सनातन यात्रा

सोह्रश्राद्धमा दैवपूर्व कर्म

सोह्रश्राद्धमा दैवपूर्व कर्म
+
-

विषयप्रवेश
मुख्य वैदिक मासव्यवस्था अनुसारको अमान्तमान (अमावास्यामा महिना समाप्त हुने गणना) अनुसार भाद्र (प्रचलित आश्विन) महिनाको कृष्णपक्षको प्रतिपदादेखि अमावास्यासम्मको पन्ध्र दिनलाई पितृपक्ष भन्ने गरिन्छ। पितृपक्षलाई नेपाली समाजमा सोह्रश्राद्ध पनि भन्ने चलन छ। सक्नेले पितृपक्षभर प्रत्येक दिन र नसक्नेले आफ्ना पिताको निधन जुन तिथिमा भएको छ, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ भन्ने पौराणिक विधान पाइन्छ। औँसीपछिको प्रतिपदालाई मिलाई सोह्र दिन हुने भएकाले तिनमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भन्ने गरिएको बुझिन्छ। सोह्रश्राद्धलाई नै शास्त्रीय भाषामा भाद्रपदापरपक्षश्राद्ध भन्छन्। यस विषयमा केही चर्चा २०७९।५।१२ मितिको सोह्रश्राद्ध के हो र कसरी गर्ने? भन्ने शीर्षकका लेखमा पनि गरिसकिएकाले यसै स्रोतमा (लिङ्कमा) दिइएको उक्त लेख पनि पढेर यो लेख पढेमा मूल शास्त्रका धेरै कुरा स्पष्ट हुन्छन्। यस लेखमा चाहिँ सोह्रश्राद्धमा विसर्जनसमेत सबै नै कर्म दैवपूर्वक हुन्छन् पितृपूर्वक हुँदैनन् भन्ने धेरैले बुझ्न नपाइराखेको कात्यायन-श्राद्धकल्पसूत्रमा प्रतिपादित विषयको सप्रमाण विवेचना गर्न खोजिएको छ।

शास्त्रका र श्राद्धका मूल ग्रन्थ
शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाका अनुयायीका निम्ति श्राद्धको विधान गर्ने वेदजत्तिकै प्रामाणिक मूल ग्रन्थ कात्यायन मुनिको श्राद्धकल्पसूत्र हो। यो ग्रन्थ पारस्करगृह्यसूत्रको अभिन्न अङ्ग हो। आफ्ना शाखाका वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र परिशिष्टसूत्रहरूको अध्ययन गरेर तिनैका वचनअनुसार कर्मकाण्डको अनुष्ठान गर्नुपर्ने सर्वमान्य वैदिक-सनातन-सिद्धान्त हो। आवश्यक पर्दा उक्त वेद-वेदाङ्गका वाक्य र प्रकरणको अर्थमा वेदोपाङ्गरूप मीमांसाशास्त्रका न्यायका आधारमा सन्देहको निवारण गर्ने व्यवस्था छ। यस्ता विषयका समर्थक स्मृति-पुराणका वचनहरू पनि पाइन्छन्। आफ्ना वेदशाखाका सूत्रका विधानसित नमिल्ने अर्कैका वेदशाखाका विधानसित मिल्ने स्मृति-पुराणका वचनहरू अग्राह्य हुन्छन्। आफ्ना वेदशाखाका ग्रन्थहरूमा भएका र मीमांसान्यायबाट निर्णय हुने विषयमा अरू ग्रन्थलाई वा अनिर्ज्ञातमूल (मूल थाह नभएका) अरू वचनलाई आधार मान्न मिल्दैन। तिनले भनेअनुसार धर्मकर्म गर्न हुँदैन। यस कुरामा स्पष्ट नहुँदा कुइराको काग हुन पुगिने मात्र हैन अशुद्ध कुरा नै शुद्ध हुन् भन्ने भ्रम पनि पर्न सक्छ। यो कुरा बुझेर सबै सदाचारी विद्वान् ब्राह्मणहरूले धर्मशास्त्रीय निर्णय र कर्मकाण्डीय अनुष्ठानका निम्ति सर्वप्रथम स्वशाखाका ग्रन्थहरूको अनुशीलनमा लाग्न उचित हुन्छ।

