- अमेरिका र इरानबीच १० दिनको युद्ध विराम सम्झौताको मध्यस्थता पाकिस्तानले गर्दै सम्भावित आक्रमण टारेको छ।
- इरानले स्ट्रेट अफ हर्मुजको नाकाबन्दी हटाउने सहमति जनाएपछि ट्रम्पले सैन्य कारवाही दुई हप्ताका लागि रोके।
- दिगो शान्तिका लागि इरानले १० बुँदे योजना प्रस्ताव गर्दै अमेरिका र इरानबीच कठिन वार्ता हुने संकेत।
एउटा सभ्यतानै अन्त्य गर्दिने अन्तिम चेतावनीको समय सकिन केही घण्टा बाँकी रहँदा अमेरिका र इरानबिच १० दिनका लागि युद्ध विराम सम्झौता भएको छ। तर यो सम्झौताका लागि दक्षिण एसियाली देश पाकिस्तानले उत्कृष्ट समन्वयकारी भूमिका खेल्दै ऐतिहासिक युद्ध र मानव इतिहासको सम्भावित कलंकलाई तत्काललाई टार्न सफल भयो।
युद्धका लागि अमेरिकाले ठूलो मात्रामा सैन्य सामाग्रीसहितका विमानहरुलाई इरानतर्फ उडाएको भएपनि बिचबाटोबाटै ती विमानहरु फिर्ता गरेको ट्रम्पको सामाजिक सञ्जालको अभिव्यक्तबाट बुझिन्छ। उनले भने,’आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी सैन्य कारवाही रोक्न अनुरोध गरेपछि र इरानले ‘स्ट्रेट अफ हर्मुज खोल्ने सहमति गरेपछि इरानमाथिको बमबारी र आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु।’
दुवै पक्षको कडा चेतावनी र आक्रमणबिच पाकिस्तानले युद्ध रोक्न दुवै देशसँग कठिन र सफल कुट्नीति गरेको थियो तत्काल युद्ध रोकेका पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले दुवै पक्षले उल्लेखनीय बुद्धिमत्ता र समझदारी देखाएको बताए। उनले भने ,‘दुवै पक्षले बुद्धिमता र समझदारी देखाएका छन् र शान्ति तथा स्थायित्वको उद्देश्यलाई अघि बढाउन रचनात्मक रूपमा निरन्तर संलग्न रहेका छन्।’ उनले थपे, ‘हामी सच्चा मनले आशा गर्छौं कि ‘इस्लामाबाद वार्ता’ सफल भएर दिगो शान्ति स्थापना गर्न मद्दत गर्नेछ, र आउँदा दिनहरूमा थप राम्रो खबर साझा गर्न सक्ने छौं।’
कति टाढा स्थायी शान्ति?
तत्काललाइ युद्ध विराम सम्भव भए पनि अब यसलाई दीर्घकालीन समाधानका बाटोमा कसरी अघि बढाउने भन्ने अर्को चुनौती रहेको छ। अझै पनि अमेरिका र इरानबीच विश्वासको कमी (ट्रस्ट डेफिसिटी) छ, र अब वार्ताको अर्को चरण सुरु हुनेछ। पछिल्लो एक वर्षमा इरान र अमेरिकाबीच दुई पटक वार्ता भएको थियो, तर दुवै पटक वार्ता चलिरहेको बेलामै युद्ध सुरु भयो।
इरानले आफ्नो राज्य सञ्चालित मिडिया (स्टेट मिडिया) मा आफूलाई जति विजयशाली देखाए पनि, वास्तविकतामा इरान निकै कमजोर अवस्थामा छ। उसको सेना धेरै क्षतिग्रस्त भएको छ, अर्थतन्त्र अस्तव्यस्त अवस्थामा छ, र सरकारको विपक्ष तथा जनतासँग अझै धेरै विवाद र अपूरा मुद्दाहरू बाँकी छन्। पछिल्ला केही दिनमा सरकारले जनवरीमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका केही व्यक्तिहरूलाई फाँसी दिन सुरु गरेको छ।
सरकारले देशभित्र आफ्नो सत्ता अझ कडा बनाउँदै नियन्त्रण बढाउनुपर्ने अवस्था छ। स्थिति खराब भए पनि, इरानले राखेका मागहरू अमेरिकाका लागि स्वीकार गर्न सजिलो छैनन्। अमेरिकाले भनेको छ कि स्ट्रेट अफ होर्मुजमा जहाज तथा समुद्री यातायात स्वतन्त्र रूपमा चल्न दिने सर्तमा मात्र युद्धविराम स्वीकार गरिएको हो। तर इरानले भने आफ्नो भौगोलिक अवस्थाका कारण होर्मुज जलडमरूमा समुद्री यातायातमाथि नियन्त्रण चाहेको बताइरहेको छ, र त्यो नै यसको पहिलो प्राथमिकता हो।
यससँगै इरानको आणविक कार्यक्रम (न्युक्लियर प्रोग्राम) सम्बन्धी विषयमा पनि कडा र कठिन वार्ता हुने सम्भावना छ। इरानको राज्य सञ्चालित मिडियाले भनेको छ कि अमेरिकाले इरानमा युरेनियम समृद्धिकरण (युरेनियम इनरिचमेन्ट) गर्न अनुमति दिएको छ। तर अमेरिकाले भने इरानमा कुनै पनि प्रकारको युरेनियम समृद्धिकरण हुन नहुने स्पष्ट बताएको छ। यस कारणले गर्दा आगामी दुई हप्ता निकै कठिन र संवेदनशील हुने देखिन्छ।
ट्रम्पले युद्ध रोक्दै गर्दा के भने ?
