कात्तिकमा आरीघाेप्टे वर्षा र जलवायु परिवर्तनको सवाल

धानका पाँजामा देखिएको विपदको कारुणिक दृश्यका कारण र कमजोरी के होला?

काठमाडौँ – ‘खासमा भन्ने हो भने अहिलेको वर्षाले धेरै ठाउँमा काटिसकेको धान डुबाएको देख्दा लाग्छ पानीले किसान डुबाएको हो। यो पनि विपद हो। विपदमा परेका किसानको उद्धारमा राज्य लाग्नु पर्ने हो।’

लगातारको वर्षासँगै विशेषगरी कर्णाली र सुदूरपश्चिमका क्षेत्रमा कटाई गरीका धानका पाँजा खेतमा डुबेपछि जलाधार अध्येता मधुकर उपाध्यायले गरेको ट्वीट हो यो।

जलाधार अध्येता उपाध्यायका अनुसार खाद्य सुरक्षामा प्रत्यक्ष भूमिका रहेको खेती किसानीमा पर्ने मौसमी वा जलवायुजन्य विपदलाई सरकारले अरु विपदका घटनाजस्तै व्यवहार गरी तत्काल उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्छ।

‘अहिलेसम्म हामीले बाढीपहिरो आउँदा घरखेत बगाएको, मानवीय क्षति भएको कुरालाई विपदको संज्ञा दिएर उद्धार राहतका लागि सुरक्षा निकायलाई परिचालन गरिन्छ’, उपाध्यायले भने, ‘अहिले यत्रो विघ्न धान डुबेको छ, यो पनि विपद हो । कटाई गरेको धान किसान एक्लैले पानी पर्न थालेपछि उठाउन सक्दैन। विपदजस्तै व्यवहार गरे सुरक्षा निकायलाई परिचालन गर्न सकेमा किसानलाई राहत हुने थियो।’

किसानको उत्पादन देशको खाद्य सुरक्षाको आधार हो। भित्र्याउने मुखैमा आएको बालीमा नोक्सानी हुँदा खाद्य सुरक्षाको चक्रमै गम्भीर असर पर्ने हुन्छ। ‘राज्यले मौसमी वा जलवायुजन्य अतिशय घटनाका कारण बालीमा पर्ने असरलाई पनि विपदको रुपमा लिएर उद्धारका लागि तत्काल सुरक्षासहितका आफ्ना संयन्त्र परिचालन गर्ने हो भने आधासम्म भए पनि डुबेको धान जोगाउन सकिन्थ्यो वा सकिन्छ।’

मौसमी तथा जलवायुजन्य घटना र त्यसको कृषिमा पर्ने असरबारे अध्ययन गर्दै आएका डा. पशुपति चौधरीले तत्काल किसानलाई विपदका घटनामा उद्धारमा सहयोगसँगै बाली बिमाको व्यवस्था गरिनु पर्ने बताए।

‘अहिले देशभर देखिएजस्तो विपदको अवस्थामा सुरक्षित स्थानमा भित्र्याउने बेलाको बाली सार्नका लागि किसानलाई सहयोग गर्नु तात्कालीक आवश्यकता हो’, कृषि तथा जलवायु अध्येता डा. चौधरीले भने, ‘तर दीर्घकालका लागि बाली बिमाको व्यवस्था गरिनु पर्छ। मौसमी तथा विश्वव्यापी भएको तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तन र त्यसले सघन तथा अनिश्चित बनाएको अतिशय घटनाहरुको परिवेशमा बाली बिमा किसानका लागि ठूलो राहत बन्न सक्छ।’

बाली बिमाको व्यवस्था गरिँदा अहिले छोटो अवधिको मौसमी तथा जलवायुजन्य घटनाका कारण एक छिमलको मेहत र लगानी खेर जाने अवस्थाबाट किसानलाई थोरै भए पनि सहज हुने उनले बताए।

बाली बिमा किसानलाई प्रत्यक्ष रुपमा पर्ने वित्तिय भार कम गर्नका लागि सहयोगी बने पनि सघन बन्दै गएका जलवायुजन्य अतिशय घटना र त्यसले कृषिमा पारेको प्रभावका कारण उत्पन्न हुन सक्ने खाद्य सुरक्षा संकटको विकल्प भने होइन।

‘सबै घटनाको मुख्य वा एकल कारण जलवायु परिवर्तन नभए पनि विपदको आकारलाई फराकिलो बनाउनमा जलवायु परिवर्तन कारक रहेको कुरा सार्वजनिक भएका हरेक अध्ययनहरुले भनिरहेको अवस्थामा जलवायुजन्य अतिशय घटनाहरुले खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने स्पष्ट छ। त्यो अवस्था टार्नका लागि प्राविधिक रुपमा तयार भएर क्लाइमेट स्मार्ट कृषि व्यवहारमा हालको खेतीपातीलाई रुपान्तरण गरिनु पर्छ’, डा. चौधरीले भने।

केमा छ कमजोरी?


