
पोखरा– पढाईलाई उमेरले छेक्दैन भन्ने यथार्थ दुई फरक क्षेत्रबाट उदाएका महिला सेलिब्रेटीले उदाहरण पेश गरे। कम्लहरी हुँदै राजनीतिमा उदाएकी संघीय सांसद शान्ता चौधरी र अर्की एक पात्र हुन् सदाबहार नायिका करिश्मा मानन्धर।
दुबै सेलिब्रेटी पोखराको फेवाताल किनारमा चिसो सहँदै स्टेजमा उत्रिए। उनीहरुको अन्तरंग खोतल्न थालिन् सञ्चारकर्मी सविना कार्कीले। शुक्रबारदेखि सुरु भएको नेपाल साहित्य महोत्सवमा स्टेजमा देखिएका ३ जनाको कुराकानी जति रोचक हुँदै गयो, दर्शकदीर्घामा उभिने जिज्ञासुको संख्या उत्तिनै थपियो।
जीवनको मध्यतिर अध्ययनलाई पुनः सफलतापूर्वक ग्रहण गर्न सकेका दुवैलाई प्रस्तोता सविनाले बितेका वर्षबारे जान्न चाहिन्। नायिका करिश्माले बितेका आफ्ना वर्षलाई स्वर्णिम रहेको बताइन्। औसतमा सांसद चौधरी भन्दा संक्षिप्तमा प्रतिक्रिया दिइरहेकी करिश्माले अध्ययनलाई सहज रुपमा ग्रहण गर्न सकेकोमा आफू प्रसन्न रहेको सुनाइन्।
अध्ययन सुरु गर्दाताका नै विद्यावारिधी (पिएचडी)सम्म पढ्ने अठोट लिएकी सांसद शान्ता चौधरीले बितेका ३ वर्ष सफलताको सिँढी उक्लन सकेको रुपमा अर्थ्याइन्।
‘अध्ययन सुरु गर्दा नै पिएचडीसम्म गर्छु भनेकी थिएँ। तर यो बितेको तीन वर्षमा पिएचडी गर्न नसके पनि एसइई पास गरेकी छु। मुलुकको ठूलो पार्टी नेकपाको केन्द्रीय सदस्य भएको छु। संसदीय दलको सचेतक पनि छु। गायक पनि भएँ,’ पिएचडीको सपना चाहिँ जीवित रहेको उनले सुनाइन्।
प्रस्तोताले जसै ‘फ्ल्यास ब्याक’मा दुवैजनालाई उतारिन्। जोशिलो युवा समयको गाथा दुवैले उत्साहपूर्वक सुनाए। नायिका करिश्माले १४ वर्षकै उमेरमा पढाई छाडेर फिल्ममा करियर बनाउँदाको समय ‘चलचित्र क्षेत्रको निर्माणको चरणमा होमिएको’ बताइन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शान्ता चौधरी ।
पढौं, लेखौं, विद्यालय जाउँ भन्ने उमेरमा जमिनदारको घरमा १८ वर्षसम्म कम्लहरी जीवन बिताउन बाध्य भएकी सांसद शान्ता चौधरीको फ्ल्यास ब्याक केही भावुक सुनियो।
‘पृथ्वीमा जन्मेपछि सबैले संघर्ष गर्नुपर्छ। मानिस वा कुनैपनि जीवको जन्मदेखि नै संघर्ष सुरु हुन्छ। संघर्ष गर्ने क्रममा मैले फरक खालको संघर्ष गरेँ। गरिब कमैया परिवारमा जन्मेका कारणले गर्दा पनि पेट भरी खानका लागि अन्न थिएन। ओढ्नका लागि लुगा थिएन। जमिनदारकै घरमा बस्ने हुँदा त्यहीँ आश्रित हुनुपर्ने बाध्यताले मलाई १८ वर्षसम्म निरन्तर कम्लहरीको जीवन जिउन बाध्यता भयो।’
