि अन्य व्याकरणका आवश्यक विषयहरूसमेत समावेश गरेर अष्टाध्यायीको परिष्कृत अभ्यसनीय ६००० भन्दा बढी सूत्र (सूत्र, वार्त्तिक र इष्टिसमेत गरेर) भएको पाठको सम्पादन पनि गर्नुभएको छ ।
कौण्डिन्न्यायनशिक्क्षामा पाणिनीय व्याकरणको समालोचना
पिताजीले रचना गर्नुभएका कौण्डिन्न्यायनशिक्क्षामा (२०४९) पाणिनीय व्याकरणमा परेको शिक्षाशास्त्रको विषय पदान्त-पदादिसन्धिका नियमहरूको सूक्ष्म रूपले विश्लेषण गरी सन्धिका विषयमा मिहिन रूपमा विवेचना गरिएको छ र केही स्थानमा पाणिनि, कात्यायन र पतञ्जलिका अपूर्णता पनि देखाइएको छ । ती सबैको यहाँ व्याख्या गर्न सम्भव नभएकाले उदाहरणका निम्ति केही विवेचना गरिन्छ ।
पाणिनिले सन्धिप्रकरणमा पढेका “एङः पदान्तादति” (६।१।१०५) सूत्रले “पदका अन्तमा रहेका ए-ओ-देखि पर अकार हुँदा अगाडि र पछाडिका अक्षरका स्थानमा पूर्वरूप (ए वा ओ) एकादेश (एउटै मात्र वर्ण हुने आदेश) हुन्छ” भनेको छ । जस्तै– अग्ने+अत्र=अग्नेऽत्र (अग्नेत्र), वायो+अत्र=वायोऽत्र (वायोत्र) इत्यादि । यहाँ ए र अ-का ठाउँमा ए तथा ओ र अ-का ठाउँमा ओ भएको छ । यसै सन्दर्भमा वेदका उदाहरणहरूलाई समेट्नका निम्ति अल्लि पछाडि “प्रकृत्याऽन्तःपादमव्यपरे” (६।१।११५) इत्यादि सूत्र पाणिनिले बनाएका छन् । यसको अर्थ– “वेदका ऋचाका पाउका माझमा रहेका ए-ओ-देखि पर अकार हुँदा प्रकृतिभाव हुन्छ अर्थात् विकार हुँदैन, यदि अ-देखि लगत्तै पछाडि वकार अथवा यकार छैन भने” भन्ने हो । जस्तै– ते अग्रे अश्वमायुञ्जन्, ते अस्मिन्जवमादधुः, उपप्रयन्तो अध्वरम्, अध्वर्यो अद्रिभिःसुतम् इत्यादि । उक्त प्रयोगहरूमा सन्धिकार्य (ए+अ=ए, ओ+अ=ओ) भएको छैन । तर ऋग्वेदसंहिता, तैत्तिरीयसंहिता, शुक्लयजुर्वेदसंहिता, सामवेदसंहिता र अथर्ववेदसंहितामा उक्त पाणिनीय सूत्रले प्रकृतिभाव हुन्छ (दुई स्वरहरूका बिचमा सन्धिकार्य नभएर जस्ताको तस्तै रहन्छ) भनेर निर्दिष्ट गरेका स्थलहरूमा पनि प्रकृतिभाव नभएको र सूत्रले निर्दिष्ट नगरेका स्थलहरूमा पनि प्रकृतिभाव भएको कुरा उदाहरणसहित कौण्डिन्न्यायनशिक्क्षामा प्रातिशाख्यका सूत्रहरूको समेत उल्लेख गर्दै स्पष्ट पारिएको छ । जस्तै– “गावोऽभितोऽनवन्त” (ऋग्वेद ५।३०।१०) इत्यादि । यहाँ पाणिनिको सूत्रअनुसार त सन्धिकार्य नभएर “गावो अभितो अनवन्त” हुनुपर्थ्यो, तर वेदमा सन्धिकार्य भई पूर्वरूप भएको नै पाइएको छ । यस्ता उदाहरण अरू पनि थुप्रै छन् । यसरी यहाँ सूत्रले पूर्वरूप नहुने भनेका ठाउँमा पनि पूर्वरूप नै भएका उदाहरण पाइएका छन् । यसप्रकार यस सूत्रले नसमेट्नुपर्ने प्रयोगलाई पनि समेटेको छ । त्यसैले यहाँ सूत्रको अतिव्याप्ति छ ।
