- वरिष्ठ निर्देशक तुलसी घिमिरेले ४२ वर्षअगाडि लेखेको ‘पहाड’ स्क्रिप्ट अहिले फिल्ममा रूपान्तरण गरेको छ।
- उनले नेपाल लगायत विभिन्न पहाडी क्षेत्रको पलायन समस्यामाथि आधारित फिल्म निर्माण गर्ने प्रयास गरेका छन्।
- घिमिरेले पुरानो स्क्रिप्टलाई नयाँ प्राविधिक ज्ञान र समकालीन अनुभवले सन्दर्भमा मिलाएर प्रस्तुत गर्ने प्रयास गरेका छन्।
मानिसहरू सहर झरेपछि के गाउँ फर्किन्छन्? सायदै फर्किन्छन्।
वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेले यस्तै जिज्ञासा राखेर ४२ वर्षअगाडि एउटा स्क्रिप्ट लेखेका थिए र त्यो स्क्रिप्ट आफ्ना समकालीनसँग सुनाएका थिए। फिल्म बनाउन हौसाए उनीहरूले। तर, समयले उनलाई ‘बाँसुरी”कुसुमे रुमाल’देखि ‘दर्पण छाया-२’ सम्म डोर्यायो। चार दशक बिताइदिए। अहिले आएर चार दशक पुरानो स्क्रिप्टमै फिल्म बनाए, जसको नाम हो- पहाड।
फिल्म पहाड र चार दशक फिल्म यात्राको अनुभव उनले देशसञ्चार चौतारीमा सुनाएका छन्।
नेपाली फिल्मी उद्योगको जग राजा महेन्द्रले बसाले पनि निजी क्षेत्रबाट एक से एक व्यवसायिक फिल्म लेखन निर्देशन गरेका घिमिरे ‘पहाड’सँग धेरै आशाबादी छन्। दार्जिलिङदेखि मुम्बै हुँदै नेपाल आएर फिल्म क्षेत्रलाई थुप्रै कालजयी सिनेमा दिए उनले।
‘धेरै वर्षअघि भारतको मुम्बईमा हुँदा खासगरी युवा पुस्तासँग छलफल गरेका थिएँ पहाडको कथालाई। सुरूमा धेरै कथा अस्वीकार भए पनि ‘पहाड’ को कथा सुनेपछि धेरैले सकारात्मक प्रतिक्रिया दिएको थिए,’ उनले ती दिन सम्झिए।
पहाड भावनात्मक रूपमा नजिक छन्। फिल्मसँग जोडिएका पुराना सहकर्मीदेखि पारिवारिक सहभागितासम्मले यसलाई अझ विशेष बनाएको छ।
‘पहिले यसको संगीत निर्देशक नारायण गोपाल दाइ हुनुहुन्थ्यो। उहाँले ‘तुलसी, फिल्मको स्टोरी गज्जब छ, छिटो गीत लेख’ भन्नुहुन्थ्यो। रञ्जित गजमेर दाइले पनि ‘यो फिल्म म गर्छु’ भन्नुभएको थियो। नारायण दाइले मजाकमै ‘मेरो पेटमा लात हानेको’ भन्दै जिस्किनुहुन्थ्यो,’ घिमिरे सम्झन्छन्।
पहाड अटल हुन्छ भनेझैं उनको यो कथा पनि अटल भई उनको मनकै कुनामा कतै रह्यो।
‘पहिले अरू कथा सुनाउँदा सबैले बकवास भने तर यो कथा सुन्दा धेरैले मन पराए,’ उनले भने, ‘सोच्न बाध्य बनाउने कथा रहेछ भन्ने प्रतिक्रिया आयो।’
त्यो प्रतिक्रियालाई मनमा लिएर पहाड फर्किएका घिमिरेसँग हामीले सोध्यौँ, ‘चार दशक अघि लेखेको स्क्रिप्ट आजको समाजमा सान्दर्भिक होला?’
