सनातन यात्रा

नेपाली द्विस्वर र तिनको सर्वप्रथम यथार्थ प्रतिपादन

नेपाली द्विस्वर र तिनको सर्वप्रथम यथार्थ प्रतिपादन
+
-

विषयप्रवेश

वर्ण भनेको भाषाको लघुतम एकाइ हो। उच्चारणको प्रतिनिधित्व गर्ने हुनाले लेखिने लिपिचिह्नलाई पनि वर्ण भनिएको हो। नेपाली भाषामा धेरैजसो वर्ण संस्कृत भाषाकै प्रयुक्त हुन्छन्। तथापि संस्कृतका केही वर्णको उच्चारण विशेष प्रकारले हुन्छ र संस्कृतका त्यस्ता केही वर्ण नेपाली मातृभाषाभाषीका उच्चारणमा पाइँदैनन्। तिनमा ऋ लृ व यी तीन वर्ण विशेष उल्लेखनीय छन्। संस्कृतमा नपाइने नेपालीमा मात्र पाइने वर्णमा तलथोप्ली व़ र ऐ-औबाहेकका “आइ् आउ्” इत्यादि अरू विभिन्न द्विस्वर प्रमुख छन्।

यसै सन्दर्भमा केही समयअगि (२०८०।७।२मितिमा) वर्णमालाबाट हटाइएका दीर्घ ई र ऊ नेपालीमा उच्चरित हुँदैनन्? भन्ने शीर्षकको लेखमा ह्रस्व दीर्घ र प्लुत ई-ऊ नेपाली बोलीचालीमा छन् भन्ने कुरा सप्रमाण प्रकाशित गरिसकिएको छ। “नेपालीहरूका उच्चारणमा दीर्घ ई-ऊ छैनन् भनिएको हैन, दीर्घ उच्चारणबाट अर्थमा तात्त्विक भिन्नता आउँदैन मात्र भनिएको हो” भन्ने कुरा ११ कक्षाको नेपाली पाठ्यपुस्तकमा लेखिएको छैन। उच्चारणमा स्पष्ट रूपमा पाइने दीर्घ “ई-ऊ” वर्णहरू पनि नेपालीका उच्चारणमा छँदैछैनन् भनेर अशुद्ध र अयथार्थ कुरा त्यहाँ लेखिएको छ। नेपाली भाषाव्याकरणका स्वतन्त्र विज्ञहरूले पनि यस विषयमा सप्रमाण बोलेको देखिँदैन।

कोही “नेपाली भाषामा ह्रस्व दीर्घको मात्रामा उच्चारणले फरक पार्ने लघुतम युग्म नपाइने हुनाले नेपाली वर्णमालामा ह्रस्व र दीर्घको भेद अनावश्यक छ। यसरी नेपालीमा संस्कृतमा जस्तो दुई दुई किसिमका इकार, उकार नभएर एक एक किसिमको मात्र इकार उकार वर्णका रूपमा पाइन्छन्” भन्छन् (“हाम्रो वर्णमालामा नेपाली वर्ण चाहिँ कुनकुन हुन्?”, माधवप्रसाद पोखरेल, मधुपर्क मासिक, २०६४ वैशाख, रातो पाटी अनलाइन पत्रिका, २०७६ पुस ५ गते)। यहाँ नेपाली जनबोलीमा प्रशस्त रूपमा पाइने र अर्थभेद पनि गराएको सजिलै बुझ्न सकिने दीर्घ मात्र हैन प्लुत “ई-ऊ”समेत नेपालीमा अनावश्यक छन् भनी भ्रमात्मक कुरा प्रचार गर्न खोजिएको छ। यस्ता भ्रमात्मक कुराको लेखहरूका माध्यमबाट क्रमशः खण्डन गरी नेपाली भाषाका वर्णहरूको यथार्थ व्याख्या गरिँदै छ।

