
सिमकोट – मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले माग गरेर छनोट भएका म्यादी प्रहरीलाई अनुुशिक्षण तालिम दिन थालिएको छ। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले एक कार्यक्रमबीच तालिम सुरु गरेका हुन्।
प्रहरी नायब उपरीक्षक ओझाले कार्यालयले माग गरेका म्यादी प्रहरी ५३८ जना छनोट भएर तालिम दिने कार्य सुरु भएको जानकारी दिए।
छनोट भएका सबै म्यादीलाई एकै सिफ्टमा तालिम प्रदान गर्ने गरिएको छ। छनोट भएका म्यादी प्रहरीलाई १० दिनसम्म तालिम प्रदान गरिनेछ। तालिम कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ। छनोट भएका म्यादीमा सयभन्दा बढी महिला छन्। तालिमपश्चात् म्यादीलाई मतदान केन्द्रका लागि खटनपटन कार्य हुनेछ।
यस पटकको निर्वाचनका लागि ५३८ म्यादी प्रहरी आवश्यक पर्ने भए पनि आवेदन दिने अन्तिम दिनसम्म ९२८ जनाको आवेदन परेको थियो। जबकि वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका लागि ३९३ पदका लागि आवेदन माग्दा ५२४ जनाको आवेदन परेको थियो।
उनले बेरोजगारी समस्याको कारण युवायुवतीमा म्यादी प्रहरीप्रति आकर्षण बढेको बताए। कुल आवेदन दिएकामध्ये २१५ जना महिला र ७१३ जना पुुरुष थिए।
शैशिक योग्यताका हिसाबले पनि ६९८ जना साधारण लेखपढ गर्न सक्ने छन् भने दुुई सय जना एसईई उत्तीर्ण, कक्षा १२ उत्तीर्ण २९ जना र एक जना महिला स्नातक उत्तीर्ण रहेको प्रहरीले जनाएको छ। यस पटकको म्यादी भर्नाका लागि एक जना स्नातक उत्तीर्णसहित २१५ जना महिलाले आवेदन दिएको प्रहरीले जनाएको छ। जबकि वैशाख ३० को स्थानीय निर्वाचनमा ९९ जनाले आवेदन दिएका थिए।