त्यसै गरी समेट्नुपर्ने प्रयोगलाई नसमेटेको पनि देखिन्छ । जस्तै– “पुत्त्रो अन्यः” (ऋग्वेद ७।१०३।३) इत्यादि । यहाँ “अन्यः” पद दोस्रो पाउका प्रारम्भमा भएकाले पाणिनिको उक्त सूत्र लागू हुँदैन । त्यसैले यहाँ पाणिनिको “एङः पदान्तादति” (६।१।१०५) सूत्रअनुसार नै सन्धिकार्य भएर “पुत्त्रोऽन्यः” हुनुपर्थ्यो, तर वेदमा सन्धिकार्य नभई प्रकृतिभाव भएको नै पाइएको छ । यस्ता उदाहरण अरू पनि थुप्रै छन् । यसरी यहाँ सूत्रले पूर्वरूप हुने भनेका ठाउँमा पनि पूर्वरूप नै नभएका उदाहरण पाइएका छन् । यसप्रकार उक्त सूत्रले समेट्नुपर्ने प्रयोगलाई पनि समेटेको छैन । त्यसैले यहाँ सूत्रको अव्याप्ति देखिन्छ ।
“माता भूमिः पुत्रो अहं पृथिव्याः (“पुत्रोऽहं” हैन, शौनकीय अथर्ववेद १२।१।१२), ऋचो अक्षरे परमे व्योमन् (“ऋचोऽक्षरे” हैन, ऋग्वेद १।१६४।३९), चत्वारि शृङ्गा त्रयो अस्य पादाः” (“त्रयोऽस्य” हैन, ऋग्वेद ४।५८।३) इत्यादिमा पनि प्रकृतिभाव हुन्छ, सन्धिकार्य भई पूर्वरूप हुँदैन ।
यसरी पाणिनिको उक्त सूत्र अव्याप्ति र अतिव्याप्ति दोषले युक्त हुँदा पनि न त कात्यायनले वार्त्तिक बनाएर त्यसको संशोधन गरे, न त पतञ्जलिले नै भाष्यमा त्यसको परिष्कार गरे । यस स्थितिमा पिताजीले कौण्डिन्न्यायनशिक्क्षामा ६ ओटा श्लोकले पाणिनीय व्याकरणको यस विषयको परिष्कार गर्नुभएको छ ।त्यहाँ तिनै ६ ओटा श्लोकको व्याख्यामा उक्त विषयको विस्तृत विवेचना गर्दै चारै वेदका प्रातिशाख्यका सूत्रहरूको उद्धरण गरेर तिनका थुप्रै वैदिक उदाहरणसमेत दिएर (पृ.६४१–६५३) पतञ्जलिका भाष्यले गर्नुपर्ने तर नगरेको काम गर्नुभएको छ ।
स्वरको अर्थात् अ इ उ इत्यादि वर्णको उच्चारण गर्दा उदात्त (तीखो) अनुदात्त (कोमल) वा स्वरित (मध्यम) रूपमा तिनको उच्चारण गरिन्छ । स्वरका यी धर्म वा गुणलाई पनि स्वर नै भन्दछन् । विशेष गरी वेदको उच्चारण उदात्त अनुदात्त र स्वरित कण्ठस्वर मिलाएर गर्नुपर्छ । अघिल्लो पदको अन्तिम स्वर उदात्त छ र पछिल्लो पदको आदिको स्वर अनुदात्त छ भने तिनका बिचमा सन्धिकार्य भईसकेपछि बनेको एउटा वर्णमा कुन स्वर हुन्छ भन्ने विषयमा विभिन्न वेदमा फरकफरक स्थिति भएको उल्लेख प्रातिशाख्यहरूको अध्ययनबाट स्पष्ट बुझिन्छ । धेरैजसो ठाउँमा त्यस्तो वर्ण स्वरित हुने र कतैकतै चाहिँ उदात्त हुने वस्तुस्थिति देखिन्छ । यस्तालाई व्यवस्थित विकल्प भन्दछन् ।अर्थात् कुनै निश्चित स्थानमा एकथोक हुने, कुनै निश्चित स्थानमा अर्कोथोक हुने, तर एकै ठाउँमा विकल्पले दुवैथोकचाहिँ नहुने विकल्पलाई शास्त्रमा व्यवस्थित विकल्प भन्दछन् । वेदका सबै शाखाका व्यवस्थालाई समेट्ने गरेर पाणिनिले अष्टाध्यायीमा नियम देखाएका हुनाले धेरै स्थलमा विकल्प मान्नुपर्ने अवस्था हुन्छ । शुक्लयजुर्वेदप्रातिशाख्यको सबैले बुझ्ने यो व्याख्या हेरौँ–
