नेपाल फर्किने भए चोरिएका तोरण र दाताको मूर्ति

नेपाल फर्किने भए चोरिएका तोरण र दाताको मूर्ति
+
-

काठमाडौँ – नेपालबाट चोरी भएर बेलायतको निजी ग्यालरीमा भेटिएका दुई सम्पदा नेपाल फर्किने भएका छन् ।

तीन सय वर्ष पुरानो देवी दुर्गाको आकृतिसहितको काठको तोरण र चार सय वर्ष पुरानो दाताको मूर्ति बेलायतको बरकत ग्यालरीमा भेटिएको थियो । ती सम्पदा नेपाल फर्काउने प्रक्रिया अन्तर्गत बरकत ग्यालरीले लण्डन स्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको हो ।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले पहिचान गरेपछि ती सम्पदा फिर्तीको प्रक्रिया सुरु भएको थियो । लण्डन स्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर शुक्रबार ती सम्पदा आफूहरुले प्राप्त गरेको जानकारी दिएको हो ।

सम्पदा फिर्तीको प्रक्रियामा सहयोग गर्ने बेलायतको महानगरीय प्रहरीले तथा सम्पदा अध्येता डा एमिलिन स्थिमलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विशेष धन्यवाद समेत दिएका छन् ।

यस्तै बरकत ग्यालरीले पारदर्शिता देखाउँदै सम्पदा फिर्ता गरेकोमा पनि राजदूत आचार्यले धन्यबाद दिएका छन् ।

दूतावासको स्वामित्वमा आएका सम्पदा चाँडै नेपाल फिर्ता ल्याइने जनाइएको छ।

तोरण

जीवित देवीका रुपमा पुजिने बसन्तपुरस्थित कुमारीघर (कुमारी छेँ) बाट चोरी भएको देवी दुर्गाको आकृतिसहितको काठको तोरण बेलायतको लण्डनस्थित निजी बरकत ग्यालरीमा भेटिएको थियो।

बसन्तपुर दरबार क्षेत्रको कुमारीघरबाट सन् १९८०–९० को दशकमा चोरी भएको देवी दुर्गाको आकृतिसहितको झण्डै तीन सय वर्ष पुरानो (१८ औँ शताब्दी) तोरण गएको मंसिरमा बरकत ग्यालरीको बेलायतस्थित शाखामा भेटिएको हो।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले विश्वका विभिन्न देशमा शाखा रहेको निजी ग्यालरी बरकतको लण्डनस्थित शोरुममा काठको तोरण पहिचान गरेको थियो ।

सन् १९८० देखि २०११ को बीचमा कुमारीघरको भुइँ तलाको उत्तरतर्फका चार तोरण चोरी भएको थियो। ७० को दशकदेखि नै नेपाली साँस्कृतिक–पुरातात्विक महत्वका सम्पदाहरु चोरी हुँदै आएका थिए। कुमारीघरमा २०७२ को भूकम्पपछि नयाँ तोरण बनाएर राखिएको छ।

दाताको मूर्ति

काठमाडौँको मञ्जुश्री टोलमा रहेको यंगालबाट सन् १९८० को दशकमा चोरी भएको घुँडा टेकेको मुद्रामा रहेको दाताको ढुंगाको मूर्ति बरकत ग्यालरीको लण्डन शाखामै पहिचान भएको थियो ।

‘लस्ट आर्टस् अफ नेपाल’ ले नै गएको मंसिरमा निजी ग्यालरी बरकतको लण्डन बेलायतस्थित शोरुममा दाताको ढुंगाको मूर्ति पहिचान भएको जनाएको थियो ।

मञ्जुश्री टोलमा रहेको यंगालमा रहेको दाताको ढुंगाको सो मूर्तिको तस्बिर सन् १९७६ मा अनुसन्धानकर्ता उलरिक भोन स्क्रोडरले खिचेका थिए। सो तस्बिर नेपाली ढुंगाका मूर्तिसम्बन्धी उनको हालै प्रकाशित पहिलो संस्करणको दोस्रो भाग पुस्तकमा समेटिएको छ। सो तस्बिर र हाल लण्डनस्थित संग्रहमा रहेको मूर्ति उही रहेको खुलेको हो।

उलरिक भोनले दुई भागमा प्रकाशित गरेको ‘नेप्लिज स्टोन स्कल्प्चरस्’ नामक पुस्तकको पहिलो भागमा हिन्दू देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बुद्धिस्ट गुम्बा तथा बिहारमा रहेका मूर्तिहरु समेटिएका छन्।

झण्डै ४० वर्ष पहिले चोरी भएको सो मूर्तिको उचाइ ५७ सेन्टिमिटरको छ। प्राचीन समयमा आफ्नो कीर्ति राख्नका लागि दाताहरुको मूर्ति बनाउने चलन थियो। सोही चलनअन्तर्गत नेपालका विभिन्न प्राचीन मठ–मन्दिर, गुम्बा–बिहारका परिसरमा दाताका मूर्तिहरु पनि बनाइएको पाइन्छ।

यो पनि पढ्नुहोस्

३८ वर्षपछि ‘घर भित्रिए’ लक्ष्मीनारायण

३८ वर्षपछि ‘घर भित्रिए’ लक्ष्मीनारायण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?