राजा महेन्द्रको पालामा ल्याइएको ‘गाउँ फर्क’ अभियानको सन्दर्भ जोड्दै उनले भने, ‘गाउँ फर्किनुपर्ने सोच धेरै अघि नै आएको थियो, अहिले त्यसलाई फेरि नयाँ सन्दर्भमा प्रस्तुत गरेका छौं।’
घिमिरेका अनुसार ‘पहाड’ मा उनले उठाएको विषय नेपालको मात्र समस्या होइन। यो कालिम्पोङ, दार्जिलिङ, आसाम, मेघालय, गडवाललगायतका धेरैजसो पहाडी भेगको समस्या हो।
निर्देशक घिमिरेको बुझाइमा पलायनको विषय नयाँ होइन। नेपाली समाजमा धेरै पहिलेदेखि नै यो समस्या हो। लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ सम्झिँदै उनी भन्छन्, ‘मुनामदनमा पनि मदन पैसा कमाउन भोट जाने कथा छ। हामीकहाँ पलायनको कथा पुरानै हो, तर अहिले यसले झन् डरलाग्दो रूप लिएको छ।’
‘पहिलेका पुस्ता विदेश गएर पैसा कमाउँथे र त्यो कमाइ लिएर स्वदेश फर्किन्थे। अहिलेका पुस्तामा स्थायी रूपले बसाइँ सर्ने चलन बढेछ। यही परिवर्तनले गाउँहरू रित्तिँदै गएका छन्,’ घिमिरेले भने।
समाजमा व्याप्त पलायनप्रति उनी गम्भीर छन्।
‘राम्रो–राम्रो घर बनेका छन्, तर मान्छे छैनन्,’ मार्मिक अनुभव सुनाउँदै उनले भने, ‘लोकेसन हेर्न जाँदा मलामी महिलाहरू मात्र देखेँ, त्यो दृश्यले मलाई भित्रैसम्म हल्लायो।’
गाउँबाट सहरका कथा भन्न थालेका घिमिरेले ‘दर्पण छाया-२’ मा जब असफलता व्यहोरे सात वर्षको अन्तरालपछि पहाड उग्लिए। र उनको फिल्मी यात्रा पहाड अर्थात कालिम्पोङबाट सुरु हुन्छ।
भारतीय मूलकी नेपाली भाषी घिमिरेकी आमापूर्व नेपालकीहुन। आमासँगै एकदिन बारीमा खेत खनिरहँदा उनको हातमा फिल्मको एकबित्ते टुक्रा पर्यो। ‘त्यो फिल्मलाई धोएर हेरें। केही देखिएन। मनमा भने फिल्म खुबै आयो,’ उनले ती दिन सम्झिए।
कालिम्पोङको घरघरमा बज्थ्यो। रेडियो नेपाल सुनेर उनी पनि हुर्किए। अनि बलिउड फिल्मको प्रभाव पनि दार्जिलिङका तन्नेरीमा पर्दै थियो। घिमिरे भन्छन्, ‘बलिउडको यसरी प्रभाव पर्यो कि स्कुलमा के भन्छस् भनेर सोध्दा हिरो बन्छु भनेर भनेछु ।’
घिमिरे बलिउडका धर्मेन्द्र, जितेन्द्र, अमिताभ जस्ता कलाकारबाट प्रभावित थिए। ‘म आमालाई पटक-पटक सोध्ने गर्थे कि धर्मेन्द्र हेन्डसम कि म आमा ?’
उनकी आमाले हाँसेर भनेकी थिइन्, ‘मेरो छोरो हेन्डसम।’
घिमिरे दङ्ग पर्थे । आमाले हेन्डसम भनेकै भरमा उनी मुम्बै हिरो बन्न हानिए जहाँ संगीतकार रञ्जित गजमेरहरु सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका थिए।
उमेरले सात दशक हिँडेका घिमिरे उस्तै उर्जाका साथ काम गरिरहेका छन्। मंगलबारदेखि प्रदर्शनमा आएको ‘पहाड’ बनाउनु अगाडि थुप्रै प्राविधिक पक्ष सिकेर आएको बताउँछन् उनी।
पछिल्लो सात/आठ वर्षलाई ‘सिकाइको समय’ का रूपमा लिन्छन्। फिल्म निर्माण र प्रविधिमा आइरहेको तीव्र परिवर्तनका कारण आफू केही समय अलमलमा परेको उनको भनाइ छ।
जीवनमा मेकअप आर्टिस्टका रुपमा बलिउड छिरेका घिमिरेले जब फिल्म सम्पादनमा हात हाले उनको जीवनले नेपाल डोर्याएको थियो।
