राम खत्रीको संघर्ष

कोरियामा फेल! लोक सेवा पास!!

कोरियामा फेल! लोक सेवा पास!!
+
-

लोक सेवा पास गरेर सरकारी जागिरे बन्नु सपना हो, कम्तिमा ती युवाहरुका लागि जो आफ्नो भविष्य आर्थिक, पारिवारिक तथा सामाजिक रुपमा सुरक्षित गर्न चाहन्छन् । लोकसेवा फारम भर्न जति सजिलो छ, यस्तो सहज छैन परीक्षामा पास हुन ।

कतिले यो वर्ष भएन, अर्को वर्ष । यता भएन उता गर्दै सरकारी जागिरका लागि फारमको लाइन बस्छन् । अनि परीक्षाको तयारी, र पनि सफलता नजिक देखिँदैन । तर रामबहादुर खत्री (२५) लाई यो सफलता हासिल गर्न जम्मा पाँच महिना लाग्यो ।

उनी अहिले राष्ट्रिय वाणिज्य बैंकको नगद सहायकका रुपमा कार्यरत छन्, मुगु जिल्लामा । यो सफलता चुम्न उनले त्यो पाँच महिना कुन तहको कठिन मेहनत गरे भन्ने कुरा बुझ्न उनको दुई शब्द नै काफी छ । त्यो हो ‘कुर्चीमै निदाउथे’ । यसबारे तल चर्चा गरिनेछ।

उनको बिगत


कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ कुचैनीमा राम खत्रीको घर छ । बुवा शिक्षक थिए । बीचमै जागिर छुट्यो । प्लस टू को पढाई सकेका खत्रीको त्यसपछि बिसिए (ब्याचलर इन कम्प्यूटर एप्लिकेशन) पढ्ने इच्छा पूरा हुन कठिन भयो ।

वार्षिक साढे ३ लाख कलेजमै बुझाउनु पर्ने, उनी एक लाख बोकेर सदरमुकाम धनगढी हानिए, जागिर र पढाई सँगै गर्ने सोचका साथ । धनगढीको नाष्ट कलेजमा प्रवेश परीक्षा दिए । ४० जनाको सिटका लागि प्रवेश परीक्षा दिने सयौँ थिए । खत्रीले १२ नम्बरमा नाम निकाले । त्यसअघि नै उनले एक फेन्सी पसलमा जागिर सुरु गरिसकेका थिए, तलब थियो महिनाको दुई हजार ।

घरबाट ल्याएको एक लाख, जागिर गर्दा महिनाको दुई हजारले वर्षको २४ हजार, खत्रीको मनमा चिसो पस्यो । जागिर गर्दा पनि चाहेको पढाई पूरा गर्न नसकिने भएपछि उनले त्यो ईच्छा लत्याए र कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पढ्न भर्ना भए ।

पहिलो कमाईले रेडियो किने, त्यसपछि रेडियोमै जागिर


गाउँमा बस्दा रेडियो नेपाल सुन्ने गरेका खत्रीलाई रेडियोमा बोल्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । धनगढीमा एफएम रेडियोहरु खुलेको धेरै भएको थिएन । रेडियो सुन्न सोखिन खत्रीले फेन्सी पसलमा सुरु गरेको जागिरको पहिलो तलबले रेडियो किने ।

स्थानीय दिनेश एफएममा रेडियो कार्यक्रम प्रस्तोताका लागि आवदेन खुलेको कुरा रेडियोबाटै थाहा पाए । उनले आवेदन भरे । तर खत्रीको रेडियोमा बोल्ने चाहना पूरा भएन । पहिलो चरणको स्वर परीक्षाबाटै उनी छनौटमा परेनन् ।

निराश भएर फर्के पनि खत्रीको मनमा रेडियोमा बोल्न सक्छु भन्ने हिम्मत कम भएको थिएन । उनले प्रयास गर्दै गए । धनगढीको रेडियो सुदूर सन्देशले अवसर दियो । त्यहाँ उनले दुई वर्ष काम गरे । समाचार तथा कार्यक्रममा आवाज दिएका खत्रीलाई शहरले चिन्न थाल्यो । राम्रो काम गर्दै गएपछि सुरुमा स्वर परीक्षामै छनौट नगरेको दिनेश एफएमले पनि पछि आफूलाई काम गर्ने अवसर दिएको खत्री बताउँछन् ।

