
जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी प्रयास साकारात्मक दिशामा नगएको वा त्यसको उपलब्धी जलवायु परिवर्तनको असर कम गर्ने तर्फ नदेखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
पछिल्लो अध्ययन अनुसार चार वर्षको अवधिमा पहिलोपटक कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा बढेको देखिएको छ ।
इमिसन ग्याप रिपोर्टका अनुसार सन् २०१७ मा कार्बनडाइअक्साइडको उत्सर्जन त्यसअघिका चार वर्षको तुलनामा बढी रहेको देखिएको हो । यसको प्रमुख कारण आर्थिक उन्नतीका लागि गरिएका प्रयासहरु, जसका लागि वातावरणीय प्रभावको बेवास्ता गरिनु रहेको प्रतिवेदनमा उल्लेख छ ।
विश्वव्यापी रुपमा सबै देशहरुले कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा कम गर्ने प्रयास गरिरहेका बेला सन् २०१७ मा अघिल्ला केही वर्षको तुलनामा बढेको देखिएको हो ।
सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले सन् २०२० सम्ममा कार्बन उत्सर्जन घटाउने भनी तय गरेका उद्देश्य पूरा गर्नका लागि पछिल्लो अवस्था चुनौतीपूर्ण देखिएको छ । तर यसले कार्बन उत्सर्जन कम गर्ने प्रयासलाई थप सघन बनाउनका लागि सचेत बनाएको छ ।
इमिसन ग्याप रिपोर्टले सन् २०२० का लागि तय गरिएको लक्ष्य सन् २०३० सम्म पनि पूरा गर्न मुश्किल देखाएको छ । पोल्याण्डमा आउँदो डिसेम्बर २ देखि १४ सम्म संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुँदैछ । त्यसको पेरिफेरि पारेर प्रतिवेदन सार्वजनिक भएको हो ।
संयुक्त राष्ट्रसंघको वातावरणीय निकाय युएन इनभाएरोमेन्टले गएको ९ वर्षदेखि इमिसन ग्याप रिपोर्ट प्रकाशित गर्दै आएको छ । यसमा विश्वव्यापी रुपमा भइरहेको ग्रिनहाउस ग्यासको उत्सर्जनको अहिलेको अवस्था र भविष्यको पूर्वावस्थाको आँकलन गरिएको हुन्छ ।
विश्वव्यापी तापमान सुरक्षित अवस्थामा रहनका लागि हाम्रो पृथ्वीले बहन गर्न सक्ने ग्रिनहाउस ग्यास र त्यसको वास्तविक अवस्थाबारे प्रतिवेदनमा तुलनात्मक रुपमा उल्लेख गरिएको हुन्छ । जलवायु परिवर्तनको असर कम गर्नका लागि देशहरुले गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयको अवस्थाको लेखाजोखा पनि प्रतिवदेनमा गरिएको हुन्छ ।
यो वर्षको प्रतिवेदनमा कार्बन उत्सर्जनको अहिलेको अवस्था र सुरक्षित अवस्थाका लागि हुनु पर्नेबिचमा फराकिलो अन्तर देखिएको छ ।
किन बढिरहेको छ उत्सर्जन ?
सन् २०१४ देखि २०१६ को बिचमा विश्वव्यापी रुपमा कार्बन उत्सर्जनको मात्रा लगभग स्थायी थियो वा उस्तै थियो, किनकी यो अवधिमा विश्वव्यापी आर्थिक गतिविधि र बृद्धि सुस्त गतिमा भएको थियो ।
तर सन् २०१७ मा कार्बन उत्सर्जन अघिल्ला वर्षको तुलनामा १.२ प्रतिशतले बढेको छ, किनकी जिडिपी पनि यो अवधिमा विश्वव्यापी रुपमा बढेको छ ।
कार्बन उत्सर्जनको बृद्धि कम मात्रै भएको देखिए पनि विश्वव्यापी रुपमा कम कम गर्नका लागि प्रयास भइरहँदा पनि बढ्नु चुनौतीपूर्ण र खतरायुक्त रहेको जलवायु परिवर्तनको क्षेत्रमा अध्ययन गरिरहेका वैज्ञानिकले बताएका छन् । यसले विश्वव्यापी तापमान बृद्धि १.५ डिग्रिसेल्सियसमा सीमित गर्ने प्रयासमा असर गर्ने देखिएको छ ।
तापमान बृद्धि अहिले तय गरिएको भन्दा तलको अवस्थामा राख्नका लागि सन् २०३० सम्ममा कार्बन उत्सर्जन अहिलेको भन्दा ५५ प्रतिशतले कम गर्नु पर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सबै देशले तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि भइरहेका प्रयासलाई अझ बढाउनु पर्ने विज्ञले बताएका छन् । अहिलेको अवस्था नै कायम रहे यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम अहिलेको भन्दा ३.२ डिग्रीले बढ्नेछ ।
अर्जेन्टिना, अस्ट्रेलिया, क्यानडा, बेलायतसहितका युरोपेली देश, दक्षिण कोरिया, दक्षिण अफ्रिका र अमेरिका सन् २०३० का लागि तोकिएको लक्ष्य पूरा गर्ने बाटोमा गर्नुपर्ने प्रयासमा खरो उत्रिन नसकेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।