- अमेरिकी गुप्तचर निकायका अनुसार इरानसँग अझै पनि आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित र हजारौं ड्रोन उपलब्ध छन्।
- इरानी मिसाइल र ड्रोन आक्रमण ९०% घटेको भए पनि, इजरायल र अमेरिकी सेना अझै आक्रमणको सामना गरिरहेका छन्।
- ट्रम्प प्रशासनले दाबी गरेको ‘पूर्ण सैन्य सफलता’को विपरीत, सीएनएनको रिपोर्टले इरानको सैन्य क्षमतामा उल्लेखनीय गिरावट छैन भनी देखाएको छ।
अमेरिकी गुप्तचर निकायले इरानसँग अझै पर्याप्त मिसाइल क्षमता रहेको मूल्यांकन गरेको छ। सीएनएनले स्रोतहरुलाई उल्लेख गर्दै मिसाइल प्रहार क्षमता बाँकी रहेको रिपोर्ट प्रस्तुत गरेको जनाएको छ।
हालैको अमेरिकी गुप्तचर मूल्यांकनअनुसार, पछिल्ला पाँच हप्तादेखि अमेरिका र इजरायलले सैन्य लक्ष्यहरूमा लगातार आक्रमण गरिरहे पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली (लन्चर) अझै सुरक्षित छन्। साथै, हजारौँ एकतर्फी आक्रमण गर्ने ड्रोनहरू अझै इरानको भण्डारमा रहेको तीन स्रोतहरुलाई उदृत गरिएको छ।
एक स्रोतका अनुसार, ‘इरान अझै पनि पूरै क्षेत्रमा ठूलो विनाश मच्चाउन सक्षम अवस्थामा छ।’ यो मूल्यांकनमा भूमिगत राखिएका, आक्रमणबाट क्षति पुगे पनि पूर्ण रूपमा नष्ट नभएका लन्चरहरू पनि समावेश हुन सक्ने बताइएको छ।
त्यस्तै दोस्रो स्रोतका अनुसार, इरानसँग अझै हजारौँ ड्रोन बाँकी छन्, जुन यसको करिब ५०% क्षमता हो। हालै संकलित गुप्तचर सूचनाले इरानका तटीय रक्षा क्रुज मिसाइलहरूको ठूलो हिस्सा पनि सुरक्षित रहेको देखाएको छ। अमेरिकी हवाई आक्रमण मुख्य रूपमा तटीय सैन्य संरचनामा केन्द्रित नभएकाले यस्तो भएको बताइएको छ, यद्यपि केही जहाजहरूमा प्रहार गरिएको छ।
यी मिसाइलहरू ‘स्ट्रेट अफ हर्मुज’ मा जहाज आवागमनलाई धम्की दिन इरानको महत्वपूर्ण क्षमता हुन्। यो गुप्तचर मूल्यांकनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले सार्वजनिक रूपमा दाबी गरेको ‘पूर्ण सैन्य सफलता’ भन्दा फरक, केही सन्तुलित (यथार्थपरक) तस्वीर प्रस्तुत गरेको छ।
गत बुधबार राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए कि ‘इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता निकै कमजोर भइसकेको छ, र उसका हतियार कारखाना तथा लन्चरहरू लगभग ध्वस्त भइसकेका छन्।’
अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, बुधबारसम्म अमेरिकाले इरानभित्र १२,३०० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिसकेको छ। स्रोतहरूले भनेका छन् कि यी आक्रमणहरूले इरानको सैन्य क्षमता कमजोर बनाएको छ र धेरै उच्चस्तरीय नेताहरू मारिएका छन्, जसमा सर्वोच्च नेता आयोतुल्लाह अली खामेनी र राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारीजानी पनि पर्छन्। गुप्तचर अनुसार, इरानसँग अझै ठूलो संख्यामा मिसाइलहरू पनि मौज्दात छन्।
सार्वजनिक रूपमा भने अमेरिकी रक्षा विभागले नष्ट भएका मिसाइलभन्दा प्रहारको संख्यामा आएको गिरावटलाई जोड दिएको छ। रक्षा सचिव पेट हेगस्थले १९ मार्चमा भनेका थिए कि अमेरिकी फौजमाथि हुने ब्यालिस्टिक मिसाइल आक्रमण ९०% ले घटेको छ, र ड्रोन आक्रमण पनि त्यत्तिकै घटेको छ।
यस रिपोर्टबारे सोध्दा, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले नाम नखुलाइएका स्रोतहरूले ट्रम्पमाथि आक्रमण गर्न र अमेरिकी सेनाको उपलब्धिलाई कम आँक्न खोजिरहेको बताएकी थिइन्।
उनले भनिन् ‘वास्तविकता के हो भने इरानी मिसाइल र ड्रोन आक्रमण ९०% ले घटेका छन्, उनीहरूको नौसेना लगभग समाप्त भएको छ, दुई-तिहाइ उत्पादन संरचना नष्ट वा क्षतिग्रस्त छन्, र अमेरिका तथा इजरायलसँग पूर्ण हवाई नियन्त्रण छ।’
एक अधिकारीका अनुसार, इरानका ब्यालिस्टिक मिसाइलहरू तीव्र रूपमा नष्ट गरिँदैछन्। तर यता, इजरायल खाडी क्षेत्रका देशहरू र अमेरिकी सेना अझै पनि मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेका छन्।
पेन्टागनका प्रवक्ता सिन पर्नेलले सिएनएनको रिपोर्ट ‘पूर्ण रूपमा गलत’ भएको बताएका छन्। उनले भने, ‘अमेरिकी सेनाले इरानी शासनलाई गम्भीर चोट पुर्या एको छ र हाम्रो सैन्य लक्ष्यहरू अपेक्षाभन्दा छिटो पूरा भइरहेका छन्।’
इजरायली सैन्य अधिकारीहरूले भने सञ्चालनयोग्य लन्चरहरूको संख्या करिब २०–२५% मात्र रहेको बताएका छन्। उनीहरूले गुफा र सुरुङमा लुकाइएका वा पहुँचबाहिर भएका लन्चरहरूलाई गणनामा समावेश गर्दैनन्।
राष्ट्रको नाममा गरेको सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सैन्य कारबाही दुईदेखि तीन हप्तामा समाप्त हुन सक्ने बताएका थिए। तर एक स्रोतका अनुसार यस्तो लक्ष्य अवास्तविक हुन सक्छ, किनकि इरानसँग अझै प्रयोग गर्न सकिने धेरै साधनहरू बाँकी छन्।
इरानले आफ्नो लन्चरहरूलाई भूमिगत सुरुङ र गुफामा लुकाउने रणनीति लामो समयदेखि अपनाउँदै आएको छ, जसले तिनीहरूलाई लक्षित गर्न निकै कठिन बनाएको छ। मोबाइल प्लेटफर्म प्रयोग गरेर प्रहारपछि स्थान परिवर्तन गर्ने रणनीतिले पनि ट्र्याक गर्न गाह्रो बनाएको छ।
अहिले ती भूमिगत संरचनाका प्रवेशद्वारहरू तथा प्रयोग हुने उपकरणहरू बुलडोजर र भारी मेसिनहरूलाई लक्षित गर्न थालेका छन्, जसले ती संरचनामा पहुँच पुनःस्थापित गर्न मद्दत पुर्याउँछन्।
भर्खरै
लोकप्रिय