शुक्लयजुर्वेदका माध्यन्दिनीय शाखाका सर्वमान्य मूल ग्रन्थहरूमा शुक्लयजुर्वेदसंहिता, शतपथब्राह्मण, कात्यायनश्रौतसूत्र, पारस्करगृह्यसूत्र, कातीय-त्रिकण्डिक-स्नानसूत्र, कात्यायन-श्राद्धकल्पसूत्र, भोजनसूत्र, शुक्लयजुर्वेदप्रातिशाख्य, याजुषवेदाङ्गज्योतिष, कातीय-प्रतिज्ञासूत्र, याज्ञवल्क्यशिक्षा, अष्टादश परिशिष्ट यी ग्रन्थ प्रमुख छन्। यी ग्रन्थसँग सम्बद्ध अन्य मान्य वेदाङ्ग र वेदोपाङ्गका ग्रन्थहरूमा पाणिनीय व्याकरण, यास्कीय निरुक्त, जैमिनीय धर्ममीमांसासूत्र र बादरायणीय ब्रह्ममीमांसासूत्र प्रमुख हुन्। धर्मशास्त्रका आधिकारिक विज्ञले मीमांसाशास्त्रसहितका उक्त ग्रन्थका आधारमा तदनुकूल रूपमा मात्र माध्यन्दिनीय शाखाका विविध विषयहरूको निर्णय गर्नुपर्ने हुन्छ। केवल निर्णयसिन्धुका वा धर्मसिन्धुका वचनहरूका आधारमा मात्र निर्णय गर्दा थुप्रै विषयमा स्वशाखाविरुद्धका निर्णय हुन जान्छन्। यस्तो भैरहेको पनि देखिन्छ। यस विषयको चेतना भएका विद्वान् व्यक्ति दुर्लभ छन्। अझ कुरो बुझाउँदा पनि बुझ्न नसक्ने, बुझ्न नचाहने र गतानुगतिक भैरहनेहरू (अनुद्बुद्ध भिडले जे भन्छ जे गर्छ त्यसकै पछि लाग्नेहरू) पनि देखिन्छन्।