प्रत्ययसवर्णं मुदि शाकटायनः ।३।९।
शाकटायन आचार्यका मतमा शकार, षकार र सकार पर हुँदा विसर्ग परवर्ती वर्णको सवर्ण (पछाडि जुन वर्ण छ त्यही वर्ण)हुन जान्छ । जस्तै– आशुः शिशानः=आशुश्शिशानः (शु.वे.काण्वसंहिता १८।३३), अदितिः षोडशाक्षरेण=अदितिष्षोडशाक्षरेण (१०।४३), वः सविता= वस्सविता (१।१) । यो नियम शुक्लयजुर्वेदको काण्वशाखामा मात्र लागू हुन्छ, माध्यन्दिनीयशाखामा लागू हुँदैन ।
अविकारं शाकल्यः शषसेषु ।३।१०।
शुक्लयजुर्वेदको माध्यन्दिनीयशाखामा चाहिँशाकल्य आचार्यका मतअनुसार शकार, षकार र सकार पर हुँदा विसर्गको परसवर्ण हुँदैन अर्थात् कुनै विकार हुँदैन । जस्तै– आशुः शिशानः= आशुः शिशानः (शु.वे.माध्यन्दिनीयसंहिता १७।३३), अदितिः षोडशाक्षरेण= अदितिः षोडशाक्षरेण (९।३४), वः सविता= वः सविता (१।१) । यो नियम शुक्लयजुर्वेदको काण्वशाखामा चाहिँ लागू हुँदैन ।
पाणिनीय व्याकरणले चाहिँ संस्कृत भाषामा उक्त दुवैथरी प्रयोगलाई समेट्दछ र छन्दःशास्त्र छन्दश्शास्त्र इत्यादि दुवैथरी प्रयोग शुद्ध हुन् भन्दछ । पाणिनिको “वा शरि” (८।३।३६) सूत्रअनुसार– “बालकः शेते बालकश्शेते, बालकाः षट् बालकाष्षट्, सर्पः सर्पति सर्पस्सर्पति” इत्यादि दुवैथरी प्रयोग संस्कृत भाषामा मान्य छन् । सबै वेदशाखाका व्यवस्थालाई र सबै स्थानका प्रयोगलाई संस्कृत व्याकरणले समेट्नुपर्ने हुनाले यसले धेरैथरी विकल्प मानेको हो ।
पतञ्जलिभन्दा पछिका व्याकरणका विद्वान्हरूले सूत्र, वार्त्तिक र भाष्य यी तीनोटै ग्रन्थको गम्भीर रूपमा अध्ययन गरेर तिनको समीक्षा गरेको र नयाँ तथ्य अगाडि ल्याएको खासै देखिँदैन । त्यसमा पनि वैदिक अध्ययनमा पछिपछिका वैयाकरणहरू कमजोर हुँदै गएकाले वैदिक प्रयोगका विषयमा उनीहरूले समालोचना गर्नै नसक्ने स्थिति पनि आएको उनीहरूका ग्रन्थबाटै बुझिन्छ ।
संस्कृतमा एउटै रूपलाई मात्र मान्यता दिइएको छ भन्ने ठानी नेपालीमा पनि एकरूपता र मानकीकरण गर्नुपर्छ भन्ने गरिन्छ । तर यस्तो भनाइ वस्तुस्थितिअनुरूप पनि छैन, लोकहितका निम्ति अनुकूल ठिक कुरा पनि हैन भन्ने बुझ्न-बुझाउन पर्ने देखिन्छ । अतः नेपालीमा पनि विभिन्न वैकल्पिक रूपहरूलाई मान्यता दिन आवश्यक छ ।