नेपालीमा पाइने दसओटा द्विस्वर र तिनको सर्वप्रथम प्रतिपादन

द्विस्वरलाई संयुक्त स्वर वा जोल्टे स्वर वा सन्ध्यक्षर (डिफ्थङ्) भन्न सकिन्छ। शिक्षाशास्त्रका वा ध्वनिशास्त्रका संसारकै प्राचीनतम ग्रन्थ प्रातिशाख्यहरूमा चाहिँ यस्ता स्वरलाई सन्ध्यक्षर भनिएको छ। संस्कृतमा ‘ए ऐ ओ औ’ यी चार स्वर वर्ण सन्ध्यक्षर मानिएका छन्। दुई वर्ण जोडिएर बनेका भएपनि यी वर्ण एउटै वर्णझैँ गरेर एक्कै प्रयत्नमा उच्चरित हुने भएकाले यिनलाई एउटै वर्ण मानिएको हो। ‘ए’ र ‘ओ’ वर्णका उच्चारणमा प्राचीन कालमाभन्दा अहिले केही भेद आएको छ। नेपाली भाषाका ‘ए’ र ‘ओ’ चाहिँ द्विस्वर नभै एकै स्थानबाट उच्चारण गर्न सकिने सामान्य स्वर नै हुन् भन्ने कुरा हाम्रा पिताजी शिवराज आचार्य कौण्डिन्न्यायनले स्पष्ट पार्नुुभएको थियो (“नेपालि भाषाको लेख्नि थिति कसरि बसाल्नी?” त्रिभुवन युनिवर्सिटि जर्नल, २०२५ फागुन–चैत, पृ.२७, जिम्दो नेपालि भासा, पैलो खण्ड, २०३०, पृ.३२, नेपाली वर्णोच्चारणशिक्षा, साझाप्रकाशन, २०३१, पृ. १०३)।

आधुनिक नेपालीभाषामा संस्कृतकाभन्दा धेरै “ऐ (अइ्) औ (अउ्) आइ् आउ् इउ् उइ् एइ् एउ् ओइ् ओउ्” यी मुख्य दसओटा द्विस्वर पाइन्छन्। यो कुरा पनि हाम्रा पिताजी शिवराज आचार्यले सर्वप्रथम विवेचनात्मक रूपमा लेख्नुभएको थियोे (द्र.— त्रिभुवन युनिवर्सिटि जर्नल, २०२५ फागुन–चैत, पृ.२७, नेपाली वर्णोच्चारणशिक्षा, साझाप्रकाशन, २०३१, पृ. १०३–१०४)।

उक्त दसोटा द्विस्वरका केही उदाहरण हेरौँ—

ऐ (अइ्)— (बइ्नि बहिनी वा बैनि), भँइ्सि (भैँसी) इत्यादि। औ (अउ्)— औलो (अउ्लो), खउ्रिन्छ खौरिन्छ)…। आइ्— भाइ्, आइ्माइ्,आइ्छैन …। आउ्— आउ्लो, माउ्, साउ्, स्याउ्, आउ्ँछ …। इउ्— घिउ्, पिउ्सो, पिउ्ँछ …। उइ्—उइ्लेइ् (उहिल्यै), खुइ्लिन्छ…। एइ्— एइ् (यही वा एहि), केइ् (केही वा केहि), चेइ्चेइ् ..। एउ्— एउ्टा, भेउ्, देउ् (देऊ) …। ओइ्— खोइ्, सोइ् (सोही वा सोहि), पोइ् ..। ओउ्—होउ् (ह्वौ) इत्यादि।

उहाँले पहिलो पटक विवेचना गरेर ठहर्याएर राम्ररी लेखिसकेका नेपालीमा पाइने उक्त दसोटा द्विस्वरका विषयलाई कसरी अरूले उहाँको नाम नलिईकन सुटुक्क आफ्ना पुस्तकमा समावेश गरेका छन् र गर्दै पनि छन् भन्ने कुराको विवेचना पनि यस विषयको प्रतिपादनको तथ्य र इतिहास बुझ्न चाहने पाठकहरूका निम्ति यहाँ गरिन्छ।