गएको आइतबारदेखि लगातारजस्तो परेको भारी वर्षाका कारण देशका विभिन्न क्षेत्रमा काटिएको धान खेतमै डुबेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिममा बढी प्रभाव परेको छ भने अरु क्षेत्रमा पनि काटिएको धान डुबेको छ, काट्ने बेला भएको धान पानी र हावाहुरीले लडाएको छ। काटेर पाँजा डुबेका धानका बालहरु टुसाउन थालेका छन्। किसान डुबेर उम्रिन थालेका धानका बाला हेरेर टोलाउन वा सुस्केरा हाल्नु बाहेकको विकल्पमा देखिएका छैनन्।

जलवायु परिवर्तनका अध्येता डा. विमल रेग्मी तथा जलाधार अध्येतासँगै जलवायु परिवर्तनको विषयमा निरन्तर अध्ययन गर्दै आएका मधुकर उपाध्यायका अनुसार किसानमा अहिलेको हाल आउनु भनेको हाम्रा संयन्त्रहरुको असफलता हो।

‘उपयुक्त प्रविधिको विकास वा भएको प्रविधिको स्तरोन्नती गरी किसानसम्म मौसमी तथा जलवायुजन्य सक्दो प्रभावकारी जानकारी उपयुक्त समयमा पुर्‍याउन नसकिँदाको परिणाम हो’, उपाध्यायले भने, ‘असोज २५ गते नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको घोषणा भयो। त्यसकाे दुई दिनअघि असाेज २३ गतेदेखि नै बाढी पूर्वानुमान तथा दैनिक विपद बुलेटिन पनि बन्द गरियो। यसको अर्थ अब जानकारी दिनु पर्दैन भन्ने देखियो। राष्ट्रियस्तरमा हेर्दा राज्यको सबै स्रोत भएका र विज्ञहरुको समूहले बाढी आउँदैन भने, तर अवस्था त्यो रहेन छ।’

अध्येता उपाध्यायका अनुसार विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका कारण जलवायुमा आएको परिवर्तन हाम्रो अहिलेको प्रविधि वा स्रोतले पूर्वानुमान गर्न भ्याउने अवस्थामा नरहेको पछिल्ला घटनाहरुले स्पष्ट भएको छ।

उनले भने, ‘अहिले जसरी पानी पर्नुको कारण यो हो भनेर भौतिक विज्ञान बताउला। तर हामीले बुझेको विज्ञान र हाम्रो पूर्वानुमानको क्षमताले नभ्याउने रहेछ भन्ने चाहिँ देखियो। मनसुन गएपछि ठूलो मौसमी प्राणाली विकास भएर यस्तो पानी पर्न सक्ने रहेछ। यसले त हामीले पूर्वानुमान गर्न सक्ने क्षमता भन्दा चर्को रुपमा जलावयुमा परिवर्तन भएको बताउँछ।’

जलवायु परिवर्तनका अध्येता डा. विमल रेग्मीका अनुसार अहिले देशका विभिन्न क्षेत्रमा भएको आरीघाेप्टे वर्षा (निश्चित क्षेत्रमा छोटो अवधिमा हुने भारी वर्षा) ले मानवीयसँगै भौतिक संरचना र खेतीपातीमा ठूलो तहको विनाश गर्ने अवस्था आउनुमा जलवायु परितर्वन एकल कारण नरहेको तर त्यसले विपदको आकार बढाउन ठूलो सहयोग गरेको देखिन्छ।

‘मौसमी गतिविधि र हाम्रा अव्यवस्थित विकासका प्रयासहरुसँगै जलवायु परिवर्तनका कारण फेरिएको वर्षाको चरित्र (जुन जलवायु परिवर्तनको कारणले हो भन्ने अध्ययनहरुले बताएका छन्)ले विपदको विकराल बनाएका छन्’, डा. रेग्मीले भने, ‘जलवायुजन्य अतिशय घटनाका रुपमा अहिलेको घटनालाई हेर्नुपर्छ र किसानले भोगिरहेको समस्या पनि त्यसकै एक रुप हो।’