स्ववेदशाखाका अनुकूल कर्मकाण्डपद्धति
विगत १००० वर्षजति अगाडिदेखि उक्त कुराको नेपालमा र भारतमा पनि चेतना कम हुँदै गएकामा हाम्रा पिताजीले आफूले वेदादि शास्त्रहरूको राम्ररी अध्ययन गरेर वेदका शाखाव्यवस्थाको आफ्ना ग्रन्थहरूद्वारा नेपाल र भारतमा पनि प्रचार गर्नुभएको हो। अनि मात्र अरूले पनि उक्त कुरा केही मात्रामा बुझ्न थालेका हुन्। तथापि राम्ररी यो कुरा बुझेका व्यक्ति नेपाल र भारतमा पनि दुर्लभ नै छन्। हाम्रा पिताजी सुगृहीतनामा शिवराज आचार्य कौण्डिन्न्यायनले (१९९७–२०७४) आजीवन वेद-वेदाङ्ग-स्मृति-पुराणादि शास्त्रको तलस्पर्शी अध्ययन गरेर विद्याका विभिन्न विधामा विशिष्ट ग्रन्थहरू लेख्नुभएको छ। संस्कृत वाङ्मयका सबैजसो विधाका प्रमुख-प्रमुख ग्रन्थहरूको विवेचनपूर्वक लामो समयसम्म अध्ययन-मनन गरेर लेखेका ग्रन्थहरूमध्ये केही भारतबाट पनि प्रकाशित भएकाले विद्याका तत्तत् क्षेत्रमा योगदान दिएका छन् र भारतीय विशिष्ट विद्वान्हरूका माझमा समेत चर्चित छन्। तिनमा वेदाङ्गज्योतिष, ब्रह्ममीमांसासूत्र, मनुस्मृति र पाणिनीयशिक्षाका व्याख्याहरू र सन्ध्योपासनपद्धति विशेष उल्लेखनीय छन्। नेपाली भाषामा लेखिएको “वैदिक धर्म मूल रूपमा” भन्ने १२०० पृष्ठको बृहदाकार ग्रन्थमा (प्र.सं. २०४५, तृ.सं. २०८०) ऋग्वेददेखि आधुनिक ग्रन्थसम्मका सयौँ ग्रन्थबाट ६–¬७ हजारजति प्रमाणवचनहरू उद्धृत गरेर वैदिक धर्मका सबैजसो विषयहरूको विवेचनात्मक प्रतिपादन उहाँले गर्नुभएको छ। यस्तो अद्वितीय ग्रन्थ भारतमा समेत कुनै पनि भाषामा छापिएको छैन। पाण्डुरङ्ग वामन काणेको “धर्मशास्त्र का इतिहास”मा पनि वैदिक विषयहरूमा यसरी शास्त्रार्थ र विवेचना गरिएका छैनन् र कतिपय अबोधमूलक भ्रमात्मक कुराहरूसमेत मिसिएका छन्। उनी आफू परम्परागत संस्कृतशास्त्रका ठुला विद्वान् हैनन्, वकिल हुन्। उनले मूलतः अरूले गरेका अध्ययनका आधारमा विषयहरूको सङ्ग्रह र प्रतिपादन गरेका मात्र हुन्। हाम्रा पिताजीका विद्वत्ताका र उहाँले रचना गरेका ग्रन्थका विशेषताका विषयमा केही चर्चा पाणिनीय व्याकरण र कौण्डन्न्यायनशिक्क्षा (२०७९।१०।८) तथा पाणिनीय व्याकरणका परिष्कारमा नेपाली विद्वान्को योगदान (२०८०।४।३) भन्ने लेखहरूमा पनि गरिएको छ।

विगत १००० वर्ष जतिदेखि स्वशाखा-श्रुति-सूत्रका प्रतिकूल रूपमा धेरैतिरका परम्पराबाट प्रभावित र मिश्रित भएर चलेका कर्मकाण्डपद्धतिहरूलाई संशोधन र परिष्कार गरेर पूर्णतया स्वशाखाका श्रुति र सूत्रका अनुकूल बनाएर परिशुद्ध पार्ने काम पनि उहाँले गर्नुभएको छ। उहाँका कर्मकाण्डसम्बद्ध प्रकाशित ग्रन्थहरूमा वैदिक-मन्त्र-सङ्ग्रह: (२०५२), स्नान-सन्ध्योपासन-ब्रह्मयज्ञ-तर्पण-भोजन-पद्धतिहरू (२०५६, २०५७, २०५९, २०६१, २०६६), विभिन्न संस्कारका पद्धतिहरू (२०७६, २०८०), अन्त्यकर्मपद्धति (२०६५) र श्राद्धपद्धतिहरू (२०५८, २०६४, २०७२) प्रमुख हुन्। उक्त ग्रन्थहरूमा विवेचनात्मक विस्तृत भूमिका पनि नेपाली भाषामा छन्। तिनमा अरूले प्रकाशित गरेका कर्मकाण्डपद्धतिहरूमा रहेका स्वशाखा-श्रुति-सूत्रका प्रतिकूल कुराहरूको र त्रुटिहरूको सप्रमाण विवेचना गरिएको पनि छ। यी ग्रन्थबाट आस्तिक र श्रद्धालु व्यक्तिहरूले आफ्ना कर्ममा शुद्धता ल्याउन धेरै सहयोग पाउन सक्ने देखिन्छ।

