
काठमाडौं- नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा जारी गरेको वक्तव्यलाई न्याय मुर्तिको आचारसंहिता बिपरित र अदालतमाथिको प्रहार भएको बताएको छ।
राणाले जारी गरेको वक्तव्यले गलत प्रक्रिया र पद्दतिको सुरुवात हुने भन्दै नेपाल बारले भर्त्सना गरेको छ।
बारले जारी गरेको वक्तव्यमा भनेको छ, ‘सर्वोच्च अदालतको न्यायाधीश जस्तो पदमा आसिन व्यक्तिले पेशी सूचीमा चढेको मुद्दाको तथ्य भन्दा बाहिर ईजलाशको मर्यादा विपरित न्यायपरिषद् बाट टुंगोलागी संवैधानिक परिषद्को सिफारिस बमोजिम नियुक्त भई न्याय सम्पादनमा संलग्न प्रधानन्यायाधीश गोपाल पराजुलीलाई गलत लान्छना लगाउने, न्युनतम मर्यादा तथा आचरण समेतलाई ख्याल नगरी वक्तब्यबाजी गर्ने कार्यप्रति बारले दुख व्यक्त गरेको छ।’
बारले राणाको वक्तब्य अतिरन्जित र अराजक भएको उल्लेख गरेको छ।
यस्तै नेपाल बारले न्यायपालिका माथि हुने कुनै पनि प्रहार र दबाब सह्य नहुने जनाएको छ।
प्रेसले गर्ने अमर्यादित टिप्पणीले प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दताका साथैं नियन्त्रित र निर्देशित न्यायपालिका बनाउन भन्दै सबैलाई सजक हुन् आग्रह गरेको छ।
अदालतको आदेश र फैसलालाई लिएर स्वच्छ टिका टिप्पणी नगरी व्यक्तिगत लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने, अनशन बस्ने क्रियाकलापले अदालत प्रतिको आस्थामा क्षयीकरण नरोकिने बताएको छ।
यसैबीच पाटन बारले यो समग्र प्रकरणमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा मागेका छन्।