मनाङ – हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ। उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ।
मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए। ‘मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर) मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ। सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला’, शर्माले भने।
उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता छन्। हिउँ पर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनी बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए। ‘सुरक्षाका सम्पूर्ण व्यवस्थापन कडाइका साथ कार्यान्वयन हुनेगरी गरिएको छ । ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्दछु,’ उनले भने।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार ६ सय ४७ मतदाता छन्। प्रदेश १ मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्छ । प्रदेश १ मा दुई हजार छ सय २४ र प्रदेश २ मा चार हजार एक सय ५५ गरी कूल ६ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