वैदिक-मन्त्र-सङ्ग्रहमा अशुद्धि छन् भनेर अशिष्ट भाषामा लेख छपाउने प्रा.डा. रामचन्द्र गौतमका भ्रमपूर्ण र अबोधमूलक लेखाइको विस्तृत रूपमा एकएक गरेर खण्डन सर्वसाधारण जिज्ञासु व्यक्तिले पनि वैदिक विधिविधानको महत्त्वसमेत बुझ्ने गरेर सरल भाषामा सप्रमाण पिताजीले प्रकाशित गर्नुभएको थियो (स्वाद्ध्यायशाला-कुटुम्बको स्वधर्मसन्देश २, २०५६)। वैदिक कर्मकाण्डका शुद्ध कुरा केकस्ता हुन् अशुद्ध कुरा केकस्ता हुन् भनेर राम्ररी बुझ्न चाहनेहरूका निम्ति सजिलो होस् भन्ने उद्देश्यले उक्त विवेचना अन्त्यकर्मपद्धति (अन्त्येष्टिकर्मपद्धति, रत्न पुस्तक भण्डार, २०६५) मा पनि प्रकाशित गरिएको छ।

अर्काको आलोचना गर्न चाहनेले त्यसमा पनि विशेष गरी बहुशास्त्रज्ञ विशिष्ट विद्वान्ंले लेखेका कुराको आलोचना गर्न चाहनेले जसको लेखाइको आलोचना गर्न खोजेको हो त्यसले भन्दा गहिराइमा पुगेर त्यो विषय बुझेको वा अध्ययन गरेको हुनुपर्छ।

उक्त विवेचनाबाट नबुझीकन शुद्ध कुरालाई अशुद्ध र अशुद्ध कुरालाई शुद्ध भनेर लेखेका र विनामेसै आक्षेप लगाएका धेरै कुराहरूको सप्रमाण उत्तर प्राप्त हुन्छ। साथै स्ववेदशाखीय कर्मकाण्डपद्धतिका शास्त्रीय मान्यताका विभिन्न कुराहरू बुझ्न सरल पनि हुन्छ। यसबाट हिजोआजका पढेलेखेकै ठानिएका र विश्वविद्यालयमा पद पाएका व्यक्ति पनि कतिसम्म अज्ञानी भएर भ्रममा परेर लेख्दा रहेछन् भन्ने कुरा पनि स्पष्ट हुन्छ। यसबाट अरूहरूले पनि शिक्षा लिएर कसैको ग्रन्थको विनाविवेक मूल्याङ्कन गर्न नहुने रहेछ भन्ने कुरामा सचेत र सावधान हुनुपर्ने देखिन्छ।
हाम्रा पिताजीले रचना गर्नुभएका एकोद्दिष्टश्राद्धपद्धति, पार्वणश्राद्धपद्धति इत्यादि कर्मकाण्डपद्धति र तिनमा लेखिएका विस्तृत भूमिकाहरूले पनि आस्तिक श्रद्धालु जनलाई माध्यन्दिनीय-वाजसनेयि-शाखाका मूल शुद्ध कर्मकाण्डपद्धति कस्ता हुन्छन् र अहिले कस्ता कर्मकाण्डपद्धति समाजमा चलिरहेका छन् भनेर छर्लङ्ग बुझ्न सजिलो बनाइदिएका छन्।

आफ्ना अल्पज्ञानले आफू भ्रममा परेको कुरा पत्तै नपाई अरूले लेखेका शुद्ध कुरालाई अशुद्ध ठान्ने र आफ्ना अज्ञानपूर्ण भ्रमात्मक अशुद्ध कुरालाई शुद्ध ठान्ने विडम्बनापूर्ण स्थिति पनि समाजमा आउँदो रहेछ। यस्ता उदाहरण हिजोआज पाइन थालेका छन्। त्यसैले अल्पज्ञानी व्यक्तिले बहुशास्त्रज्ञ व्यक्तिले लेखेका विषयमा उतर्सिएर खण्डन गरिहाल्न नहुने र कदाचित् त्यसो गरियो भने आफैँ मूर्ख ठहरिने स्थिति आउन पनि सक्ने रहेछ भनेर शिक्षा लिनुपर्ने देखिन्छ। अर्काको आलोचना गर्न चाहनेले त्यसमा पनि विशेष गरी बहुशास्त्रज्ञ विशिष्ट विद्वान्ंले लेखेका कुराको आलोचना गर्न चाहनेले जसको लेखाइको आलोचना गर्न खोजेको हो त्यसले भन्दा गहिराइमा पुगेर त्यो विषय बुझेको वा अध्ययन गरेको हुनुपर्छ। यस विषयमा हाम्रा पिताजीले बारम्बार भनिरहने मीमांसकशिरोमणि कुमारिल भट्टको तन्त्रवार्तिकमा उल्लिखित एउटा श्लोक यहाँ उद्धृत गर्नु पनि सान्दर्भिक नै होला–

