महिला बिरुद्ध हिंसा र आत्म–सम्मानका कुरा

महिला बिरुद्ध हिंसा र आत्म–सम्मानका कुरा
+
-

गत हप्ता मैले इमोशनल इन्टेलिजेन्सका बारेमा लेख्दा सबै मानिसमा सम्बेगात्मक चेत हुन्छ तर यो कसैमा कम र कसैमा बढी हुन सक्छ भन्ने कुरा उदाहरणसहित बिस्तारमा लेखेको थिएँ। मेरा अनुभवहरु र मेरा बिश्वासले भन्छन् सबै मानिसहरुले राम्रो काम गरुँ नै भन्ने चाहेका हुन्छन् तर बिभिन्न कारणवश धेरै व्यक्तिहरु गलत कृयाकलापमा संलग्न हुन्छन् । त्यस्तै एक गलत कृयाकलाप, अर्थात् महिला बिरुद्ध हिंसाका बारेमा आज म लेख्न चाहन्छु। अनि, सम्बेगात्मक चेतको एउटा पक्ष, आत्म–सम्मानका बारेमा पनि।

अक्सफोर्ड अंग्रेजी शब्दकोषमा आत्म–सम्मान अर्थात Self-respect को परिभाषा यसरी दिइएको छ– “Feeling that one is behaving and thinking in ways that will not make one ashamed of one self.” यसको भावार्थ हुन्छ “आत्म–सम्मान भन्नाले व्यक्तिलाई आफ्नो सोच र व्यवहारका कारणले आफैं प्रति लज्जित नहुनु पर्ने अवस्था हो ।

अब म प्रश्न गर्न चाहन्छु –
– ती अभिभावकलाई जसले आफ्ना बालबालिकालाई यातना दिन्छन्
– ती पतिहरुलाई जसले पत्निहरुप्रति हिंसा गर्छन् ।
-ती प्रेमीहरुलाई, जसले प्रेमिकाप्रति दुर्व्यवहार गर्छन् ।
-ती परिवारजन / छरछिमेकका “भलादमी”हरुलाई जसले हिंसालाई प्रश्रय दिन्छन् या हिंसाप्रति सहनशीलता दर्शाउँछन् ।

के तपाईहरु आफ्नो सोच र व्यवहार प्रति लज्जित हुनुहुन्न ? के तपाईहरु यस्तो व्यवहारका कारण आफै प्रति आदर र सम्मान गर्न सक्नुहुन्छ ?

अनि म प्रश्न गर्न चाहन्छु ति सासु या घरमूली महिलाहरुलाई जो हिंसाका मूक दर्शक बन्छन्, या हिंसालाई प्रेरित गर्छन् – के यो उचित हो ?

प्रत्येक मानिस सम्मान युक्त जीवन बाँच्न चाहन्छ, चाहे त्यो पीडित होस या पीडक । पीडकले आफू ठूलो छु भन्ने घमण्ड पालेको हुन्छ, अनि ऊ आदर चाहन्छ । आदर त्यसै पाइदैन – राम्रा कामहरु गरेर कमाउनु पर्दछ । यसको शुरुवात आत्म–सम्मानबाट हुन्छ । यदि व्यक्ति आफूले आफैंलाई आदर गर्न सक्दैन भने उसले अरुबाट आदरको अपेक्षा गर्नु व्यर्थ छ ।

सम्बेगात्मक चेत कम भएको व्यक्तिले आफ्ना भावनाहरुलाई नियन्त्रित गर्न नसकेर या दुर्व्यसनको प्रभावमा या रिसको झोकमा हिंसा गरेको हुन सक्छ । तर उसले शान्त मनले सोचेको अवस्थामा आफ्ना गलत व्यवहारहरुप्रति पक्कै पनि सचेत हुन्छ र यस्ता व्यवहार त्याग गर्दै जान सक्छ । प्रायजसो जुन पुरुषहरु आफ्नो श्रीमतीलाई पिट्छन् या छोराछोरीप्रति हिंसा गर्छन्, तिनैले अरुलाई हिंसा बिरुद्ध अर्ति उपदेश दिइरहेका हुन्छन् ।

व्यक्तिलाई हिंसा खराब हो भन्ने थाहा त हुन्छ, तर त्यस्तै व्यवहार आफू किन अपनाउँछ ?