अनि रेडियोको यात्रा टुङ्गीयो


सुरुमा रेडियो सुन्ने बानी परेका खत्रीलाई पछि रेडियोमा बोल्ने बानी लाग्यो । तर केही वर्ष काम गरिसकेपछि अब रेडियोमा बोल्ने बानी छुटाउनुपर्छ भन्ने निणर्यमा पुगे । ‘मिडियामा काम गरेर मेरो सपना पूरा हुन्छ जस्तो लागेन, अनि काम छोडेँ’ उनी भन्छन्, ‘बाहिरबाट जुन सपना मैले मिडियामा देखेको थिए पछि आफै भित्र गएर काम गर्दा त्यसभन्दा भिन्न पाएँ ।’

एमआरमा देशभरिमै उत्कृष्ट


अचानक रेडियोको जागिर छोडेर हिँडेका खत्री त्यसपछि एमआर (मेडिकल रिप्रिजेन्टेटिभ) बने । एक निजी कम्पनीमा आकर्षक तलबका साथ काम गरेका खत्रीले पहिलो वर्षमै देशभरिबाट उत्कृष्ट कर्मचारीको अवार्ड जिते ।

जिन्दगी हाँसिखुशी चलिरहेको थियो । यहि बिचमा उनले धन कमाउन कोरिया जाने मनसाय बनाए । कोरियन भाषा परीक्षाको तयारी कक्षा पनि लिए । परीक्षा दिए तर त्यसमा अनुत्तिर्ण भए ।

‘सायद मेरो भाग्यमा विदेशिनु थिएन, कोरियाको परीक्षामा एक नम्बरले फेल भएँ । मलाई भगवानले राम खत्री तँ स्वदेशमै केही गर भनेको जस्तै महसुस भयो अनि विदेशिने रहर पनि त्यागेँ’ खत्री भन्छन् ।

कोरियन भाषा परीक्षामा फेल भएका खत्रीले एमआरको जागिरमा भने थप सफलता पाए । उनलाई कम्पनीले स्थायी कर्मचारीमा नियुक्त ग¥यो । राम्रो तलब भएपछि बेला बेला घरमा खर्च पनि पठाउन भ्याएका थिए । तर अकस्मात उनले एमआरको जागिरबाट पनि बिदा लिए ।

आमाको एक शब्दले एमआरबाट पनि छुट्टी


राम खत्रीलाई आफूलाई मन पर्ने पेशा थियो सञ्चारकर्मी तर उनकी आमाको सपना भने छोरा ब्याङ्कर बनोस् भन्ने थियो ।

‘एमआर न मेरो रहरको पेशा न मेरी आमाको, आफ्नो रहरको पेशा मिडियाबाट म अघाइसकेको थिएँ, चाहेको विषय पढ्न समेत सकिएन, छोरा ब्याङ्कर बनोस् भन्ने आमाको चाहना किन पूरा नगर्ने भन्ने सोच मनमा प्रवल बन्दै गयो । अनि मैले एमआरको जागिर पनि छोडेँ’, खत्री भन्छन् ।

दोस्रो दिनबाटै ब्याङ्करको तयारी, पाँच महिनामै सफलता


२०७४ साल भदौ ३० गते एमआरको जागिर छोडेका राम खत्रीले त्यसको दोस्रो दिन (असोज १) बाटै बैंकिङ कोर्षको कक्षा लिन सुरु गरे । यो बेला आर्थिक समस्या नहोस् भनेर उनले फेरि धनगढीकै रेडियो डेली मेलमा यात्रा सुरु गरे । दिनभरि फुल टाइम रिर्पोटरको काम । खत्रीलाई पढाईका लागि रातिको मात्रै समय थियो ।

‘बिहान साढे ६ बजेदेखि आधाघण्टा समाचार पढ्ने समय । सात बजेदेखि बैंकिङ कोर्षको पढाई थियो त्यहाँ पुग्न हिँडेर १५ मिनेट लाग्थ्यो । कक्षाको सुरुको महत्वपूर्ण १५ मिनेट सधैँ छुट्थ्यो’, खत्री भन्छन् ।