बहुवेदगतन्यायविवेकज्ञो यदब्रवीत्।
कात्यायनो न तद् वाच्यमन्याय्यमिति मादृशैः।।१।३।११।।

अर्थात् वेदको अर्थ गर्नका लागि चाहिने उपयोगी धेरै न्यायहरूका विज्ञ र तिनका आधारमा विवेकपूर्ण तरिकाबाट वेदको अर्थ गर्न सक्ने कात्यायन मुनिले कल्पसूत्रमा जे भन्नुभएको छ त्यसमा मजस्ताले टिप्पणी वा आलोचना गर्नु अन्याय्य हुन जान्छ।

सोह्रश्राद्धमा दैवपूर्व कर्म
कातीय श्राद्धसूत्रमा “दैवपूर्वं श्राद्धम्” मात्र भनिएको र त्यसको अपवाद त्यहाँ नबताइएकाले श्राद्धका सबै कर्म दैवपूर्वक नै गर्नुपर्ने देखिन्छ। उत्सर्गले प्राप्त कुरा अपवादले निषेध गरेमा मात्र निषिद्ध हुन्छ, अन्यथा निषिद्ध हुँदैन। यो कुरा सबै शास्त्रमा लागु हुन्छ। त्यसैले पैला वैश्वदेव ब्राह्मणको विसर्जन गरेर त्यसपछि पित्रादिब्राह्मणको विसर्जन गर्नुपर्छ। यही कुरा हाम्रा पिताजीले राम्ररी विवेचना गरेर सप्रमाण लेखिसक्नुभएको थियो (पार्वणश्राद्धपद्धति, प्र.सं. २०६४, भूमिका पृ.९६-९८, पद्धति पृ.२५४-२५६, द्वि.सं. २०७२, भूमिका पृ.१२२-१२४, पद्धति, पृ.२८३-२८५)। तथापि त्यहाँ लेखिएका कुरालाई कोषराज न्यौपानेले सप्तश्राद्धसङ्ग्रहमा (२०७७, पृ. ७१४-७१६) फितला तर्क भन्दै त्यो कुरा अशुद्ध हो भन्ने धृष्टता गरेको पाइयो। यो उनको अल्पज्ञानको र दुराग्रहको परिणाम मात्र हो।

अरूले लेखेका कुरालाई यो शुद्ध हो भन्न जति सजिलो हुन्छ यो अशुद्ध हो भन्न त्यति सजिलो हुँदैन। ग्रन्थकारको भन्दा धेरै नै बढी अध्ययन गरेका विद्वान्ले मात्र तिनका ग्रन्थमा दोष देख्न सक्छन्। अन्यथा आफ्ना अल्पज्ञानले शुद्धलाई अशुद्ध र अशुद्धलाई शुद्ध पनि देख्ने सम्भावना हुन्छ। यसरी पहिला उतर्सिएर लेख्ने अरूहरू पनि पछि खण्डन आइसकेपछि त्यसको सटीक जबाफ दिन नसकेर मूर्ख ठहरिन पुगेका वा अवाक् हुन पुगेका वा किङ्कर्तव्यविमूढ भएर अण्टसण्ट बोल्दै हिँडेका पनि देखिएका छन्। कोषराजजीले याज्ञवल्क्यस्मृतिको वचन भनेर उल्लेख गरेको “दैवपूर्वं भवेच्छ्राद्धं पितृपूर्वं विसर्जनम्” (पृ. ७१४) भन्ने वचन त्यहाँ छैन। याज्ञवल्क्यस्मृतिमा त “वाजेवाज इति प्रीत: पितृपूर्वं विसर्जनम्” (विश्वरूपको पाठ १.२४३, विज्ञानेश्वरको पाठ १.२४७) छ। अर्काको आलोचना गर्न तम्सने मान्छेले यस्तो भद्दा त्रुटि आफूले गर्न हुन्थेन।