व्याकरण बनाउनुभन्दा पहिला पूर्वाधारका रूपमा चाहिने आधुनिक नेपाली भाषाका वर्णहरूको यथार्थ पहिचान र निर्धारण सर्वप्रथम “नेपाली वर्णोच्चारणशिक्षा” भन्ने ग्रन्थमा (साझाप्रकाशन, २०३१) गरिएको छ। तथापि यस कुराको उल्लेख चूडामणि बन्धु, बालकृष्ण पोखरेल, वल्लभमणि दाहाल, टङ्कप्रसाद न्यौपाने, गोविन्दराज भट्टराई, माधवप्रसाद पोखरेल इत्यादि कसैले पनि गरेको पाइँदैन। भाषाविज्ञान र ध्वनिविज्ञानका धेरै पुस्तक प्रकाशित नभैसकेका वेलामा साझाप्रकाशनजस्तो प्रसिद्ध संस्थाद्वारा प्रकाशित ध्वनि वा वर्णका विषयमा पहिलो पटक थुप्रै नयाँ विषयको प्रतिपादन विस्तृत रूपमा गर्ने आधारग्रन्थ “नेपाली वर्णोच्चारणशिक्षा”लाई नै पनि नदेखेको झैँ गरेर त्यहाँ पहिलो पटक प्रतिपादन गरिएका कुरा लेख्ता त्यस ग्रन्थको उल्लेख गरेर त्यसका लेखकलाई श्रेय दिएर लेख्नुको सट्टा ती कुरा आफैँले पहिलो पटक पत्ता लगाएर लेखेको भन्ने अथवा नेपाली वर्णोच्चारणशिक्षाभन्दा पछि प्रकाशित ग्रन्थलाई स्रोतग्रन्थका रूपमा उल्लेख गर्ने तथा तिनैलाई प्रथम लेखकका रूपमा श्रेय दिने गरेर लेख्नु नेपाली भाषाविज्ञानीहरूको अत्यन्त अनैतिक कार्य देखिन्छ।

भाषाशास्त्र वा ध्वनिशास्त्रमा जजसले जेजे विषय सर्वप्रथम प्रतिपादन गरेर सार्वजनिक गरेका छन् तिनको यथार्थ विवरण र इतिहास लेख्नतिर सत्यनिष्ठ विद्याप्रेमी अनुसन्धाताहरू लाग्नुपर्छ। कसैले पनि अयथार्थ कुराका आधारमा आफ्ना चेलाचेलीद्वारा आफ्नो मिथ्याप्रशंसा गराउन हुँदैन। लेखेपढेका जोकोही व्यक्तिले पनि बौद्धिक चोरीलाई निरुत्साहित गर्न आआफ्ना क्षेत्रबाट यथार्थ कुरा लेख्न हिच्किचाउन पनि हुँदैन।

द्विस्वरका प्रतिपादनमा अरूहरूले गरेका त्रुटि

‘नेपालीभाषाको उत्पत्ति’ भन्ने पुस्तक (जगदम्बा-प्रकाशन, २०२५) लेख्ने चूडामणि उपाध्याय रेग्मी (चूडामणि बन्धु) तथा ‘ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त’ भन्ने पुस्तक (पुस्तक संसार, २०२७) लेख्ने बालकृष्ण पोखरेल र वल्लभमणि दाहालले पनि नेपाली वर्णहरूको स्वरूपका निर्धारणका विषयमा विशेष गरेर द्विस्वरहरूका रूपहरूका विषयमा ठिकठिक कुरा लेख्न सकेका थिएनन्। त्यस विषयमा धेरै संशोधन वा प्रगति ‘नेपाली वर्णोच्चारणशिक्षा’मा गरिएको थियो (२०३१)। तर त्यस संशोधनको वा प्रगतिको कुनै उल्लेख नगर्ने काम टङ्गप्रसाद न्यौपाने र गोविन्दराज भट्टराईको ‘नेपाली ध्वनिशास्त्र’भन्ने पुस्तकमा (प्र.सं.२०३९, द्वि.सं. रत्नपुस्तक-भण्डार २०६२, पृ.७५–७६, ८२–९७) भएको छ।