बिहान रेडियोको समाचार, त्यसपछि बैंकिङ तयारी कक्षा सकेर कोठा पुग्ने, आफै खाना पकाउने अनि खाना खाएर फेरि दिनभरिको रिर्पाेटिङ । खत्री साँझ साढे सात बजेपछि कोठा पुग्थे अनि खाना पकाएर खाइसकेपछि सुरु हुन्थ्यो उनको पढाईको क्रम ।

‘पढ्ने समय राति मात्रै थियो । कति बजेसम्म पढ्ने भन्ने तालिका थिएन । कहिले पढ्दा पढ्दै बिहान हुन्थ्यो । कहिले निदाएर कुर्चीबाटै ढल्थेँ’ खत्री भन्छन्, ‘पाँच महिना मोबाइल र सामाजिक सञ्जाल पूर्ण रुपमा बन्द गरेर पढाईमा ध्यान दिएको थिएँ ।’

राष्ट्रिय वाणिज्य बैंकले देशभरबाट २१ जना कर्मचारी माग गरेको थियो । खत्रीको नाम पहिलो पाँच नम्बरमा निस्क्यो । ‘आमाको सपना पूरा गर्न सकेँ, नतिजा थाहा हुँदा हर्षको आँशु झरेको थियो । यो खबर आमालाई सुनाउँदाको क्षण जीवनको अहिलेसम्मकै सबैभन्दा आनन्ददायक थियो’, खत्री भन्छन् ।

हुन त लिखितको नतिजामा नाम निकालेका बेला खत्रीलाई सोर्स फोर्स लगाउनुपर्छ, तिम्रो नाम कसरी निस्केला पनि भन्थे मान्छेहरुले । यो कुराको डर खत्रीको मनमा पनि थियो त्यतिबेला । तर अन्तर्वार्तापछि अन्तिम नतिजा सार्वजनिक हुँदा भने खत्रीलाई लोक सेवा आयोग निष्पक्ष लाग्यो ।

‘जब अन्तर्वार्ताको पनि नतिजा निस्क्यो त्यतिबेला मलाई लाग्यो नेपालमा भरोसा गर्न लायक एक मात्र सरकारी संस्था कोहि छ भने त्यो लोक सेवा आयोग हो, खत्री सुनाउँछन् ।

यात्रा विशेष बनाउन विकट


मानिसहरु सुविधाभोगी छन् । सकेसम्म सुगममै बस्न अनेक हत्कण्डा अपनाउँछन् । तर राम खत्रीले भने सरकारी जागिरे जीवनको सुरुवात विकट मुगु जिल्लाबाट गरे ।

‘म मेरो जागिरे जीवन अविस्मरणीय बनाउन चाहन्थे त्यसैले दुर्गम र विकट हिमाली जिल्ला मुगेको गमगडी जाने निधो गरे । मैले जिल्ला छनौट गर्ने क्रममा मुगु रोजेपछि हलमा ताली बजेको थियो । तालीको गड्गडाहट सुनेपछि मुगुको यात्रा झनै रोमाञ्चक बन्यो । भोलिका दिनमा मुुगुका मेरा यि क्षणहरु अवश्य याद होलान्’, खत्रीले भने ।

परिवार खुशी म पनि खुशी


राम खत्री अहिले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय मुगुमा नगद सहायकका रुपमा कार्यरत छन् । छोटो समयमै जीवनमा केही सफलता र अनेकन असफलताको स्वाद चाखिसकेका उनी अहिले आत्मसन्तुष्टिको गोरेटोमा हिँडिरहेको बताउँछन् ।

‘म भन्दा धेरै मेरो परिवार खुशी छ, आमा खुशी हुनुहुन्छ, सबैको प्रेरणा मिलिरहेको छ । यी सब चिजहरु प्राप्त गरेको छु । म त यसै खुशी, त्यसै खुशी…’ यत्ति भनिरहँदा राम खत्री आनन्दको मुस्कान छरिरहेका थिए ।

यो पनि पढ्नुहोस्

आमाको ममता र प्रेमिकाको प्रेमबाट वञ्‍चित भएपछि कोरिएको संघर्षको गोरेटो

आमाको ममता र प्रेमिकाको प्रेमबाट वञ्‍चित भएपछि कोरिएको संघर्षको गोरेटो

टीकापुर हत्याकाण्ड: प्रहरीको वाकिटकीमा सुनिएको त्यो संवाद

टीकापुर हत्याकाण्ड: प्रहरीको वाकिटकीमा सुनिएको त्यो संवाद

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?