- घोराही उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी र सामाजिक विकासलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
- सार्वजनिक जग्गा संरक्षण, भूमिहीनहरूको व्यवस्थापन तथा कृषि उत्पादन बढाउन सहकारीहरूको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
- शिक्षा र सामाजिक मुद्दामा सुधार गर्न विद्यालय सुधार, लैङ्गिक विभेदको अन्त्य र पर्यावरणीय संरक्षणका कार्यक्रम सुरू गरिने जनाइएको छ।
दाङ– घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाको १९औँ नगर अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय गौरवका आयोजना, अधुरा तथा क्रमागत योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताए। पुँजीगत बजेटको प्रभावकारी कार्यान्वयनका लागि आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा आयोजना बैंकलाई आधार बनाइने उनले जानकारी दिए।

नीति तथा कार्यक्रममा सार्वजनिक जग्गाको संरक्षण, फुसका छाना हटाएर फुसमुक्त वडा निर्माण तथा जग्गा प्लटिङसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
खोला, खोल्सी, सिमसार तथा जलस्रोतको संरक्षण गर्दै भूमिगत जलभण्डार स्थिर बनाउने र जलाशयको व्यवस्थापनमा निजी क्षेत्रसँग साझेदारी गरिने जनाइएको छ। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।
कृषि क्षेत्रतर्फ उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण, भर्मीकम्पोष्ट मल उत्पादनमा सहयोग, माटो परीक्षण शिविर, कृषक तालिम तथा किसान परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ। बाँझो जमिन उपयोगका लागि भूमि बैंक कार्यक्रम सञ्चालन गरिने तथा कृषि उत्पादनको बजारीकरणका लागि चार स्थानमा साप्ताहिक हाटबजार सञ्चालन गरिने भएको छ। पशुपालनलाई व्यवसायीकरण गर्दै दूध र मासु उत्पादन वृद्धि गर्ने लक्ष्य पनि लिइएको छ।

शिक्षा क्षेत्रतर्फ विद्यालयको गुणस्तर सुधार, पूर्वाधार विकास तथा सामुदायिक विद्यालयको सम्पत्ति संरक्षणमा जोड दिइएको छ। उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने तथा कमजोर नतिजा भएका विद्यालयलाई थप जिम्मेवार बनाइने नीति लिइएको छ।
सामाजिक क्षेत्रमा छुवाछुत, लैङ्गिक विभेद, घरेलु हिंसा, बालविवाह, दाइजो र बोक्सी प्रथाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि विभिन्न सेवा तथा पुनःस्थापना केन्द्रलाई सुदृढ बनाइने जनाइएको छ।
विपद् व्यवस्थापन, वातावरण संरक्षण, वृक्षारोपण तथा प्लास्टिकजन्य प्रदूषण नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। नगरलाई स्वच्छ, हराभरा र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख चौधरीले बताए। नगर अधिवेशनको दोस्रो बैठक असार ५ गते बस्ने गरी स्थगित गरिएको छ।
भर्खरै
लोकप्रिय