विसर्गदेखि श-ष-स पर हुँदा विसर्गको लोप हुँदैन, कि परसवर्ण (पछाडि जुन वर्ण छ त्यही वर्ण) हुन्छ कि प्रकृतिभाव (जस्ताको तस्तै रहने) हुन्छ भनेर माथि भनियो । तर विसर्गको लोप नहुने स्थितिका साथै लोप हुने स्थिति पनि संस्कृतमा पाइन्छ । पाणिनिले श-ष-स पर हुँदा विसर्गको लोप हुने अवस्थाहरूचाहिँ सूत्रमा समेट्न छुटाएकामा त्यसलाई समेट्न वार्त्तिककार कात्यायनले “वाशर्प्रकरणे खर्परे लोपः”(८।३।३६) भन्ने वार्त्तिक बनाए । तथापि यस वार्त्तिकले पनि वेदका कुनै शाखामा पाइने खर्बाहेक अरू व्यञ्जन पर रहेका श-ष-स पछाडि हुँदा विसर्गलोप हुने कुरालाई समेट्न सकेन । यस अवस्थामा महाभाष्यले सबै उदाहरणालाई समेटेर विवेचना गर्नुपर्ने र निष्कर्ष दिनुपर्नेमा त्यहाँ त्यसो गरिएको छैन । विभिन्न वेदशाखामा पाइने कुरा लोकमा पनि मान्य हुनु उचितहो । जस्तै– बालका स्वस्थाः, बालका स्नान्ति इत्यादिमा समेत विसर्गलोप हुने प्रयोग वैकल्पिक रूपमा मान्य हुनुपर्ने देखिन्छ ।यिनलाईपनि समेट्न परिष्कृत वार्त्तिक बनाउनुपर्ने कुरा कौण्डिन्न्यायनशिक्क्षामा स्पष्ट पारिएको छरयस्ता प्रयोगलाई समेट्न त्यहाँ नयाँ वार्त्तिक नै बनाइएको पनि छ –“घोषवत्परेऽपि शरीत्येके”(पृ. ७०६–७०७)।
“स्वरितो वाऽनुदात्ते पदादौ”(८।२।६) भन्ने पाणिनिका सूत्रमा पनि विकल्पले अर्थात् पदका आदिमा हुने अनुदात्त परतिर भएमा उदात्तका साथ उच्चारण हुने अनुदात्तको एकादेश (दुई वर्णका ठाउँमा हुने एउटा वर्ण) चाहिँ विकल्पले स्वरित वा उदात्त हुन्छ भनिएको छ । धेरैजसो ठाउँमा स्वरित नै भएको वस्तुस्थिति देखिन्छ । कतैकतै मात्र उदात्त भएको देखिन्छ । वेदका विभिन्न शाखाहरूको यस्तो वस्तुस्थिति सूचित गर्न सूक्ष्म रूपले निरीक्षण गरेर नै पाणिनिले उक्त सूत्रमा स्वरित हुन्छ भनेकामा त्यो कुरालाई आकलन गर्न नसक्नाले पतञ्जलिले पाणिनिद्वारा स्वरित हुन्छ भनिएकामा “स्वरितग्रहणं शक्यमकर्तुम्, कथम्? …”भन्दै त्यस कुराको प्रत्याख्यान (खण्डन) गरेका छन् (पाणिनिका सूत्रमा स्वरित हुन्छ भन्न आवश्यक थिएन, स्वरित हुन्छ भनेको मिलेन भनेका छन्) । कौण्डिन्न्यायनशिक्क्षामा उदात्त र अनुदात्तको सन्धि हुँदा स्वरित भएका धेरै उदाहरण विभिन्न वेदहरूबाट सङ्कलन गरेर देखाइएको छ र यहाँ पाणिनिको पतञ्जलिले गरेको खण्डन मिलेन भनेर विस्तृत रूपमा स्पष्ट पारिएको छ (पृ. ६५६—६५९) ।