याज्ञवल्क्यस्मृतिका कतिपय विषय माध्यन्दिनीय शाखामा मिल्दैनन् भन्ने कुरा नबुझ्नाले उनलाई कात्यायनको वचनभन्दा याज्ञवल्क्यको वचन प्रामाणिक लाग्न पुगेछ। ग्रन्थहरूको स्वरूप र बलाबल (जेठकान्छी) नबुझ्नाले अरू कसैले पनि अन्यत्र “कात्यायनका पिता याज्ञवल्क्य भएकाले पारस्करगृह्यसूत्रको भन्दा बढी मान्यता याज्ञवल्क्यस्मृतिको हुन्छ” भनेर गलत कुरा लेख्न पुगेको समेत देखिन्छ। माथि उल्लिखित पुस्तिका (स्वाद्ध्यायशाला-कुटुम्बको स्वधर्मसन्देश २, २०५६) बाट पनि कोषराजजीले नबुझीकन शुद्ध कुरालाई अशुद्ध भनेर आक्षेप लगाएका कुराहरूको समेत सप्रमाण उत्तर प्राप्त हुन्छ र स्वशाखीय कर्मकाण्डपद्धतिका शास्त्रीय मान्यताको कुरा बुझ्न सरल हुन्छ। साथै पुराणमा आएका वचनहरूमध्ये स्वशाखाका अनुकूल वचनको मात्र अनुसरण गर्नुपर्छ, परशाखीय कुराका अनुकूल वचनको अनुसरण गर्न हुँदैन भन्ने कुराको सोदाहरण व्याख्या पनि त्यहाँ पाइन्छ।

याज्ञवल्क्यस्मृतिले यस सन्दर्भमा शुक्लयजुर्वेदका बैजवाप, जाबाल, बौधेय, काण्व, शापेय, आवटिक, गालव इत्यादि १५ ओटा शाखाहरूमध्ये (द्रष्टव्य– मेरो “वेदवेदाङ्गोपाङ्गविमर्शः” २०७९, पृ. ११२) बैजवापादि अन्य शाखाको अनुसरण गरेको, माध्यन्दिनीय शाखाको अनुसरण नगरेको कुरा विद्वान्ले बुझाउँदा पनि नबुझ्ने स्थिति कोषराजजीको रहेछ। यति कमजोर योग्यता भएका व्यक्तिले भारतवर्षभरिकै अद्वितीय विद्वान् बहुशास्त्रज्ञ हाम्रा पिताजीले विवेचना गरेर टुङ्ग्याइसकेका विषयमा केको खण्डन गर्न तम्सिएका होलान्? अरू तटस्थ व्यक्तिले पनि यस विषयको मूल्याङ्कन गर्लान्।

