मोरङ – आगामी निर्वाचनका लागि कांग्रेसको संकल्प पत्र जनताको पक्ष र हितमा रहेको विज्ञहरूले बताएका छन्।
विराटनगरमा शनिबार आयोजित समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति विषयक अन्तरक्रियामा अर्थविद् स्वर्णिम वाग्लेले लोकतान्त्रिक पद्धतिको शुद्धीकरणलाई कांग्रेसको संकल्प पत्रमा प्राथमिकता राखेको बताए।
कांग्रेसले निर्वाचनका लागि अघि सारेको संकल्प पत्रको जानकारी गराउँदै अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेले उत्पादन, वितरण र व्यापार राज्यले गर्नुपर्ने कुरामा संशोधन गर्दै लोककल्याणकारी राज्यको जग हेर्न चाहेको बताए।
संकल्पपत्रले पनि त्यही कुरालाई अघि सारेको उनको भनाइ छ। संकल्प पत्रले अर्थतन्त्रले धान्न सक्ने गरी सामाजिक सुरक्षामा खर्च गर्दै आएको ३ देखि ४ प्रतिशतलाई खर्च भइरहेको र त्यसलाई बढीमा ८ प्रतिशतसम्म पुर् याउनेतर्फ केन्द्रित रहेको उनले बताए।
यस क्रममा बलियो अर्थतन्त्रका लागि मुलुकभर २१ वटा उद्योग क्षेत्रलाई वर्गीकरण गर्दै बढी मात्रामा रोजगारी सिर्जना गर्नेतर्फ लक्षित रहेको उनले बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलले अहिलेको आवश्यकता सुशासन र विकृति नियन्त्रण भएको बताए।
सुशासनको संस्कार विकास गर्दै मुलुकमा स्थायित्व वातावरण राजनीति र नेताले नै बनाउने बताए।
मुलुकलाई अस्थितरता, बन्द राजनीतिले बनाउने भए पनि राजनीति चलाउने नेताले भएको हुँदा जनताले निर्वाचनमा सही नेतालाई चयन गर्न सक्नु नै आजको आवश्यकता भएको डा. पोखरेलले बताए।
त्यसैगरी, पूर्वमुख्यसचिव डा. विमल कोइरालाले अहिले मुलुक अप्ठ्यारो अवस्थामा रहेको बताए।
सहरमा निराशापन बढ्दै गएको बताएका पूर्वमुख्यसचिव डा. कोइरालाले अब मुलुक बनाउने क्रममा दलहरू भएको उल्लेख गरे।
विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै जनताले आफ्नो अभिमत सही र कुशल उम्मेदवारलाई दिनेमा विश्वस्त भएको डा. कोइरालाले बताए।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार डा. शेखर कोइरालालाई लक्षित गर्दै पूर्वमुख्यसचिव डा. कोइरालाले विगतमा जनताले साथ नदिएर भुल गरेको र सो भुलका कारण मोरङ मात्र नभएर मुलुक नै पछि परेको उल्लेख गरेका थिए।
उनले भने, ‘विगतको निर्वाचनमा मत नदिएर डा. कोइरालालाई हरायौँ। त्यो भूल थियो। अब सबै सचेत हौँ र योग्य उम्मेदवारलाई जिताउन भूमिका खेलाँै। जसले मुलुकलाई समृद्धि र विकासतर्फ अघि डोर् याउनेछ।’
त्यसैगरी, कार्यक्रममा प्रमुख अतिथि डा. शेखर कोइरालाले करिब सातादिन बाँकी रहेको निर्वाचनका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए।
उनले भने, ‘मुलुकमा लोकतन्त्र जोगाउनका लागि सबै जनताको भूमिका अहं छ। सबै मतदाता जनताले निर्वाचनलाई सहज ढंगबाट नलिएर आफ्नो सन्तति र भविष्य बनाउने हो भनेर बुझ्नु आवश्यक छ।
गठबन्धनका उम्मेदवारलाई जिताउन सबैले आफ्नो स्थानबाट एकचित्त भएर काम गर्नुपर्ने डा. कोइरालाले बताए।
उनले भने, ‘सुशासन दिन गठबन्धनको जित आवश्यक छ। यसपटकको निर्वाचनमा सही उम्मेदवार चयन गर्न अपिल गर्दछु।’
कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ को प्रदेश सभा २ का उम्मेदवार केदार कार्की, मोरङ क्षेत्र नम्बर ४ प्रदेश सभा २ का उम्मेदवार भीम पराजुलीलगायत सहभागी थिए।

भर्खरै
लोकप्रिय






































































































































































































