काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन्।
प्रतिगामी र अवसरवादी तत्वहरूले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो।
चितवनमा शनिबार आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरे।
निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रूपमा अथ्र्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिरसमेत गरे। उनले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलबीच गठबन्धन गर्नुपरेको पनि पटक–पटक दोहोर्याए।
अध्यक्ष दाहालले भने, ‘मंसिर ४ गतेको प्रदेश र संघको निर्वाचनमा हामीले फेरि प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकता प्रदर्शन गर्नुपर्नेछ। देशभरिका जनताले गठबन्धनको नेतृत्वअन्तर्गत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्वहरू पूरै पराजित हुनेछन्। स्थिरता र विकासको एउटा नयाँ मार्ग खुल्नेछ।’

भर्खरै
लोकप्रिय






































































































































































