१० वर्षे सशस्त्र द्वन्द्वले विश्राम खोज्दै गर्दा उनले पनि कम्लहरी जीवनबाट मुक्ति पाइन्। अर्थात् २०६२/०६३ को जनआन्दोलनले मुलुकको व्यवस्था फेरेसँगै सांसद चौधरीको जीवनमा पनि टर्निङ प्वाइन्ट आयो। उनले कम्हलरी जीवनबाट त्यसपछि मात्रै मुक्ति पाइन्। तत्कालिन नेकपा एमालेबाट उनी सांसद भइन् पहिलो सविधान सभा सदस्य भएर।
विगतका सम्झनामा घोतिल्दा सांसद चौधरीको संघर्ष कम्ति भावुक सुनिएन। उनले थपिन्, ‘जतिबेला मलाई स्कुल जान मन लाग्थ्यो। जतिबेला मलाई जमिनदारको घरबाट बाहिर निस्केर आम विद्यार्थी जीवन जिउन मन थियो। त्यस समय जमिनदारका छोराछोरी बिहान ४ बजे उठेर पढ्न जाँदा पनि त्यो उनीहरुका लागि संघर्ष थियो। मेरा लागि कसरी जमिनदारलाई खुसी बनाउनु पर्छ भन्ने त्यससमयको संघर्ष थियो।’
अध्ययनको भोकलाई जीवनको मध्यतिर आएर मेटाउँदै गरेकी नायिका करिश्मा मानन्धरले पनि संघर्षको परिभाषा केही फरक रुपमा अर्थ्याइन्। ‘कलेजबाट आउँदै गर्दा एउटा ७ वर्षको बच्चाले यस्तो बुढीले पनि के पढेको होला ! भनेको सुन्दा बच्चाप्रति भन्दा पनि उसलाई त्यस्तो विचार घुसाइदिने समाजप्रति हिनताबोध भयो। १० प्रतिशत सकारात्मक मानिस हुन्छन् । पाँच प्रतिशत नकारात्मक हुन्छन् तर त्यहि पाँच प्रतिशत व्यक्तिको प्रभावमा अरु व्यक्ति परिरहेका हुन्छन् ।’
सबैको एउटै धारणा हुनेगर्छ। आखिर दुबै जना आ–आफ्नै क्षेत्रमा सफल छन्। पढ्न चाहिँ किन पर्यो त ? दुवैको एउटै आशय छ, ‘क्षमताको विकास गर्न।’
०६४ मा नयाँबानेश्वरको सविधानसभा भवन पहिलो पटक छिर्दा सांसद बिल्कुल फ्रेस थिइँन्। लुङ्गी र ब्लाउजमा संसद भवन छिर्दा सुरक्षाकर्मीले आवश्यकभन्दा बढी चेकजाँच गर्दै गर्दा लागेको थियो, ‘यहाँ सुकिला मुकिला मात्रै प्रवेश गर्ने भवन हो।’
अहिले उनी मुलुककै ठूलो पार्टी नेकपाको संसदीय दलको सचेतक समेत छिन्। निर्णायक तहमा भएर उनलाई आफ्नो समुदायलाई अगाडि बढेको हेर्ने रहर छ। समाजका अनेकौं विभेद चिरेर समान हक र अधिकार सुनिश्चित गराउने लक्ष्य छ।
‘खोलामा भाँडा माझ्न जाँदा भाँडा मस्काउने खरानीमा भेटिएका कोइलाले पारेको कपुरी ‘क’ मैले छिटै सिकेको थिएँ। अध्ययनको भोक मलाई अहिले पनि उत्तिकै छ। संसद भित्र छिरेपछि नै हो मलाई पढ्नु पर्छ भन्ने लागेको।’
सांसद चौधरी कानुन पढिरहेकी छिन्। उनले व्यवहारिक जीवनमा संसदीय समितिमा निर्णय गर्दा भोग्नु परेका बाधालाई अध्ययनले गाँठो फुकाएको विश्वास छ। अध्ययनकै भोगको क्रममा आफ्ना भोगाई ‘कम्लहरी देखि सांसदसम्म’ पुस्तक लेखेको उनले बताइन्।
नायिका मानन्धरले सांसद चौधरीको झैं पिएचडीसम्म अध्ययन गर्ने योजना व्यक्त नगरे पनि पढाइलाई निरन्तरता दिइरहने सुनाइन्। मानविकी लिएर पढ्दै गरेकी मानन्धरले पढाईमा इन्जोय गरिरहेको सुनाउँदा दर्शकदीर्घामा उभिएकाले ताली रोक्न सकेनन्।