कहिलेकाहीँ व्यक्तिहरु “Cognitive dissonance” (कग्निटिभ डिजोन्यान्स) भन्ने मानसिक अवस्थाबाट प्रभावित हुन्छन् । जस्तो धुम्रपान गर्नु हुँदैन भनेर अरुलाई अर्ति दिने व्यक्ति आफै चाहिँ धुम्रपान गरिरहेको हुन्छ । आफ्नो भनाइ र गराइबीचको फरकले उसलाई धेरै मानसिक पीडा दिन्छ, अनि त्यो पीडा कम गर्न र आफ्नो व्यवहारलाई उचित ठहर्‍याउन ऊ भन्छ-

“धुम्रपान नगर्ने व्यक्तिलाई पनि त क्यान्सर हुन सक्छ नि ।”
“फलानोको बुवा धुम्रपान गर्थे, तर ८० बर्षसम्म बाँचे” इत्यादि ।

त्यस्तै महिला या बालबालिकाप्रति हिंसा गर्ने व्यक्तिहरु आफ्नो कार्यलाई उचित ठहर्‍याउन यस्ता तर्क दिन्छन् –

“अनुशासन सिकाउन”
“भनेको मानेनन्, त्यसैले”
“अरुले पनि त कुट्छन् नि, मैले मात्रै हो र ?”

अनि हिंसा गर्ने सासु आमाहरु भन्छन् –
“हामीले कस्ता कस्ता दुःख सह्यौं, अहिलेका बुहारीहरुलाई त आराम छ”

अनि हिंसाप्रति असम्बेदनशील हाम्रै समाज भित्रका केही व्यक्तिहरु भन्छन् –
“पुरुषलाई पनि त हिंसा हुन्छ नि, किन त्यसको चाहीँ कुरा गरिन्न ?”
“पुरुषलाई कति भार छ, खालि महिलाको कुरा हुन्छन्”

हिंसा त हिंसा नै हो । कुनैपनि व्यक्ति बिरुद्ध हिंसा हुनुहुँदैन चाहे त्यो बालबालिका, महिला, दलित, अल्पसंख्यक या पुरुष नै पनि किन नहोस् ।

तर आजको लेख महिला हिंसा र त्यसमा पनि पीडकको आफ्नै आत्म–सम्मानको बिश्लेषण गर्न खोजिएको हो । पीडितको सम्मानमा त हिंसाले अत्यधिक नराम्रो प्रभाव पारेको हुन्छ र खुला रुपमा महिलाको मानव अधिकारको हनन् गरेको हुन्छ।

महिला हिंसाको मुद्दा महत्वपूर्ण छ किनभने हिंसा प्रभावित महिलाको संख्या धेरै ठूलो छ । हिंसाका बिभिन्न स्वरुप छन् – शारीरिक, मानसिक, आर्थिक, यौनिक आदि । घर झगडा, कुटपिट, बलात्कार, साइबर अपराध, बेचबिखन, मानसिक प्रताडना, बन्देज, हत्या आदि धेरै प्रकारका हिंसाले महिलाको जीवनलाई नराम्रोसँग प्रभावित गरेका हुन्छन् । त्यसैले महिलाका मुद्दाहरुलाई प्राथमिकतामा राख्न आवश्यक छ ।

अब नेपालको तथ्याङ्क हेरौं । सन् २०१७ मा ६८० महिला बिरुद्ध हिंसाका घटनाहरु दर्ता भएका रहेछन् जसमध्ये १६३ मा परिवारका सदस्यहरुले नै हिंसा गरेका थिए । यसै समयमा लैङ्गिक हिंसाका कारण दर्ता भएका १४९ हत्याका घटनाहरुमा १४० महिलाको हत्या भएको थियो (बिश्व बैंक) । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार ६६ प्रतिशत हिंसा पीडित महिलाहरुले आफू हिंसा पीडित भएको कुरा कसैलाई बताउँदैनन् । माथि उल्लेखित घटनाहरु त उजुरी परेका घटनाहरु हुन् तर चुपचाप हिंसा सहने उजुर नगर्ने महिलाको संख्या धेरै ठूलो छ ।

