मोरङ – आइतबार हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशका विभिन्न क्षेत्रमा मतदानस्थल निर्माण कार्यले तीव्रता पाएको छ।
विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका अनुसार प्रदेश १ का विभिन्न १४ वटा जिल्लामा १ हजार ८ सय ९७ वटा मतदानस्थल र ४ हजार ९९ वटा मतदानकेन्द्र तयार भइरहेको छ।
शनिबारभित्र सबै क्षेत्रमा मतदानस्थल र केन्द्र निर्माण सम्पन्न हुने बताएका कार्यालयका प्रमुख अधिकृत लेवन कश्यप अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामा मतदानका सामग्री पुगिसकेको जानकारी दिए।
प्रदेशका सबै निर्वाचन क्षेत्रमा करिब ३१ हजार कर्मचारी र १४ हजार बराबर स्वयंसेवक खटिने अधिकारीले बताए।
प्रदेशभर २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्।
यसपटकको निर्वाचनमा प्रदेशमा सर्वाधिक मोरङमा ६ वटा र झापामा ५ वटा प्रतिनिधि सभा क्षेत्र छन्। कार्यालयका अनुसार प्रदेशभर १७ लाख २९ हजार ७ सय ७२ महिला, १६ हजार ६७ हजार ७१ पुरुष गरी कुल ३३ लाख ९६ हजार ८ सय ६५ मतदाता छन्।
मोरङमा सर्वाथिक ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। त्यसैगरी, प्रदेशमा अन्य जिल्लाभन्दा कम तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाता छन्। कार्यालयका अनुसार मोरङका ६ वटा निर्वाचन क्षेत्रमा मतदानपछि क्षेत्र नम्बर १, २ र ३ को सोही स्थानमा मतगणना हुनेछ। त्यसैगरी, क्षेत्र नम्बर ४, ५ र ६ को गणना विराटनगरको आदर्श विद्यालयमा हुने कार्यालयले जनाएको छ।
जिल्लाभरका ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ३९ वटा मतदान केन्द्र तयार हुनेछ। कार्यालयका अनुसार मोरङमा २ सय बढी उम्मेदवार छन्।

भर्खरै
लोकप्रिय






































































































































































