चूडामणि बन्धुका उपर्युक्त‌ ‘नेपाली भाषाको उत्पत्ति’ भन्ने ग्रन्थका प्रथम संस्करणमा (२०२५, पृ.१०५–१०६) नेपाली संयुक्त स्वरका उदाहरणहरू देखाउँदा केही उदाहरण संयुक्त स्वर (द्विस्वर) मानिन नसक्ने पनि दिइएका छन्। तिनमा आओ, साइत, राउत,आए, भनिए, गरूवा, कुएको इत्यादि संयुक्त स्वर मान्न नसकिने उदाहरण हुन्।उक्त ग्रन्थका पछिल्ला संस्करणहरूमा पनि यस्ता अशुद्धिको संशोधन गरिएको छैन (चौथो सं. २०४७, पृ. ७६–७७)।

बालकृष्ण पोखरेल र वल्लभमणि दाहालको ‘ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त’ (२०२७) भन्ने ग्रन्थमा पनि “नेपाली द्विस्वरहरू” भनेर मान्य र अमान्य उदाहरण छासमिस गरेरै दिइएका थिए (पृ.३३–३५)। तिनमा अए, अओ, आए, आओ, इअ, इआ, इए, इओ, उअ, उआ, उए, उओ, एअ, एआ, एओ, ओअ, ओआ, ओए इत्यादि अमान्य द्विस्वर हुन्। हाम्रा पिताजी शिवराज आचार्यले २०२५ संवत्को जेठको रूपरेखा भन्ने नेपाली मासिक पत्रिकामा (८५ पूर्णाङ्क) प्रकाशित (पृ.५–२०) “नेपालि भाषाको ऐले प्रचलित लेखाइमा कस्तो सुदार गर्नी?” भन्ने लेखमा (पृ.७) आइ्, उइ्, आउ्, एउ्, अइ्, अउ् इत्यादि सन्ध्यस्वरहरूको (द्विस्वरहरूको) उल्लेख गर्नुभएको थियो (द्र.– जिम्दो नेपालि भासा, पैलो खण्ड, २०३०, पृ.७९)। साथै १९६९ मार्चको (२०२५ फागुन-चैतको) त्रिभुवन युनिवर्सिटि जर्नलको चौथो भागको दोस्रा अङ्कमा प्रकाशित “नेपालि भाषाको लेख्नि थिति कसरि बसाल्नी?”भन्ने लेखमा (पृ.२७) “अइ् अउ् आइ् आउ् इउ् उइ् एइ् एउ् ओइ् ओउ्” यी नेपाली मातृभाषाभाषीका स्वाभाविक उच्चारणमा पाइने दसओटा मूल द्विस्वरहरूको (जोल्टे स्वरहरूको) सर्वप्रथम पहिचान गरी उल्लेख गर्नुभएको थियो। यो लेख जिम्दो नेपालि भासा, पैलो खण्डमा पनि समाविष्ट छ (२०३०, पृ.३२)। यसभन्दा पहिला कसैले पनि उक्त दसोटा द्विस्वर ठम्याएर प्रकाशित गरेको थिएन। ‘नेपाली वर्णोच्चारणशिक्षा’ भन्ने ग्रन्थमा (साझाप्रकाशन, २०३१) त उहाँले उक्त दसोटा सन्ध्यस्वर (संयुक्तस्वर वा द्विस्वर) देखाएर त्यसका टिप्पणीमा (पृ.१०३–१०४) ‘ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त’ भन्ने ग्रन्थका द्विस्वरका माथि उल्लिखित उदाहरणहरू अमान्य भएको कुरा स्पष्ट गर्नुभएको थियो।उहाँले २०२५ सालमै स्पष्ट रूपमा १० ओटा द्विस्वर देखाएकामा बालकृष्ण पोखरेल र वल्लभमणि दाहालले उक्त कुरा बुझ्न नसकेर २०२७ सालमा पुस्तक प्रकाशित गर्दा अन्यथा लेख्न पुगेका थिए। उनीहरूको त्रुटि औँल्याउँदै ‘नेपाली वर्णोच्चारणशिक्षा’मा (२०३१, पृ.१०४) पिताजी शिवराज आचार्यले यस्तो लेख्नुभएको छ— “ध्वनि-प्रक्रिया र केही ध्वनिसिद्धान्त’ (२०२७) का ३३, ३४, ३५ पृष्ठहरुमा अए, अओ, आए, आओ, अआ, आअ, इअ, इए, इओ, उअ, उआ, उए, उओ, एअ, एआ, एओ, ओअ, ओआ, ओए यस्ता पनि सन्ध्यस्वर (द्विस्वर?) मानिएका छन्। तर त्यहाँ दिइएका उदाहरणहरुका नेपाली स्वाभाविक उच्चारणहरूमा ‘अए’ इत्यादिमा एकवर्णीभाव नहुने हुँदा र एकवर्णीभाव नभइकन एकवर्णमा गणना गर्न नमिल्ने हुँदा मैले यिनलाइ नेपाली सन्ध्यस्वर मानेको छैन, मेरा अनुभवमा उपर्युक्त पुस्तकमा उदाहृत अए इत्यादिमा स्वाभाविक नेपाली उच्चारणमा भिन्नप्रयत्नोच्चार्य अ, ए इत्यादि दुइदुइ वर्ण देखिन्छन्।” यसरी नेपाली भाषामा रहेका द्विस्वरहरूको निश्चय (निर्धारण) गर्ने काम अर्काका लहैलहैमा नलागी अरूका गलत कुराको खण्डन समेत गरी आफ्नै विवेचनका आधारमा सर्वप्रथम नेपाली वर्णोच्चारणशिक्षामा (२०३१) गरिएको हो। उहाँले त अरूले आजसम्म पनि उल्लेखै गर्न नसकेका “सअ्च, लाअ्च, झिअ्च, पुअ्च, छेअ्च, ठोअ्च”इत्यादि शब्दमा सुनिने “अअ् आअ् इअ् उअ् एअ् ओअ्” यी छओटा गौण द्विस्वरहरूको समेत उदाहरण दिएरै सर्वप्रथम प्रतिपादन गर्नुभएको छ (नेपाली वर्णोच्चारणशिक्षा, पृ.१०४)।अत्यन्त प्रतिभाशाली र बहुशास्त्रज्ञ पनि हुनुभएकाले उहाँले अरूले ठम्याउन नसकेका नेपाली वर्णहरूको पनि सर्वप्रथम पहिचान गरी तिनको यथार्थ स्वरूप देखाउन सक्नुभएको हो।शिक्षाशास्त्र (उच्चारणशास्त्र) र व्याकरणशास्त्रमा उहाँले गर्नुभएको विशिष्ट कार्यको केही विवेचना पाणिनीय व्याकरण र कौण्डिन्न्यायन शिक्षा (२०७९।१०।८) भन्ने लेखमा पनि गरिएको छ।