‘त्यो मेरो लर्निङ टाइम थियो। त्यति बेला जसरी फिल्म बन्थ्यो, त्यो अहिलेको पुस्ताले कल्पना गर्न नसक्ने प्रविधि थियो। फिल्म छायांकनमा हामी पूरै ‘ब्लाइन्ड’ जस्तै हुन्थ्यौं, निर्देशकले समेत नहेरी क्यामराम्यानकै भरोसामा काम गर्नुपर्थ्यो,’ घिमिरेले भने, ‘त्यति बेलाको फिल्म मेकिङ र अहिलेको डिजिटल फिल्म मेकिङबीच ठूलो छलाङ आइसकेको छ। यसबीच हामी के गर्ने, कसरी गर्ने अलमलमा पर्यौं। प्रविधि यति छिटो बदलियो, त्यस अनुसार आफूलाई ढाल्न समय लाग्यो।’
चलचित्र पहाडले नयाँ प्राविधिकका बारेमा थप ज्ञान दिएको बताउँछन् उनी। भन्छन्,’नयाँ प्रविधि र नयाँ भाइबहिनीसँग काम गर्ने अवसर मिल्यो। उनीहरूको सोच र हाम्रो अनुभव मिसिँदा राम्रो कृति बन्ने अनुभूति भयो,’उनले भने।
कालिम्पोङबाट मुम्बै पुगेका घिमिरे हिरो हुन पुगेका थिए। तर उनलाई हिरोमा बलिउडले पत्याएन। सामान्य कलाकार हुन उनलाई रुची थिएन। तर जीवन चलाउन केही न केही त गर्नु पर्थ्यो । यही सिलसिलामा उनले प्राविधिक टिमसँग संगत बढाएका थिए।
‘म हिरो बन्न गएको थिएँ, तर त्यहाँ पुगेपछि थाहा भयो, हिरोभन्दा माथि निर्देशक हुँदो रहेछ,’ उनी सम्झिन्छन्, ‘त्यस बेला चकलेटी हिरोहरू मात्रै चलिरहेका थिए। आफूलाई त्यसमा फिट पनि देखिनँ।’
मुम्बैमा छँदा उनले शृंगार, लाइट, छायांकनलगायतका विभिन्न काम गरे। जे काम पायो, त्यही काम गर्दै आफूलाई फिल्मसँग सधैं नजिक राखे।र सिनेमा मेकिङका विभिन्न आयाममा आफूलाई अब्बल बनाउँदै लगे। निखार्दै लगे। त्यसले उनलाई फिल्मको प्राविधिक पक्षमा निपुण बनायो। त्यसपछि उनले ‘श्रद्धाञ्जली’, ‘हुकूमत’ जस्ता थुप्रै हिन्दी फिल्ममा पूर्ण सम्पादकका रूपमा काम गरे।
उनी फिल्म क्षेत्रमा प्रवेश गर्दा नेपालमा फिल्म सात आठ ओटा बनेका थिए । वर्षमा मुस्किलले एउटा फिल्म बनेको थियो ।
कुनै समय निर्देशक प्रकाश थापा ‘सिन्दुर’ फिल्मको सम्पादनको मौका पाएका उनले यो सत्य बुझेका थिए।
त्यसपछि आफ्नै गुरुबाट नेपाली भाषाको दश फिल्म बनाउन आशिष पाएका थिए उनले। ‘ गुरुले यस्तो आशिष दिनु भयो एउटा फिल्म बनाउन नसक्ने बेला दश फिल्म कसरी बनाउनु। तर हरेक यात्राको सुरुवात एक पाइलाबाट हुन्छ भनेझैं मेरो पनि यात्रा सुरु भयो। ‘बाँसुरी’ फिल्मबाट मेरो यात्रा सुरु भयो जुन भारतमा चल्यो तर नेपालमा चलेन,’ उनले फिल्म निर्देशनमा हात हाल्दाको पहिलो अनुभव सुनाए।
यसरी निर्देशक घिमिरेले २०३८ सालमा ‘बाँसुरी’ निर्माण गरेका उनले दसौं फिल्म ‘दक्षिणा’ निर्देशन गरेका थिए। चलचित्र पहाडसम्म आइपुग्दा २४ फिल्म निर्देशन गरे । उनी २५ औं फिल्म निर्देशन गर्ने योजना पनि सुनाउँछन्।
फिल्मले सकारात्मक सन्देश बोक्नु पर्नेमा उनी स्पष्ट छन्। र आजको समयमा नेपाली फिल्मले प्रविधि र मेकिश्रमा ठूलो मारेको बताउँछन् । भन्छन्,’नेपाली फिल्मले अभिनय प्रविधि र मेकिङमा ठूलो फड्को मारेको छ । तर कन्टेन्टमा अझै धेरै काम गर्नु छ।’
उनको फिल्म यात्रामा थुप्रै कथा आयातीत थिए। हिन्दी फिल्मबाट प्रभावित थिए। त्यसो किन भयो?