हिंसा पीडित महिलालाई त आफ्नो पीडा व्यक्त गर्न गाह्रो हुँदो रहेछ भने हिंसा पीडित पुरुषलाई त झन कठीन होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । हाम्रो समाजले हिंसा पीडित पुरुषलाई “कमजोर” ठान्छ, उसको “पुरुषत्व”लाई चुनौती दिन्छ । भावनात्मक रुपमा उसलाई अपमानित गर्छ, प्रताडित गर्छ ।

हिंसा पीडित महिलालाई त आफ्नो पीडा व्यक्त गर्न गाह्रो हुँदो रहेछ भने हिंसा पीडित पुरुषलाई त झन कठीन होला भनेर सहजै अनुमान लगाउन सकिन्छ । हाम्रो समाजले हिंसा पीडित पुरुषलाई “कमजोर” ठान्छ, उसको “पुरुषत्व”लाई चुनौती दिन्छ । भावनात्मक रुपमा उसलाई अपमानित गर्छ, प्रताडित गर्छ ।

बैदेशिक रोजगारीमा भएका पुरुषहरुका पत्नीहरुले पतिले दुःख गरी कमाएको सम्पत्ति लिएर अर्कैै पुरुषसँगै भएका घटनाहरु सार्वजनिक हुन थालेका छन् तर अन्य हिंसाका घटनाहरु त्यति बाहिर आउँदैनन् ।

सन् २०१४ देखि २०२० सम्मा भएका एसिड आक्रमणका २२ घटना मध्ये ४ वटामा पीडितहरु पुरुष रहेछन्, अन्य सबै महिला (द राइजिङ्ग नेपाल १७ अगष्ट २०२०) ।

हाम्रो समाजको पितृ सत्तात्मक सोचका कारण पुरुषहरु आफै पनि धेरै अप्ठ्याराहरुको सामना गर्न बाध्य छन् । कतिपय पुरुषहरु घरायसी काम गर्न रुचाउँछन्, बालबालिकाको हेरचाह गर्न मन पराउँछन्, कलाकारिता, लेखन आदि कार्यमा समय दिएर दिनहुँ कमाउनु पर्ने बाध्यताबाट मुक्ति चाहन्छन्, लामो कपाल पाल्न या मन परेको रङ्गको, मन परेको ढङ्गको लुगा लगाउन चाहन्छन् तर पितृ सत्तात्मक समाजले यी सबैलाई नकारात्मक रुपमा हेर्छ ।

पुरुषको पीडा व्यक्त गर्ने, खुलेर आँसु बगाउने, सहानुभूति जनाउने जस्ता मानवोचित व्यवहारलाई पितृ सत्तात्मक समाजले “कमजोरी” ठान्छ, हेय दृष्टिले हेर्छ । त्यस्तो समाजमा पुरुष “बहादुर”, कडा स्वभावको, धेरै पैसा कमाउन सक्ने, श्रीमतिका “फर्माइस”हरु पूरा गर्न सक्ने, यौनको मामलामा पनि बिशेष दखल भएको, सर्वगुण सम्पन्न हुनुपर्ने बाध्यता छ – मानसिक दबाब छ । यी सबै कसरी सम्भव छन् ? अनि पुरुष पनि दबाबमा “मी टु” जस्ता घटनाहरु प्रति आकर्शित भई “पुरुषत्व”को प्रदर्शन गर्न खोज्छ । यसको फाइदा उठाउने तत्वहरुका कारण सज्जन पुरुषले पनि यस्ता आक्षेपहरुको बोझ उठाउनु परेका घटनाहरु पनि बढ्ने क्रममा छन् ।

आखिर पितृ सत्तात्मक सोचले कसलाई फाइदा गरेको छ त ?