कतै कात्यायनको नाम पर्नेबित्तिकै कात्यायनकै मूल सूत्रग्रन्थका भनाइसित विरोध पर्ने अनिर्ज्ञातमूल (मूल थाह नभएको) वचन पनि प्रामाणिक नै हुन्छ भनेर ठान्ने कोषराजजी यहाँचाहिँ कात्यायनकै श्राद्धसूत्रको मूल वचनविरुद्ध किन बोल्न पुगेका होलान्? आफैँले “महर्षि कर्क” भनेर प्रामाणिक व्याख्याताका रूपमा बारम्बार उल्लेख गरेका कर्कले नै कात्यायन¬श्राद्धकल्पसूत्रका व्याख्यामा “यत् किञ्चित् क्रियते तत् सर्वं दैवपूर्वम्” (पारस्करगृह्यसूत्र, पञ्चभाष्ययुक्त पुस्तक, पृ.४४३) भन्दै पार्वणश्राद्धमा सबै कर्म दैवपूर्वक नै हुन्छन् भनेर स्पष्ट निर्णय गरेका कुरामा उनको ध्यान गएको छैन। अथवा कर्कले सूत्रको अर्थै बुझेनन् मैले बुझेँ भन्ने उनको दम्भपूर्ण भनाइ पनि हुन सक्छ! कर्क कात्यायनश्रौतसूत्र र पारस्करगृह्यसूत्रको व्याख्या गर्ने सबैभन्दा प्रामाणिक र अरू व्याख्याताले बिराएका ठाउँमा पनि ठिक अर्थ गर्न सक्ने प्राचीन व्याख्याता हुन् भन्ने कुरासमेत यहाँ स्मरणीय छ। माथि उल्लिखित कुराको ज्ञान नहुनेलाई र कल्पसूत्रको तथा स्मृतिको भेदसम्म पनि नबुझ्नेलाई कात्यायनको वचनभन्दा याज्ञवल्क्यको नाम परेको स्मृतिको वचन यस सन्दर्भमा अनुसरणीय लाग्न सक्छ। तर त्यो कुरा यथार्थ होइन।

पुराणका वा अनिर्ज्ञातमूल अन्य वचनमा आएका हेतु देखाउने कुरा अर्थवादरूप हुन्। तिनमा विधायकता हुँदैन। मूल कल्पसूत्रले विधान गरेका कुरामा तिनको उपयोग भए पनि मूल कल्पसूत्रले विधान नगरेपछि तिनको हेतुप्रदर्शनको कुनै उपयोगिता र औचित्य हुँदैन। यो मीमांसाशास्त्रबाट बुझिने कुरा हो। ग्रन्थहरूको स्वरूप र बलाबल (जेठकान्छी) बुझ्नेले मात्र यस्तो कुरा बुझ्न सक्छन्। वेद र कल्पसूत्रको गुरुमुखी अध्ययन गरेका अथवा शास्त्रको रोहरित (तौरतरिका) बुझेका व्यक्तिले त यो कुरा अवश्यै बुझ्न सक्छन्।

महाराष्ट्रका परम्परागत माध्यन्दिनीयशाखी ठुला वैदिक ब्राह्मण अण्णा शास्त्री वारेले “कर्मकाण्डप्रदीप” (सम्पादक वासुदेव शास्त्री पणशीकर, कृष्णदास अकादमी, वाराणसी, पुनर्मुद्रण सन् १९५५) भन्ने ग्रन्थमा– “मनुयाज्ञवल्क्याभ्यां निमन्त्रणादिपदार्थजातं सर्वं दैवपूर्वमुक्तम्, विसर्जनं तु पितृपूर्वमिति। सूत्रकारमते दैवपूर्वं श्राद्धमिति सूत्रात् निमन्त्रणादि विसर्जनान्तं पदार्थजातमखिलं दैवपूर्वं भवति” भनेका छन् (पत्र २६०)। अर्थात्– मनु र याज्ञवल्क्यद्वारा निमन्त्रणादि अरू सम्पूर्ण पदार्थ दैवपूर्व हुन्छन् भनियो, तर विसर्जनचाहिँ पितृपूर्वक हुन्छ भनियो। सूत्रकारका (कात्यायनका) मतमा “दैवपूर्वं श्राद्धम्” भन्ने सूत्रानुसार निमन्त्रणदेखि विसर्जनसम्मकै सम्पूर्ण अनुष्ठेय पदार्थ दैवपूर्वक नै हुन्छन्। यसरी मनु र याज्ञवल्क्यले भने तापनि आफ्ना शाखाका कल्पसूत्रको मत नै अनुसरणीय भएकाले सबै कर्म दैवपूर्वक नै हुन्छन् भन्ने निष्कर्ष यहाँ दिइएको छ। अण्णा शास्त्रीले पद्धति पनि त्यस्तै देखाएका छन् (पत्र २८२ पूर्वपृष्ठ)। माथिको विवेचनाबाट माध्यन्दिनीय–शाखाध्यायीले याज्ञवल्क्यस्मृतिको वचनलाई यहाँ अनुसरण गर्न मिल्दैन भन्ने कुरा स्पष्ट हुन्छ।