द्विस्वरको प्रतिपादनको बौद्धिक चोरी

यस विषयमा ‘नेपाली ध्वनिशास्त्र’ भन्ने ग्रन्थमा (प्र.सं. २०३९, द्वि.सं.२०६२) टङ्कप्रसाद न्यौपाने र गोविन्दराज भट्टराईबाट ‘परम्परागत अभिप्राय’ भनेर बालकृष्ण पोखरेल र वल्लभमणि दाहालको ‘ध्वनिप्रक्रिया र केही ध्वनिसिद्धान्त’ (२०२७)भन्ने ग्रन्थको, चूूूूडामणि बन्धुकोे ‘नेपालीभाषाको उत्पत्ति’भन्ने ग्रन्थको (द्वि.सं.२०३२) र चूूूूडामणि बन्धुकै ‘भाषाविज्ञान’ (द्वि.सं. २०३६) भन्ने ग्रन्थको उल्लेख गरी तिनका प्रतिपादनमा दोष देखाइएको छ (द्वि.सं., पृ.७५–७६, ८२–८६)। २०३१ संवत्मा साझाप्रकाशनले प्रकाशित गरेको हाम्रा पिताजीको ‘नेपाली वर्णोच्चारणशिक्षा’को उल्लेख नगरी सन्ध्यस्वरका (द्विस्वरका) विषयमा उहाँले पहिलो पटक प्रतिपादन गरेका र अरूका त्रुटि देखाएका कुराको साररूप निष्कर्ष लिएर आफनो मौलिक अध्ययन–अनुसन्धानको निष्कर्षझैँ गरी उक्त ग्रन्थमा (पृ.८६–८७, ८६–९७, ९७) लेखिएको छ। के यस्तो कुरा बौद्धिक चोरी हैन?

