काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्वको भावी कूटनीतिक रणनीतिका लागि महत्वपूर्ण सम्मेलन कोप–२६ संघारमा छ।
कार्बनडाइअक्साइडसहितका हरितगृह ग्यासको उत्सर्जन कटौती ठूलो मात्रामा नगरेसम्म विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न नसकिने लगातार सार्वजनिक भइरहेका वैज्ञानिक प्रतिवेदनहरुले औंल्याएका छन्।
जलवायु परिवर्तनले निम्त्याउन सक्ने मौसमी तथा जलवायुजन्य अतिशय विषम घटनाहरुका प्रमाणहरु नेपालसहितका विश्वका देशहरुमा देखिएको परिवेशमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन अर्थात कोप–२६ पृथ्वीको भविष्यकै लागि महत्वपूर्ण रहेको डा. अरुणभक्त श्रेष्ठले बताएका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा क्षेत्रीय कार्यक्रम व्यवस्थापकका रुपमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. श्रेष्ठले भने, ‘हिन्दू कुश हिमालय क्षेत्रमा रहेका ८ देशमध्ये नेपाल धेरै पर्वतीय क्षेत्रले ढाकिएको देश हो। जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा चाँडो र अलि बढी प्रभाव पार्ने अनुसन्धानहरुले देखाएका छन्। सोहीअनुसार नेपालसहितका हिन्दू कुश हिमालय क्षेत्रका देशहरुको मुद्दा साझा रुपमा कोपमा उठ्नुपर्छ र त्यसको तयारी पनि भइरहेको देखिन्छ।’
हिन्दू कुश हिमालय (एचकेएच) पृथ्वीका दुई ध्रुवपछि सबैभन्दा धेरै हिउँ अर्थात जमेको अवस्थामा पानी रहेको क्षेत्र हो। अनौपचारिक रुपमा थर्ड पोल (तेस्रो ध्रुव) का रुपमा समेत चिनिने हिन्दू् कुश हिमालय क्षेत्र नेपालसहित ८ देश (अफगानिस्तान, बंगलादेश, भूटान, चीन, भारत, म्यानमार, नेपाल, पाकिस्तान) को करिब ३४ लाख ४१ हजार ७१९ वर्ग किलोमिटरमा फैलिएको छ।
अन्टार्टिका (दक्षिणी ध्रुव) र उत्तरी ध्रुव (आर्कटिक) पछि विश्वमा सबैभन्दा धेरै जमेको अवस्थामा पानी रहेको क्षेत्र ‘थर्ड पोल’ एसियाका १० ठूला नदी संरचनाको स्रोत हो। २४ करोडको बसोबास रहेको हिन्दू कुश हिमालय क्षेत्र हुँदै बग्ने नदीहरु पर्वतीय तथा तल्लो तटीय क्षेत्रका एक अर्ब ९० करोडभन्दा बढी मानिसका लागि पानीको स्रोत हो।
विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि र त्यसले निम्त्याएको जलवायु परिवर्तनका सम्बन्धमा भएका वैज्ञानिक अध्ययनहरुले पृथ्वी जोगाउनका लागि समय निकै कम रहेको बताइरहँदा र पछिल्लो मौसमी तथा जलवायुजन्य अतिशय विषम घटनाहरुको पृष्ठभूमिमा हुन लागेको सम्मेलनमा सबैको चासो र आश अडिएको छ।
नेपालसहितका अतिकम विकसित, हिमाली राज्यसँगै साना टापु राष्ट्रहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा जलवायुजन्य अतिशय विषम घटनाहरुबाट हुने हानि–नोक्सानी न्यूनीकरण तथा क्षतिपूर्तिको मुद्धालाई प्रमुख रुपमा उठाउने र विकसित तथा आर्थिक रुपमा बलिया देशहरुलाई कार्बन उत्सर्जन (हरित गृह ग्यास उत्सर्जन) कटौतीको प्रतिबद्धता पूरा गर्न दबाब दिने छन् ।
यही परिवेशमा हामीले नेपालमा रहेर हिन्दू कुश हिमालय क्षेत्रको मौसमी तथा जलवायुजन्य अध्ययन अनुसन्धानमा सक्रिय रहँदै आएका डा. अरुणभक्त श्रेष्ठसँग कोप–२६ र नेपालसहित एचकेएच क्षेत्रको चासो र मुद्दाहरुबाट कुराकानी गरेका छौँ।
देश सञ्चारको पडकास्ट शृङ्खला ‘पराप्रकृति’ मा प्रस्तुत छ, वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठसँगको संवादः