यसरी पाणिनिले वेदका उदाहरणहरूको सूक्ष्म रूपले निरीक्षण गरेर बोलेका स्थानमा त्यसरी नै पिताजीले पनि वेदका उदाहरणहरू हेरी विभिन्न प्रातिशाख्यहरूको अध्ययन गरेर पाणिनिको प्रतिपादन ठिक रहेको तथा पतञ्जलिले गरेको पाणिनिको खण्डनचाहिँ गलत भएको निष्कर्ष दिनुभएको छ । यो कुरा कौण्डिन्न्यायनशिक्क्षामा गरिएको विवेचनाबाटैस्पष्ट रूपमा बुझ्न सकिन्छ । यसबाट प्रस्तुत विषयमा पतञ्जलिभन्दा पनि माथि उठेर वैदिक अध्ययन गरेकाले उनको कमजोरी पत्ता लगाउन सकिएको कुरासमेत व्याकरण र वेदका गम्भीर पाठकहरूले बुझ्न सक्छन् ।
यसप्रकार पाणिनीय व्याकरणमा समेत अस्पष्टता तथा अपूर्णता रहेको पत्ता लगाउन सक्ने विलक्षण र सुदुर्लभ विद्वत्ता हाम्रा पिताजीमा थियो। शिक्षाशास्त्र, व्याकरण र चारै वेदको गम्भीर अध्ययन र निरीक्षण गरेपछि मात्र पाणिनीय व्याकरणको समीक्षा गर्न सकिन्छ । व्याकरणका त्रि-मुनिपछि यसरी विवेचनात्मक रूपमा विभिन्न वैदिक प्रयोगका विषयमा पाणिनीय व्याकरणको विस्तृत समीक्षा गर्ने अरू कोही पनि देखिएनन् । अचेल चलेको अध्ययन त झनै एकाङ्गी छ । वास्तवमा शिक्षा-व्याकरणादि वेदाङ्ग पढ्नुको मूल उद्देश्य नै वेद पढ्न सकियोस् भन्ने हो । चारै वेदका तथा छओटै वेदाङ्गका र मीमांसाशास्त्रका समेत ग्रन्थहरूको सर्वाङ्गीण गहन अध्ययन गरेर वेद-वेदाङ्गको सम्बन्धको आकलन गर्न सक्ने तथा तिनका व्याख्याको समीक्षा गर्न सक्ने विद्वान् त भारतवर्षभरि नै प्राचीन कालमा पनि दुर्लभ थिए, पछिपछिका समयमा त अरू कोही पनि नभएको बुझिन्छ । वेद नपढ्नेले व्याकरण, शिक्षाशास्त्र, धर्मशास्त्र, कर्मकाण्ड इत्यादि अन्य शास्त्र राम्ररी बुझ्नै सग्दैन । वेद पढ्नेहरूचाहिँ प्रायः वेद कण्ठ गर्नतिर लाग्ने र व्याकरण तथा शिक्षाशास्त्रको गम्भीर अध्ययनतिर नलाग्ने परिस्थिति आज देखिन्छ । व्याकरणमहाभाष्यको मात्रै पनि व्याख्या र विवेचना राम्ररी बुझेर आदिदेखि अन्त्यसम्म छिचलेर पढ्ने व्यक्ति नै दुर्लभ छन् । त्यसमा पनि त्यहाँ रहेका कमी वा त्रुटि पत्ता लगाउन सक्ने सामर्थ्य जो कोहीमा नहुनु स्वाभाविक नै हो ।
कौण्डिन्न्यायनशिक्क्षाकारबाट चाहिँ केही स्थलमा पाणिनिको प्रतिपादन ठिक र पतञ्जलिको प्रतिपादन त्रुटिपूर्ण भनेर स्पष्ट गरिएको छ । केही स्थलमा पाणिनिका नियम अपूर्ण छन् भने कतै कात्यायनका वार्त्तिकमा र पतञ्जलिका भाष्यमा गरिएका स्पष्टीकरण तथा व्याख्या अपूर्ण छन् भन्ने कुरा पनि कौण्डिन्न्यायनशिक्क्षामा प्रतिपादन गरिएको छ ।