मौसमी तथा जलवायुजन्य गतिविधिमा आएको परिर्वतनलाई ‘ट्रयाक’ गरेर सो अनुसारको मौसमी पूर्वानुमानको क्षमता विस्तारका लागि तत्काल काम गरिनु पर्ने उनले बताए। ‘परिवर्तित अवस्थालाई भ्याउनेखालको पूर्वानुमान प्रविधि विकास गर्न सकिएन भने मनसुनपछि अहिले जुन तहमा भारी वर्षा भयो यस्ता घटनाले आउँदा दिनहरुमा क्षतिको दायरा फराकिलो गर्ने निश्चित छ।’

‘यस्ता विपदलाई जलवायु संकटका रुपमा हेर्नुपर्छ’

तिला गाउँपालिका- ४ जुम्ला साँपुल्ली गाउँमा धानको ज्यूलोमा पसेको बाढी। तस्वीर : शुरबहादुर सिंह/रासस

पृथ्वीको तापक्रम अहिले नै १.१ देखि १.२ डिग्रिसेल्सियससम्म वृद्धि भइरहेको भन्ने जलवायु परिवर्तनका लागि अन्तर सरकारी निकाय आइपिसिसीको केही सयमअघि प्रकाशित भएको जलवायु परितर्वनको भौतिक विज्ञान (एआर६) प्रतिवेदनमा उल्लेख छ।

‘नेपालमा पनि सोही अनुसार तापक्रम वृद्धि भएको देखिन्छ। सन् १९७० यता नेपालमा लगभग ०.९ देखि १ डिग्रिसेल्सियससम्म बढेको देखिन्छ’, डा. रेग्मीले भने, ‘सँगै वर्षाको प्रवृत्तिमा पनि परिवर्तन आएको छ। कहिँ कम पानी पर्ने, कहिँ छोटो अवधिमा ठूलो पानी पर्ने घटनाहरु भएका छन्। विज्ञानले जलवायुजन्य अतिशय घटनाहरु (खडेरी, अत्यधिक वर्षा, तातो हावा) थप बारम्बार र गम्भीर बन्ने भनिसकेको छ। अहिले नेपालका विभिन्न क्षेत्रमा परेका भारी वर्षालाई पनि जलवायुजन्य अतिशय घटनाका रुपमा लिनु पर्छ।’

जलवायुजन्य अतिशय घटनाको प्रत्यक्ष प्रभावमा किसान तथा किसानी पर्ने र त्यसको उदहारणका रुपमा अहिले फाँटहरुमा पौडिरहेका पाँजा र उम्रिन थालेका धानका बालालाई लिनु पर्ने उनको भनाई छ।

‘यो जलवायु परिवर्तन एक्लैले ल्याएको समस्या होइन, तर त्यसले गम्भीर बनाएको हो। अतिशय विशम घटनाहरु बढिरहेका छन्। यस्ता घटनाहरुलाई जलवायु संकटका रुपमा लिएर सो अनुसारका प्रभाव न्यूनिकरण, अनुकुलन र सचेतनाका काम गरिनु पर्छ’, डा. रेग्मीले भने।

अतिशय विषम घटनाहरु अनिश्चित बनेका भन्दै डा. रेग्मीले भने, ‘पानी पर्छ भनिएको थियो तर यस्तो आरीखोप्टे वर्षा आएर यो स्तरको क्षति गर्ला भनेर पूर्वानुमान सायदै गरिएको थियो र सर्वसाधारणहरुले पनि यो समयमा यस्तो पानी परेर विकराल विपदको अवस्था आउने आँकलन गरेका थिएनन् र तयारी पनि थिएनन्।’

‘अन्मरिएर’ आएको भलबाढीले बगाएको बाटो–पुल, गरेको मानवीय क्षति, पहिरोले पुगेका घरहरु तथा हृदय रुवाउने धानका पाँजा डुबेको–पौडिएको दृश्यले मौसमी तथा जलवायुजन्य घटनालाई लिएर कायम रहेको हालको अवधारणालाई झकझक्याएको जलाधार अध्येता उपाध्याय र जलवायु परिवर्तन अध्येता डा. रेग्मीको भनाई छ।