माधवप्रसाद पोखरेलले पनि २०४६ मा “एक्स्पेरिमेण्टल् अन्यालिसिस् अव् नेपाली साउण्ड् सिष्टम्” भन्ने सन् (१९८९) शोधप्रबन्ध लेख्ता २०३१ संवत्मा साझाप्रकाशनले प्रकाशित गरेको नेपाली वर्णोच्चारणशिक्षाको उल्लेखसम्म पनि गरेका छैनन्। उनले आफ्ना शोधप्रबन्धमा (पृ.३७) नेपाली भाषाका १० ओटा द्विस्वर आफैँ पत्ता लगाएझैँ गरेर लेखेका छन्। “साञ्चारिक ध्वनिविज्ञान” भन्ने लेखमा (प्रज्ञा पत्रिका, पूर्णाङ्क ८४, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५४, पृ.६१) र “ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय” भन्ने पुस्तकमा (ने.रा.प्र.प्र., २०५७, पृ.११२) दसओटा सन्ध्यक्षर (डिफ्थङ्) गन्दा नेपाली भाषाका ती सन्ध्यक्षर यथार्थ रूपमा सर्वप्रथम गनेर उल्लेख गर्ने तथा बालकृष्ण पोखरेल र वल्लभमणि दाहालका त्यस विषयका गलत कुराको खण्डन गर्ने नेपाली वर्णोच्चारणशिक्षाको (२०३१, पृ.१०३–१०४) प्रतिपादनको उल्लेख गरेका छैनन्। सन्दर्भग्रन्थसूचीमा पनि नेपाली वर्णोच्चारणशिक्षाको उल्लेखसम्म पनि गरेका छैनन्। अर्काको अध्ययन र अनुसन्धानका निष्कर्षलाई आफ्नो भनेर प्रचार गर्ने तिनको यस्तो बौद्धिक चोरीलाई जहिले पनि जसले पनि पक्रन सक्छ भनेर उनी किन सचेत भएनन्? “बेकामे पिएचडी” भन्ने लेखमा (अन्नपूर्ण पोष्ट, २०७६।४।११) ‘पिएचडी गर्न खोज्नेले सर्वप्रथम आफूले अनुसन्धान गर्न चाहेका विषयमा पूर्ववर्ती ग्रन्थ र लेखहरूमा लेखिएका विषय सबै पढेर मात्र आफ्ना अनुसन्धानलाई अगाडि बढाउन पर्ने र पूर्ववर्ती अध्ययनअनुसन्धानमाभन्दा बढी वा नयाँ उपलब्धि आफ्ना अनुसन्धानमा के आयो भनेर स्पष्ट गर्नुपर्ने, त्यसो नगरी गरिएको पिएचडी बेकामे हुने’ भनेर आफ्ना चेलाचेलीलाई उपदेश गर्ने उनले १५–२० वर्षअगि अरूले नै पत्ता लगाएर प्रकाशित गरिसकेका कुरालाई आफ्नै मौलिक खोजझैँ गरेर विद्यावारिधिको शोधप्रबन्धमा कसरी लेख्न पुगे?