ट्रम्पले युद्ध रोक्दै अब दीर्घकालीन शान्तिका लागि प्रयास गर्ने बताएका छन्। उनले भने ‘पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनीरसँग भएको कुराकानीका आधारमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी सैन्य कारबाही रोक्न अनुरोध गरेपछि र इस्लामिक गणतन्त्र इरानले होर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज)लाई पूर्ण रूपमा, तुरुन्तै र सुरक्षित तरिकाले खोल्ने सहमति जनाएपछि म इरानमाथि हुने बमबारी र आक्रमण दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु।’ उनले भने, ‘यो दुवै पक्षबाट लागू हुने युद्धविराम (सिजफायर) हुने छ। यस निर्णयको कारण के हो भने, हामीले पहिले नै हाम्रा सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेका छौँ, र केही क्षेत्रमा त लक्ष्यभन्दा पनि बढी सफलता प्राप्त गरेका छौँ। साथै, इरानसँग दीर्घकालीन शान्ति (लङ्ग ट्रम पिस) तथा मध्यपूर्वमा शान्ति स्थापना सम्बन्धी स्पष्ट सम्झौताका लागि पनि हामी धेरै अगाडि बढिसकेका छौँ।’
ट्रम्पले अगाडि थपे, ‘हामीलाई इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ र हामीलाई लाग्छ कि त्यो वार्ता गरेर सम्झौता गर्न सकिने राम्रो आधार हो। विगतमा रहेका अधिकाश विवादास्पद विषयहरूमा अमेरिका र इरानबीच सहमति भइसकेको छ। तर दुई हप्ताको समयले यो सम्झौतालाई अन्तिम रूप दिन र औपचारिक रूपमा पूरा गर्न मद्दत गर्ने छ। संयुक्त राज्य अमेरिका (युनाइटेड स्टेट अफ अमेरिका) का राष्ट्रपतिको हैसियतले, साथै मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै, लामो समयदेखि चल्दै आएको यो समस्याको समाधान नजिक पुगेको देख्दा मलाई सम्मान र गर्व लागेको छ।’
इरानले सार्वजानिक गरेको सर्तसहितका १० बुँदे योजनामा के छ?
१. इराक, लेबनान र यमनमा भइरहेको युद्ध पूर्ण रूपमा बन्द गर्ने।
२. इरानमाथि भइरहेको युद्ध पूर्ण रूपमा र स्थायी रूपमा अन्त्य गर्ने, जसमा कुनै समयसीमा नहुने।
३. क्षेत्रमा रहेका सबै द्वन्द्व र संघर्षहरू पूर्ण रूपमा अन्त्य गर्ने।
४. होर्मुज जलडमरू (स्ट्रेट अफ हर्मुज) पुनःखोल्ने।
५. होर्मुज जलडमरूमा जहाजहरूको आवतजावत स्वतन्त्र र सुरक्षित बनाउन नियम तथा सर्तहरू तय गर्ने।
६. इरानको पुनर्निर्माणका लागि लाग्ने सबै खर्चको पूर्ण क्षतिपूर्ति भुक्तानी गर्ने।
७. इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउने पूर्ण प्रतिबद्धता गर्ने।
८. अमेरिकामा रोक्का राखिएका इरानका पैसा र सम्पत्ति फिर्ता गर्ने।
९. इरानले कुनै पनि प्रकारको आणविक हतियार प्राप्त गर्ने प्रयास नगर्ने पूर्ण प्रतिबद्धता गर्ने।
१०. माथिका सर्तहरू स्वीकृत भएपछि तुरुन्तै सबै मोर्चामा तत्काल युद्धविराम लागू गर्ने।
भर्खरै
लोकप्रिय