‘हाम्रो पूर्वानुमान प्रविधिलाई फेरिएको जलवायु अनुकुल बनाउनु, पूर्वानुमानको सूचना किसान तथा जोखिममा रहेका समुदायसम्म समयमा पुर्‍याउने र कृषिमा पर्ने यस्ता असरहरुलाई अरु विपद सरह व्यवहार गरिनु पर्छ’, उपाध्याय र रेग्मीले भने।

जलवायु परिवर्तन अध्येता डा. रेग्मीले अहिले किसानले भोगी रहेको क्षति, बाढी पहिरोले गरेको क्षतिसहितलाई जलवायुजन्य हानी–नोक्सानी (लस एण्ड ड्यामेज) का रुपमा उठाउनु पर्ने बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बुधबारको बैठकले पनि अहिले विशेष गरेर धानबालीमा क्षति गर्ने गरि अप्रत्याशित रुपमा परेको भारी वर्षा र त्यसले निम्त्याएको असरलाई जलवायु परिवर्तनको प्रभाव अर्थात लस एण्ड ड्यामेजका रुपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा उठाउने निर्णय गरेको छ।

परिषद्का सदस्यसचि अनिल पोखरेलले भने, ‘हामीले आँकलन नै गरेको कात्तिक महिनामा भारी वर्षा भएर जलवायुजन्य अतिशय विषम घटना भएको छ। विशेष गरेर धानबालीमा क्षति पुगेको छ । मानवीय तथा भौतिक क्षति भएको छ । परिषद्ले तत्काल क्षतिको विवरण संकलन गरी किसानलाई क्षतिपूर्ति प्रदान गर्ने तथा उद्धार–राहतको काम तीव्र पार्ने निर्णय गरेको छ । यस्तै आउँदो कोप २६ मा अहिले देखिएकासँगै अरु जलवायुजन्य क्षतिलाई लस एण्ड ड्यामेजको मुद्दाका रुपमा उठाउने कुरा भएको छ।’

अन्तर्राष्ट्रिय मञ्चमा किसान तथा जोखिमपूर्ण समुदायका जलवायुजन्य मुद्दाहरु उठाउनेसँगै उपलब्ध भएसम्मको माथिल्लो तहको प्रविधिको प्रयोग गरी पूर्वानुमानको सम्बन्धित समुदायसम्म लैजाने तथा जलवायुमैत्री खेती किसानीको विकासमा जोड दिइनु पर्ने विज्ञहरु डा. विमल रेग्मी, मधुकर उपाध्याय र डा. पशुपति चौधरीको भनाई छ । ‘यस्तो गर्न नसकिएको अवस्थामा अहिले देखिएको विपदको आकार आउँदा दिनमा झन फराकिलो हुन्छ र जलवायुजन्य अतिशय विशम घटनाले गर्दा खाद्य सुरक्षामा गम्भीर संकटको अवस्था आउन सक्छ’, उनीहरुले सारभूत रुपमा भनेका छन्।

बाढीपहिरोले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्तः ७ जनाको मृत्यु, दुई दर्जनभन्दा बढी बेपत्ता
बस्तीतर्फ पसेको कर्णाली।

पुनश्चः भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले गएको आइतबारदेखि देशभर बदली तथा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टा (बुधबार बिहान पौने ९ बजे मापन गरिएको पछिल्लो २४ घण्टाको वर्षाको विवरण अनुसार) मा सुनसरीको तरहरामा केन्द्रमा सबैभन्दा धेरै ३९८.२ मिलिमिटर पानी परेको छ।

यस्तै इलामको कन्याममा ३७४.१, मोरङको हरैचामा ३६७, झापाको दमकमा ३०२.८ मिलिमिटर पानी परेको छ।

यसअघि कात्तिक १ र २ गते (४८ घण्टामा) सबैभन्दा धेरै डडेलधुराको साहुखर्कमा ५०२.२ मिलिमिटर पानी परेको विभागले जनाएको छ। सो अवधिमा डोटीको गैरामा ३८७, डडेलधुराको जोगबुढामा ३६७.८, डडेलधुराको गैबान्देमा ३५७.८ तथा डडेलधुराको चउरबन्दलेमा ३४९ मिलिमिटर पानी परेको थियो। अझै पनि देशभर मौसम बदली तथा वर्षा भइरहेको छ।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्