
काठमाडौँ – त्रिवेणी पब्लिक हाइ स्कूलका प्रिन्सिपल वाङ्देन लामा हुन्। उनी आफूलाई शिक्षक भनेर चिनाउँछन्। स्वास्थ्य, वातावरण तथा जनसङ्ख्या पढाउँछन्, अनि अंग्रेजी पनि।
करिश्मालाई स्कूलमा ल्याउने भन्ने विषयमा गोबिन्द राईले नै कुरा गरेका थिए। लामाले नाई भनेनन्, किनभने करिश्मा मात्र उनले पढाएको ठूलो उमेरको विद्यार्थी होइनन्। उनलाई अलिकति फरक पारेको कुरा भनेको करिश्मा ‘सेलेब्रेटी’ भएर हो।

प्रिन्सिपल वाङ्देन लामा
‘कक्षा ७ मा भर्ना हुन आउनुभएको थियो, मेले सिधै कक्षामा राखिन।’ सुरुमा लामालाई करिश्मामाथि विश्वास नै रहेनछ। ‘कक्षामा विद्यार्थीसँग लगेर राख्नुभन्दा पनि ‘उहाँको मनसाय नै बुझौँ’ भन्ने लाग्यो’ उनले भने ।
सेलिब्रेटीले पढाईले चाख दिलिन् नदिलिन्, समय मिल्ला नमिल्ला यस्तै तर्कना। ४ महिना एक्लै कक्षामा उनको लगनशिलता देखेपछि मात्र लामाले उनी कक्षामा बस्न सक्ने सम्झे र उनलाई कक्षा ८ मा अरु विद्यार्थीसँग बसाए।
‘क्लासमा आएपछि उहाँले आफूलाई त्यसैअनुसार ढाल्नुभयो। उहाँको ग्रोथ देखिन थाल्यो’ लामाले भने, ‘सुरु सुरुमा कक्षामा सरहरुले कसरी व्यवहार गर्ने भन्थे, तर अहिले भने सबैलाई सजिलो भएको छ।’
अहिले करिश्मा सामान्य विद्यार्थी जस्तै भएकी छिन्, उनको कक्षाको रोल नं ११ हो।
लामा समाज विकासको लागि छोरी शिक्षित हुनुपर्ने बताउँछन्। करिश्माको सवालमा उनी करियर, विवाह पछि विद्यालय आएको प्रयासलाई सराहनिय मान्छन्। ‘पहिला मैले सेलिब्रेटी हो, पब्लिसिटी स्टन्ट गरेको भन्ने ठानेको थिए। तर पछि उहाँको नियमितता देखेर मैले विश्वास गरे।’
ठिकै खालको विद्यार्थी छिन् रे। गणितमा अलि समस्या छ। उनी सिक्न नलजाउने विद्यार्थी हुन्। उनले सहयोगीसँग, विद्यालयका गुरुसँग, कक्षाका साथीहरुसँग नआएको सोधिहाल्छिन्।
लामाका अनुसार उनलाई केही फरक गरिएको छैन, सजाय दिनु पर्दा पनि। ‘उहाँले सुधार्नु पर्ने ह्याण्ड राइटिङ्ग हो’ हाँस्दै उनले भनेँ, ‘मलाई उहाँको ह्याण्ड राइटिङ्ग मनै पर्दैन। (केहीबेर हाँसे), अनि कापीमा डेट लेख्नुहुन्न म गोलो लगाइदिन्छु।’
उनलाई फोन आइरहन्छ तर कक्षामा उठाउन अनुमति भने छैन।
अनुशाशित विद्यार्थी हुन्, भ्याल्यु एजुकेशन छ, उनी कक्षामा बुझाउँदा उदाहरण पनि बन्छिन्।
लामालाई उनको धैर्यतामाथि सम्मान छ, ‘यो हल्ला सहन सक्नु सानो कुरा होइन्।’
थोरै प्रशंसा पछि उनी आग्रह गर्छन्, ‘तर करिश्मा जि होमवर्कमा मिति चाँहि लेख्नुहोला।’