- नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलन चेम्बर अफ कमर्सको बैठकमा दुई देशबीच व्यापार र लगानी प्रवर्द्धनबारे छलफल भयो।
- महासङ्घ उपाध्यक्ष श्रेष्ठले नेपालमा आयुर्वेदिक र जडीबुटी उद्योगको लागि कच्चा पदार्थ प्रचुर मात्रामा रहेको बताए।
- श्रीलङ्काली व्यवसायीहरूले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा ठुलो लगानी गर्दै व्यापारिक सम्बन्ध सुदृढ बनाउने इच्छा व्यक्त गरे।
काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र सिलन चेम्बर अफ कमर्सबीच श्रीलङ्कामा बिजनेस टु बिजनेस (बीटुबी) बैठक सम्पन्न भएको छ।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको ५० सदस्यीय नेपाली व्यावसायिक प्रतिनिधिमण्डल र श्रीलङ्काली उद्योगीहरूबीच दुई देशमा लगानी प्रवर्द्धन गर्ने सम्बन्धमा विस्तृत छलफल भएको हो।
उक्त बैठकमा श्रीलङ्काका प्रतिष्ठित व्यवसायीहरूले नेपालका विभिन्न सम्भावित क्षेत्रमा खर्बौँ रुपैयाँ लगानी गर्न आफूहरू तयार रहेको
बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा तत्कालै ४० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गरे।
हाल नेपालमा बलियो र स्थायी सरकार रहेकाले वैदेशिक लगानीका लागि सहज नीतिगत व्यवस्था गरिएको उनले प्रस्ट पारे। सरकारले लगानीकर्ताका लागि ‘एक द्वार प्रणाली’ लागु गरेको र वैदेशिक लगानीलाई रेड कार्पेट बिछाएर स्वागत गरिरहेको भन्दै उनले जलविद्युत् क्षेत्रमा ठुलो पुँजी आवश्यक भएकाले लगानीका लागि आह्वान गरे।
उपाध्यक्ष श्रेष्ठले श्रीलङ्कामा जस्तै नेपालमा पनि आयुर्वेदिक र जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रचुर मात्रामा उपलब्ध रहेको जानकारी दिए।
हाल नेपालले सस्तो मूल्यमा जडीबुटीको कच्चा पदार्थ मात्र निर्यात गरिरहेको अवस्थालाई बदल्दै अबका दिनमा नेपालमै प्रशोधन उद्योग स्थापना गरेर बढी लाभ लिन श्रीलङ्काली व्यवसायीलाई उनले आग्रह गरे।
नेपाली उद्योगीहरूको तर्फबाट लगानी प्रक्रियालाई सहज बनाउन र सरकारी तहमा आवश्यक सहजीकरण गरिदिन महासङ्घ पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरे।
श्रीलङ्कास्थित नेपाली दूतावासका फस्ट सेक्रेटेरी सागर भण्डारीले नेपालमा स्थायी सरकार भएकाले लगानी पूर्ण सुरक्षित रहने र विशेष गरी जलविद्युत्, पर्यटन तथा आयुर्वेद क्षेत्रमा लगानीको उच्च प्रतिफल प्राप्त हुने दाबी गरे।
यसैगरी, सिलन चेम्बरका डेपुटी सेक्रेटी जनरल अलेका परेराले श्रीलङ्काली व्यवसायीहरू नेपालको पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा ठुलो मात्रामा लगानी गर्न तयार रहेको बताए।
जडीबुटी क्षेत्रमा श्रीलङ्कासँग उच्च प्रविधि र अनुभव रहेको उल्लेख गर्दै उनले नेपालको कच्चा पदार्थ उपयोग गरी उद्योग खोल्न आफूहरू उत्सुक रहेको र यसका लागि नेपाल सरकारले प्रशासनिक सहजता मिलाइदिनुपर्ने धारणा राखे।
साथै, दुई देशबीच लामो समयदेखि चल्दै आएको आयात–निर्यात व्यापारलाई थप सुदृढ बनाउन श्रीलङ्काली पक्ष तयार रहेको उनको भनाइ थियो।
बैठकमा महासङ्घका केन्द्रीय कार्यकारिणी सदस्य भक्तबहादुर हमाल र फरेन ट्रेड एसोसिएसनका अध्यक्ष शिवकुमार अग्रवालले दुई देशबीचको व्यापारिक सम्बन्ध, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे छुट्टाछुट्टै प्रस्तुतीकरण दिएका थिए।
नेपाली भ्रमण टोलीमा महासङ्घका केन्द्रीय कार्यकारिणी सदस्यहरू पशुपतिदेव पाण्डे, सागर ढकाल, विदुर धमला, निराजन चलाउने, विप्लव अधिकारी लगायत करिब ५० जना नेपाली उद्योगी व्यवसायी सहभागी थिए भने श्रीलङ्काको तर्फबाट पनि सिलन चेम्बरमा आबद्ध ५० भन्दा बढी प्रतिष्ठित उद्यमीहरूको उपस्थिति रहेको थियो।
भर्खरै
लोकप्रिय