पितृ सत्तात्मक सोचले महिलालाई मात्र नभई पुरुषलाई पारेको नकारात्मक प्रभावलाई पनि मनन् गरेर आ–आफ्ना व्यवहारहरुलाई सकारात्मक रुपमा परिवर्तन गर्न सकेमा हामी समतामूलक, हिंसा रहित समाज तर्फ छिटो पाइला बढाउन सक्ने छौं ।

हाम्रा पौराणिक ग्रन्थहरुको उल्लेख गर्दै हामी भन्छौं “यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता” अर्थात जहाँ नारीहरुको पूजा हुन्छ, त्यहाँ देवताहरु रमाउँछन् ।

जुन देशमा हाम्रा पूर्वजहरुले जीवित देवी कुमारीको पूजा गरी नारीहरु प्रति आदरभाव राख्न सिकाए, देवी दुर्गा, लक्ष्मी, सरस्वतिको आराधना गर्न सिकाए त्यही देशमा दैनिक जस्तो २–४ सय हिंसा, २–४ वटा बलात्कार र १–२ वटा हत्या आत्महत्या जस्ता घटनाहरुद्वारा नारी अस्मितामाथि निर्मम प्रहार भैरहेका छन् । महिला हिंसा पनि कुनै “पान्डेमिक” भन्दा कम छैन । सर्वव्यापी छ । यसको सशक्त प्रतिकार नगरी हामी स्वस्थ्य, सुखी, समृद्ध समाज निर्माण गर्न सक्दैनौं ।

हिंसा न्यूनिकरणका उपायहरु के हुन सक्छन् ?

सर्वप्रथम त हाम्रो सोच र व्यवहारमा परिवर्तन नै प्रमुख हो । आफूभन्दा कमजोरलाई हेप्न खोज्ने सोच र व्यवहार त्याग्नु पर्छ ।

शिक्षा हिंसा न्यूनिकरणको एक प्रमुख उपाय हो ।

सन् २०१६ को नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणले एस.एल.सी. वा सो भन्दा माथि अध्ययन गरेका व्यक्तिले कुनैपनि कारणले गरिने हिंसालाई उचित ठहर्‍याएनन् । उक्त अध्ययनमा नेपालका बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ११ हजार भन्दा बढी घरधूरीबाट १५–४९ बर्षका १२८६२ महिला र ४०६३ पुरुषले भाग लिएका थिए । समग्रमा उक्त अध्ययनमा सहभागी प्रत्येक ५ जना महिला मध्ये एक जनाले हिंसाको पीडा भोगेका थिए, तर पढाइको विश्लेषण गर्दा नपढेका ३४ प्रतिशत महिला हिंसा पीडित थिए भने उच्च शिक्षा पाएका ८ प्रतिशतले मात्र हिंसा भोगेका थिए।

२९ प्रतिशत महिला र ३८ प्रतिशत पुरुषले बालबालिकालाई राम्रोसँग नहेरेमा, भात डढेमा, नसोधी घर बाहिर गएमा, यौन सम्पर्क राख्न नमानेमा, झगडा गरेमा, पत्नीलाई पतिले पिट्न हुन्छ भनेका छन् । सन् २०११ मा भएको यस्तै अनुसन्धानले हिंसालाई उचित ठहर्‍याउने व्यक्तिहरुको प्रतिशत केही कम देखाएको थियो । जसमा २३ % महिलाहरु र २०% पुरुषले हिंसालाई उचित ठानेका थिए ।

सरकारी, गैह्रसरकारी क्षेत्र, प्राज्ञिक संस्थाहरु र समाजका शिक्षित वर्गहरु धेरैले महिला हिंसाका बिरुद्ध वकालत र महिला सशक्तीकरणका कार्यक्रमहरु संचालन गरेतापनि हिंसालाई उचित ठहर्‍याउने संख्यामा बृद्धि हुनु चिन्ताको बिषय हो ।

बिभिन्न अध्ययनहरुले देखाएका छन् बाल्यकालमा हिंसा देखे/सहेका बालबालिका भविष्यमा आफैं पीडक बन्छन् । उनीहरु लागू पदार्थ दुर्व्यसन, अपराधिक गतिविधिमा संलग्न हुने या अवान्छित यौन कृयाकलापमा समेत संलग्न हुने जोखिम बढी हुन्छ ।