आफूले लेखेका धेरै कुरा ‘नेपाली वर्णोच्चारणशिक्षा’मा लेखिइसकेकाले आफूले त्यतैबाट लिएको ठहरेर आफूले नेपाली वर्णहरूको निर्धारण गरेँ भनेर गर्ने गरेको मूल दावी नै असत्य ठहर्ने हुँदा उक्त ग्रन्थको कतै पनि उल्लेख गर्न पोखरेलजीले नचाहेको देखिन्छ। ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ भन्ने ग्रन्थको ‘भाषा, व्याकरण र अभिलेख’ भन्ने उनैद्वारा सम्पादित पहिलो ठेलीमा (कमलमणि-प्रकाशन, २०७४) पनि ‘नेपाली वर्णोच्चारणशिक्षा’जस्तो सम्बद्ध विषयको विशिष्ट ग्रन्थका विषयमा लेखिएको छैन। यो उनको र उनका चेलाचेलीहरूको सत्यलाई ढाकछोप गर्न खोज्ने काम हो। विद्याका क्षेत्रमा काम गर्छु भन्नेले यस्ता काम गर्न थोरै भएपनि सङ्कोच त मान्नुपर्ने हो। उनले कतै सन्दर्भग्रन्थको उल्लेखै गर्नुपर्ने स्थिति आउँदा पनि धेरैजसोले बुझ्न कठिन र धेरै पछि प्रकाशित भएको हाम्रा पिताजीको ‘कौण्डिन्न्यायनशिक्क्षा’ (२०४९) भन्ने संस्कृतभाषामा लेखिएको ग्रन्थको उल्लेख गर्ने, उहिल्यै प्रकाशित भएको नेपाली भाषामै लेखिएको सबैले बुझ्न सक्ने ग्रन्थ ‘नेपाली वर्णोच्चारणशिक्षा’को (२०३१) चाहिँ उल्लेख नगर्ने नीति लिएको देखिन्छ (द्रष्टव्य– ‘ध्वनिविज्ञान र नेपाली भाषाको ध्वनिपरिचय’ ने.रा.प्र.प्र., २०५७, पृ.१८४)।

उपसंहार

भाषाशास्त्र वा ध्वनिशास्त्रमा जजसले जेजे विषय सर्वप्रथम प्रतिपादन गरेर सार्वजनिक गरेका छन् तिनको यथार्थ विवरण र इतिहास लेख्नतिर सत्यनिष्ठ विद्याप्रेमी अनुसन्धाताहरू लाग्नुपर्छ। कसैले पनि अयथार्थ कुराका आधारमा आफ्ना चेलाचेलीद्वारा आफ्नो मिथ्याप्रशंसा गराउन हुँदैन। लेखेपढेका जोकोही व्यक्तिले पनि बौद्धिक चोरीलाई निरुत्साहित गर्न आआफ्ना क्षेत्रबाट यथार्थ कुरा लेख्न हिच्किचाउन पनि हुँदैन। आफूले पहिला जेजसो लेखेको भएपनि ढिलै भएपनि आत्मालोचना गरेर आफ्ना लेखाइमा संशोधन गरेर अबआयन्दा यथार्थ कुरा मात्र लेख्ने नीति तिनले लिनुपर्छ। “नेपाली वर्णोच्चारणशिक्षा”जस्तो पहिलो पटक धेरै गहन र नवीन विषय प्रतिपादन गर्ने ग्रन्थ नै नपढी अशुद्ध कुरा लेख्ने अथवा उक्त ग्रन्थको उल्लेखै नगरी त्यसमा निरूपण गरिएका विषयलाई आफैँले पहिलो पटक पत्ता लगाएझैँ गरेर लेख्ने र बौद्धिक चोरी गर्नेहरूबाट भाषाविज्ञान र ध्वनिविज्ञानका क्षेत्रमा कलम चलाउने सत्यनिष्ठ व्यक्तिहरू बहकिन हुँदैन।विद्याका विभिन्न क्षेत्रमा योगदान दिनेहरूको यथार्थ र निष्पक्ष मूल्याङ्कन गर्ने परिपाटी समाजमा बसाल्नुपर्छ।

यस लेखमा नेपाली भाषाका इतिहासमा २०२५ सालमा सर्वप्रथम प्रतिपादित र २०३१ सालमा विशेष रूपमा व्याख्यात नेपाली मातृभाषाभाषीका उच्चारणमा पाइने “अइ् अउ् आइ् आउ् इउ् उइ् एइ् एउ् ओइ् ओउ्” यी दसओटा मुख्य द्विस्वरका विषयमा विवेचना गरियो। नेपाली भाषाका अन्य वर्णका सम्बन्धमा प्रसङ्गअनुसार पछि विवेचना गरिनेछ।

माथि उल्लिखित प्रमुख लेख र ग्रन्थका सम्बद्ध पृष्ठका छायाप्रतिलिपि पनि यसै लेखमा प्रमाणका रूपमा संलग्न गरिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?