‘नेपालमा हलिउड र चाइनाका फिल्मको त्यो समय हेर्ने अवसरहरु कम थिए तर हिन्दी फिल्म हेर्ने अवसर धेरै थियो। सिकाइ जे रह्यो त्यसैको छाया बढी आउनु स्वभाविक हो,’ घिमिरेले भने।
घिमिरेले नेपाली फिल्म उद्योगलाई चलायमान बनाए। थुप्रै कलाकार र निर्देशकहरु जन्माए। आज अभिनेता राजेश हमालले देउता, भुवन केसीले कुसुमे रुमाल, शिव श्रेष्ठले चिनो, निरुता उत्तम र दिलिपहरु दर्पण छाया कहिले विर्सिदैनन्।
त्यसैगरी ‘बलिदान’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंशहरुलाई स्थापित गर्छन्। ‘चिनो’ बाट सुनिल थापालाई उभ्याउँछन् र कालजयी खलपात्रमा स्थापित गराउँछन्। यसैगरी पहाडमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रेनुनाथ योगी, उमा गिरी, अरूण क्षेत्री, प्रियंका कार्कीहरूसँग काम गरेका छन्।
तुलसी घिमिरे निरन्तर फिल्म निर्माण तथा निर्देशन गर्ने बताउँछन्। उनी भन्छन्, ‘अब पहाडपछि धेरै ग्याप नगरी फिल्म बनाउने योजना छ। मसँग धेरै राम्रा विषयहरू छन्।’
आजको फिल्म मेकिङ एड्भान्स छ। प्रविधिमा गहिरो दख्खलबिना फिल्म राम्रो बन्न नसक्ने बताउने घिमिरे डिजिटल प्रविधिलाई आत्मसात गर्नु पर्ने बताउँछन्।
उनी अहिले फिल्म बजारको प्रतिस्पर्धालाई ‘टफ’ माने पनि यसलाई उत्साहका साथ लिन्छन्। भन्छन्, ‘अहिलेको पुस्ता धेरै राम्रोसँग सिकेर आएको छ। उनीहरूसँग प्रतिस्पर्धा त कडा छ, तर यसलाई उत्साहका साथ हेर्नुपर्छ।’
फिल्म निर्देशन लेखनका साथै पनि उनी अभिनय गर्छन्। आफ्नो अभिनयको भोकलाई नायक चरित्रबाट पुरा गर्न नसके पनि नायिकाको बा या नायकको साथीको चरित्र निर्वाह गर्छन् र फिल्मी किरोलाई थमथमाउँछन्।
नेपाल सरकारले उनलाई मानार्थ नागरिकता दिने समाचारले औधी खुसी छन् उनी। कामै गर्नका लागि नागरिकताले कहिले नरोके पनि नेपाल सरकारले गर्न लागेको सम्मानप्रति आभार प्रकट गर्छन् उनी।
घिमिरे नेपाली फिल्म इतिहासमाथि बनाउनु पर्ने बताउछन्। नेपाली इतिहास र कलामाथि अब मेकरले ध्यान दिनु पर्ने उनको बुझाइ छ। त्यसैगरी फिल्ममा साहित्य छुटेको बताउछन्।उनी भन्छन्,’फिल्ममा साहित्य छुट्नु हुँदैन। साहित्यबिनाको फिल्म रसिलो हुँदैन।’
‘राजाले चिन्ने र जनताले माया गर्ने मान्छे बन्नु,’उनकी आमाले देखाएको बाटो हिँडिरहेका घिमिरेलाई दर्शक अर्थात प्रजाले त चिनेकै थिए एक दिन पूर्व राजा ज्ञानेन्द्र शाहबाट पुरस्कृत हुन पाए । अनि उनले तुरुन्तै आमालाई कल गर्दै भने,’आमै अब त मलाई राजाले पनि चिने।’
अनि उनकी आमाले भनिन्, ‘ए तँलाई पनि आमैले काखैमा राखिछिन् है।’ आमा अर्थात नेपाल आमातर्फ संकेत थियो उनकी आमाको।
भर्खरै
लोकप्रिय