नेपालमा पनि बिगतका बर्षहरुमा भएका राजनीतिक हिंसाहरु, पारिवारिक बिखण्डन, बढ्दो मद्यपान, गरीबि आदिको प्रभावमा परेका बालबालिका नै २०१५/१६ को सर्वेक्षणमा भाग लिएका वयस्कहरु हुन सक्छन् । अहिले पनि हामीले बालबालिकालाई हिंसाको प्रभाबबाट मुक्त गरेनौं भने भविष्यमा झन ठूलो चुनौती थपिन सक्छ ।

हाम्रा सञ्चारका बिभिन्न माध्यमहरु या चलचित्रहरुमा पनि हिंसालाई बढावा नदिनु नै श्रेयस्कर हुन्छ । नेपाली र छिमेकी देशका टेलिभिजन कार्यक्रमहरुमा समेत हिंसाका घटनाहरु धेरै देखाइन्छन्। बालबालिकालाई के कस्ता कार्यक्रम हेर्न दिने भन्ने कुरामा अभिभावकहरु बढी सचेत हुनु आवश्यक छ ।

उपरोक्त सर्वेक्षण अनुरुप गरीव र मध्यम वर्गीय परिवारहरुमा हिंसा बढी रहेको देखिएको छ । यी परिवारहरुमा मद्यपान पनि बढ्दो छ । नेपालका कपिलवस्तु, नवलपरासी र चितवनका १८०० महिलाहरुमा गरिएको एक अध्ययन अनुसार (वि.एम.सि. वुमेन्स हेल्थ – जनवरी २०१६)पतिको रक्सी सेवन र घर झगडा महिला बिरुद्ध हिंसाका प्रमुख कारणहरु थिए ।

सन् २०१९ मा गरिएको STEPS सर्भे अनुसार नेपालमा १५ देखि ६९ बर्षका व्यक्तिहरु मध्ये २३.९% (३८.६% पुरुष, १०.८% महिला) मद्यपान गर्छन् । यो भनेको झण्डै ३७ लाख पुरुष र ११ लाख महिलाहरु मद्यपान गर्दा रहेछन् र ती मध्ये ८ जनामा १ जना दैनिक रुपमा मद्यपान गर्दा रहेछन् ।

रक्सीको बेच बिखनबाट कर संकलन गरेर राज्य संचालन गर्ने परिपाटीको अन्त्य गर्दै मद्यपान नियन्त्रण गरेमा हिंसा न्यूनिकरण मात्र नभई व्यक्तिको उत्पादकत्वका साथै स्वास्थ्य र आत्म–सम्मानमा समेत सकारात्मक प्रभाव पर्नेछ ।

पितृ सत्तात्मक सोचको अन्त्यसँगै शिक्षा र रोजगारी सिर्जनामा राज्यको लगानी बढाउनु अत्यावश्यक छ । झै–झगडा मुक्त, मिठासपूर्ण पारिवारिक वातावरणमा हुर्केका बालबालिका नै भविष्यका असल अभिभावक र जिम्मेवार नागरिकका रुपमा देश विकासमा योगदान गर्न सक्नेछन् । हिंसा मुक्त, मर्यादायुक्त समाज निर्माण आजको आवश्यकता हो ।

यो पनि पढ्नुहोस्

हामी सबैलाई चाहिने ‘सम्बेगात्मक चेत’

हामी सबैलाई चाहिने ‘सम्बेगात्मक चेत’

इमोशनल इन्टेलिजेन्स र जीवनको सार

इमोशनल इन्टेलिजेन्स र जीवनको सार

अहम् ब्रह्मास्मि

अहम् ब्रह्मास्मि

सुखको मापक के हो ?

सुखको मापक के हो ?

करुणा र कोरोना

करुणा र कोरोना

एकान्तवास

एकान्तवास

नागरिक हुनुको अर्थ

नागरिक हुनुको अर्थ

डिप्रेशन

डिप्रेशन

सुखको रेफरेन्स प्वाइन्ट

सुखको रेफरेन्स प्वाइन्ट

के संसार एक मायामात्र हो?

के संसार एक मायामात्र हो?

अब भित्र हेरुँ!

अब भित्र हेरुँ!

हे युवा!

हे युवा!

जीवन र मृत्यु

जीवन र मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?