यण्सन्धिको नियम बताउने सूत्र “इको यणचि (यण्णचि)”(६।१।७७) मा णकारको द्वित्व हुनुपर्ने कुरा कौण्डिन्न्यायनशिक्क्षामा स्पष्ट पारिएको छ पृ. (६६९–६७०) । साथै “सनन्तान् न सन्निष्यते” शुद्ध हो, “सन्नन्तान् न सनिष्यते” इत्यादि शुद्ध हैनन् भन्ने कुरा पनि बताइएको छ । त्यहाँ “णकारान्तपदस्थ-णकारद्वित्वोदाहरणस्याऽभावादेतादृशे स्थले णकारद्वित्वस्याऽनभ्यस्तत्वादागतः पाणिनेः प्रमादो मर्षणीयः” अर्थात् पदका अन्त्यमा अवस्थित ण-को द्वित्व भएको उदाहरणका अभावले यस्ता ठाउँमा ण-को द्वित्व गर्ने अभ्यास नभएकाले आएको पाणिनिको प्रमाद (असावधानी) सहनुपर्छ भनिएको छ । यस प्रसङ्गमा बृहच्छब्देन्दुशेखरकार नागेशभट्टले पाणिनिले “ङमो ह्रस्वादचि ङमुण्नित्यम्”(८।३।३२) सूत्रमा “नित्यम्” भने पनि कतै यस्तो द्वित्व हुँदैन, यसको उदाहरण “इको यणचि” सूत्रकै यणचि प्रयोग हो भनेका छन्। तर कौण्डिन्न्यायनशिक्क्षामा यस भनाइको खण्डन गरिएको छ।
“आफूभन्दा अगाडि ह्रस्व स्वर भएका तथा पदका अन्त्यमा रहेका ङ-न वर्णहरूको स्वर पर हुँदा वेदमा र भाषामा (लौकिक संस्कृतमा) द्वित्व हुन्छ, त्यस्तै ण-को पनि लोकभाषामा द्वित्व हुन्छ” भनेर कौण्डिन्न्यायनशिक्क्षामा निष्कर्ष दिइएको छ–
ङ-नौ पदान्तगौ ह्रस्वपूर्वकौ तु स्वरे परे ।
नित्यं क्रमेते भाषायां क्रमते णोऽपि तादृशः ।।७।८६।।
उपसंहार
कौण्डिन्न्यायनशिक्क्षामा त्रि-मुनिका अतिरिक्त पनि अष्टाध्यायीका व्याख्याता काशिकाकार वामन-जयादित्य, सिद्धान्त-कौमुदीकार भट्टोजिदीक्षित, शब्देन्दुशेखरकार नागेशभट्ट, मधुसूदन-विद्यावाचस्पति इत्यादिले संस्कृत शिक्षाशास्त्र र व्याकरणसित सम्बद्ध विषयहरूका प्रतिपादनमा गरेका त्रुटिहरूको पनि सप्रमाण विवेचना गरेर संशोधन गरिएको छ । आधुनिक भारतीय अनुसन्धाता सुनीतिकुमार चटर्जी, सिद्धेश्वर वर्मा, सूर्यकान्त, विधाता मिश्र तथा पाश्चात्त्य लेखक डब्ल्यू. डी. ह्विट्नि, सी.सी. उह्लेनबेक्, डब्ल्यू.एस्. यालन् इत्यादिका सम्बद्ध विषयहरूका प्रतिपादनमा भएका त्रुटिहरूको पनि सप्रमाण विवेचना र संशोधन गरिएको छ ।
कौण्डिन्न्यायनशिक्क्षामा तैत्तिरीयारण्यकले भनेका वेदाङ्ग शिक्षाशास्त्रका वर्ण, स्वर, मात्रा, बल, साम र सन्तान (सन्धि) यी छओटा मुख्य विषयको पहिलो पटक साङ्गोपाङ्ग, विस्तृत र क्रमबद्ध निरूपण गरिएकाले तथा(८९६ पृष्ठको)यस विशाल ग्रन्थमा सम्बद्ध विषयको नयाँ चिन्तन, स्पष्टीकरण र संशोधनसमेत गरिएकाले यसलाई वेदाङ्ग शिक्षाशास्त्रको नयाँ आकरग्रन्थका रूपमा र वैदिक वाङ्मयको इतिहासमा अभूतपूर्व उपलब्धिका रूपमा समेत लिन सकिन्छ । यसबाट पाणिनीय व्याकरणलाई परिष्कार गर्न र पूर्णता दिन नेपाली विद्वान्को विशिष्ट योगदान रहेको कुरा पनि स्पष्ट हुन्छ ।
यो ग्रन्थ वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयद्वारा वाचस्पति अर्थात् महाविद्यावारिधि (डि.लिट्.) उपाधिका निम्ति सन् १९९२ मा स्वीकृत पनि भएको हो।