मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभासदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले संकल्प प्रस्ताव सार्वजनिक गरेका छन्।
शनिबार संकल्प प्रस्ताव सार्वजनिक गर्दै नेता कोइरालाले सदाचारी सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणको संकल्प कोरेका छन्।
नेता कोइरालाले विविधताबीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै आर्थिक विकासलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनले जारी गरेको संकल्प प्रस्तावमा संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपालको निर्माणका लागि कांग्रेस र गठबन्धनको जित आवश्यक रहेको जनाइएको छ।
नेता कोइरालाले मोरङ क्षेत्र नम्बर ६ को आर्थिक असमानता, गरिबीजस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, विद्युत्, सडक, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने औँल्याएका छन्। उनले यससँगै युवा बेरोजगारी ठूलो चुनौतीका रूपमा रहँदै आएको उल्लेख गरेका छन्।
लोकतन्त्र स्थिर र उन्नत बनाउनका लागि रोजगारीको अवसर र बेरोजगारीलाई सम्बोधन अत्यन्त आवश्यक रहेको नेता कोइरालाको भनाइ छ।
ज्येष्ठ नागरिकलाई निःशुल्क औषधोपचारसँगै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम नेपाली कांग्रेसले ल्याउने उनले प्रस्ट्याएका छन्।
विराटनगर विमानस्थल स्तरोन्नतिदेखि पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार, चिकित्सा कलेज चाँडै सञ्चालनमा ल्याइने जनाएका नेता कोइरालाले केशलिया, गछिया, सिंघिया खोलाको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्धन निर्माणलाई उच्च प्राथमिकतामा राखेका छन्।
त्यसैगरी, नेता कोइरालाले विराटनगर चक्रपथको कार्यलाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन्।
यससँगै नेता कोइरालाले आफ्नो क्षेत्रको प्रदेश सभातर्फ १ मा जीवन आचार्य र प्रदेश सभा २ तर्फ केदार कार्की उम्मेदवार रहेको जनाएका छन्।
उनले मोरङ क्षेत्र नं ६ को समग्र विकास र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निभाउन जनताले सहयोग पुर् याउने अपेक्षा गरेका छन्। कांग्रेसभित्र रुपान्तरण र पुस्तान्तरणका लागि मात्र नलडिरहेको उल्लेख गरेका नेता कोइरालाले मोरङको गौरवशाली इतिहास र परम्परालाई निरन्तरता दिने बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