उपसंहार
बजारमा पाइने अन्य सबै श्राद्धपद्धतिहरूमा स्वशाखाश्रुतिको र कल्पसूत्रको अनुसरण नगरिएकाले ती माध्यन्दिनीय-वाजसनेयि-शुक्लयजुर्वेदाध्यायीहरूका निम्ति अग्राह्य छन्। शुद्ध पद्धति प्रकाशित भैसकेपछि आस्तिकजनले त्यसकै प्रयोग र प्रचार गर्ने हो, अशुद्ध पद्धति छपाउनतिर लाग्ने हैन भन्ने कुरामा सज्जनहरूको ध्यान जान आवश्यक देखिन्छ। कोषराजजीका श्राद्धपद्धतिमा पनि पूर्ण रूपमा न कात्यायनको अनुसरण गरिएको छ, न त याज्ञवल्क्यको नै अनुसरण गरिएको छ। स्वशाखाश्रुति र कल्पसूत्रको अनुसरण नगरिएकाले ती श्राद्धपद्धति माध्यन्दिनीय-वाजसनेयि-शुक्लयजुर्वेदाध्यायीहरूका निम्ति अग्राह्य छन्। त्यहाँ दिइएको तर्पणपद्धति पनि कात्यायनका अनुयायीका निम्ति धेरै नै अशुद्ध देखिन्छ। त्यहाँ साइबाबालाई समेत तर्पण गर्ने पनि भनिएको रहेछ! आफ्ना श्रुतिसूत्रसित नमिल्ने कुरालाई पर्गेल्नै नसक्ने र आफ्ना श्रुतिसूत्रका अनुकूल कुरा ठम्याउनै नसक्ने तथा विशिष्ट विद्वान्ले कुरा बुझाउँदा पनि बुझ्न नचाहने व्यक्तिले पुस्तक छपाएर मेरो यो पद्धति शुद्ध छ भनिदिँदा अबोध आस्तिकजन प्रति घोर अन्याय हुन पुगेको छ।

आफ्ना अशुद्ध श्राद्धपद्धतिका समर्थनमा र प्रचारमा अन्याय्य प्रकारले वयोवृद्ध व्यक्तिलाई समेत अशास्त्रीय कुरा धेरै बोल्न लगाउनु उनको झनै अनुचित कार्य हो। न्यायादि अन्य शास्त्रको र अर्वाचीन धर्मशास्त्रनिबन्धको अध्ययन गरे पनि गुरुमुख गरेर पढ्नुपर्ने र तदनुसार कर्म गर्नुपर्ने वेद-वेदाङ्ग तथा कल्पसूत्र-परिशिष्टसूत्रजस्ता मूल ग्रन्थको गम्भीर अनुशीलन नभएकाले स्मृति, धर्मशास्त्रनिबन्ध र पद्धतिहरूको परीक्षण गर्ने योग्यता नपुगी उक्त प्रकारका अशुद्ध पद्धतिलाई पनि प्रामाणिक भनेर बोल्दिनु बोल्नेको समेत ठुलै कमजोरी देखिन्छ। त्यस्ता अशास्त्रीय कुराको स्वधर्मबुद्धिले सप्रमाण खण्डन हामीले गरिसकेका पनि छौँ र पछिपछि पनि गरिरहने छौँ। तटस्थ पाठकले हाम्रा पिताजीले रचना गर्नुभएका पूर्णतया स्वशाखा-श्रुतिसूत्रका अनुकूल श्राद्धपद्धतिहरूका भूमिकामा विवेचना गरिएका सबै विषय पढेर तथा मनन गरेर आफ्ना शाखाका वेदमन्त्र, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र परिशिष्टग्रन्थहरूको महत्त्व र अनुसरणीयता बुझ्न उचित हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?